मेरो गाउँको पश्चगमनको कथा



मेरो बुवा स्वर्गीय हुनुको अघिल्लो रात गाउँको पारी पाखामा फ्याउरो कराएको रहेछ । मेरी कान्छी बहिनीले त्यतिबेलै ठोकुवा गरिसकेकी रहिछन्, ‘भोलि गाउँमा केही अनिष्ठ हुन्छ ।’ नभन्दै फ्याउरो कराएको भोलिपल्ट हाम्रो बुवा दिवङ्गत हुनुभयोे । अन्यथा हाम्रो बुवा दिवङ्गत नहुने, कान्छी बहिनीको तर्कअनुसार । कान्छी बहिनी यो विषयमा त विज्ञ नै भइसकिछन्, बिहे गएर घरमा गएपछि ।

उनका अनुसार फ्याउरो बेसीतिर करायो भने लेकतिर बस्नेलाई पिर्छ रे ! फ्याउरो लेकतिर करायो भने बेसीतिरको मान्छेलाई पिर्छ रे ! त्यसैगरी वाल्लो गाउँमा करायो भने पाल्लो गाउँलाई पिर्छ रे ! पाल्लो गाउँमा करायो भने वाल्लो गाउँलाई ! ‘हामीले त यस्तो कुरा कहिल्यै सिकाएनौं त तिमीलाई ? कहाँबाट सिक्यौं यस्तो काम लाग्ने कुरा ?’ जवाफमा उनी भन्छिन्, ‘हाम्रो गाउँमा यस्तै भन्छन्, हुन्छ पनि त्यस्तै ।’

हाम्रो गाउँका सबैले कान्छी बहिनीको कुरामा हो मा हो मिलाए । ‘फ्याउरो कस्तो जनावर हो त ?’ भन्ने मेरो प्रश्नमा भने गाउँले अक्कमकिए । कसैले स्याल बुढो भएपछि फ्याउरो हुन्छ भने त कसैले फ्याउरो भनेको स्याल नै हो र उसले आफ्नो सँवेगअनुसार कहिले हुइयाँ र कहिले फ्याँउ गर्ने हो भने । शब्दकोश हेरेपछि भने अर्को कुरा पत्ता लाग्यो, ‘फ्याउरो भनेको स्याल प्रजातिकै स्यालजस्तै देखिने स्यालभन्दा अलि सानो जनावर हो ।’

फ्याउरो त म गाउँमा गएको रात पनि करायो तर, भोलिपल्ट त्यस्तो अनिष्टको कुरा केही सुनिएन । मैले यो कुरा बहिनीलाई पनि भनेँ । बहिनीले ‘कतै केही भयो होला, हामीले थाहा नपाएको होला’ भनेर तर्क गरिन् । म चुप लागेँ । मेरो गाउँ यस्तै यस्तै किंवदन्ती, अनुभवजन्य भोगाइ, आत्मगत सोच र अवधारणाको भरमा बाँचेको छ । फ्याउरो कस्तो किसिमको जनावर हो भन्ने कुरामा उनीहरु अनभिज्ञ छन् तर, फ्याउरोको आवाजको बारेमा भने नालीबेली थाहा छ जस्तो गर्छन् ।

विचरा फ्याउरो कराउनै नहुने भयो मेरो गाउँबस्तीमा । त्यो कराउने बित्तिकै अनिष्ट हुने भयो मेरो गाउँमा । यस्तो लाग्छ कि, मेरो गाउँको अनिष्टको सबै जिम्मा त्यही फ्याउरोले लिनु पर्ने भयो । पहिलेपहिले मेरो देशको शुभअशुभको जिम्मा पशुपतिनाथले लिएजस्तै । भन्न सकिन्न यस्तै हुँदाहुँदा फ्याउरोको मूर्ति बनाएर मन्दिरको स्थापना गरी फ्याउरोको पूजा गर्ने दिन पनि आउने छैन भन्ने के ठेगान ? मूर्ति बनाउँदा भने विवाद हुन सक्छ । किनभने फ्याउरो कस्तो हुन्छ भन्ने कुरामा गाउँलेको मतैक्यता देखिँदैन ।

मेरो गाउँका कहिल्यै पनि बदलिन नचाहने यस्तैयस्तै जब्बर सोचकै कारण गाउँ अग्रगतिमा जान नसकेको हो कि भन्ने लाग्छ । केही फरकअर्थात अग्रगामी सोच भएका गाउँ छोडेर हिँडेको कारण पनि यस्तैयस्तै भएर हो कि जस्तो लाग्छ ।

छोटो अवधिमा आमा र बाबाको मृत्युको सामना गर्ने क्रममा गाउँका अनगिन्ति सोच, धारणा र व्यवहारसँग समीपमा भएर काम गर्ने अवसर पाएँ । उनीहरुका भावना बुझ्ने मौका पाएँ । कसैले फरक प्रकारका विचार र धारणाको उठान गरेको अवस्थामा आँखा चिम्लेर विरोध र मुकाविला गर्ने सवालमा मेरो गाउँ अग्रपङ्तिमा देखिन्छ । अर्को महŒवपूर्ण कुरा भनेको मलाई यस्तो लाग्छ कि मेरो गाउँमा केही नभएजस्तो देखिए पनि विज्ञैविज्ञले भरिएको छ । किनभने कसैको कुरा कसैले समर्थन गर्दैनन् ।

कतिपय मानिस नबोलेर अरुका कुरा सुनिरहन्छन् मात्रै । तर जो बोल्छन् उनीहरु अरु कसैको कुरालाई जोडदार किसिमले समर्थन गर्नका लागि नभइ आफ्नो कुरालाई सत्य सावित गर्नका लागि बोल्छन् । पहिले पहिले खेतीपातीले कहिले हरिया त कहिले पहेँला देखिने मेरो गाउँबस्तीका उर्बर फाँट अहिले बाँझिएका छन् र बाँझिने क्रम बढ्दो छ । कारण स्पष्टै छ, मेरो गाउँ अब काम गरिखाने युगबाट बोलेर खाने युगतिर प्रवेश गर्दैछ ।

कुरा हुन थालेपछि विषय एउटै मात्र हुन्छ, त्यो हो राजनीति । राजनीतिक गफगाफ गर्ने क्रममा कसैबाट पनि सकेसम्म यो ठीक र यो बेठिक भन्ने कुरा नगरी सबै एउटै ड्याङका काम नलाग्ने हुन भनेर विषयको उठान हुन्छ । कथंकदाचित कसैले कसैको अलिकति समर्थन गरेर यो त ठीकै हो वा ठीकै थियो भन्ने कुरा ग¥यो भने त्यस्तो कुरा भुइँमा झर्न नपाउँदै हजारौं जिब्रा भएका शेषनागले झै झम्टिहाल्दा रहेछन् र त्यो झन् सोह्रै आना बेठीक भनेर प्रमाणित गरेर छाड्दा रहेछन् ।

कुराकानी सुन्दा एकसेएक विद्वान जस्ता लागे पनि अन्ततः तिनै वक्ता विद्वानहरु भट्टीमा गएर गलामा अलिकति मदिरा र गोजीमा अलिकति मनि परेपछि वक्तव्य विरोधतिरबाट समर्थनतिर सोझिदोरहेछ । त्यही भएर गाउँका सफल भनिएका नेता र जनप्रतिनिधि पनि विकासतिर होइन कि मदिरा र मनिकै बाँडफाँड र वितरणतिर लाग्दा रहेछन् ।

गाउँको भलो र कुभलो त उनीहरुले पनि राति कराउने फ्याउराकै जिम्मा लगाउँदा रहेछन् । कतिपय गतिलो कुरा गर्ने र गतिलो काम गर्न चाहने नेता त असफल हुँदा रहेछन् । मलाई त लाग्छ, मेरो गाउँमा बालेन शाह आएको भए पनि धरौटी जफत भएर फेरि कहिल्यै नउठ्ने गरी थला पर्थे होला जस्तो लाग्छ ।

हाम्रा गाउँबस्तीमा हुने अर्थ न बर्थका छलफललाई कफी सम्मेलनको नाम दिँदै एन्थोनी रविन्सले आफ्नो पुस्तक असीमित शक्तिमा भनेका छन्, ‘यी यस्ता छलफल हुन्, जहाँ मान्छे कामबाहेक हरेक कुरामा छलफल गर्छन् । यस्तोमा भागीदार हुनु भनेको आत्महत्या गर्नु सरह हो ।’ मलाई पनि त्यस्तै लाग्छ । फ्याउरो कराए पनि नकराए पनि मेरो गाउँले पलपलमा आत्महत्या गरिरहेको छ र मेरो गाउँले अनिष्टको सामना पलपलमा गरिरहेको छ जस्तो लाग्छ । चुनाव जितेपछि जनताले विकासका कुरा गर्दा जनप्रतिनिधिले प्रष्ट भन्ने गर्दछन्, ‘एकदुई वर्ष विकासका कुरा नगर । मेरो चुनावमा लागेको ऋणसापट तिर्नदेउ । त्यसपछि विकास त छँदैछ नि ।’

जनता नाजवाफ भएर फर्किन्छन् । जसरी मेरो गाउँका जनता नाजवाफ भएर फर्किन्छन् त्यसरी नै विकास र समुन्नति पनि मेरो गाउँबस्तीबाट नाजवाफ भएर फर्किन्छ । गतिला जनप्रतिनिधि छान्न नसक्नुमा हाम्रो पनि दोष छ भन्ने कुरामा मेरो गाउँले सित्तिमित्ति स्वीकार गर्दैन । नागरिक समाज पनि राज्य र सुशासनको अभिन्न अङ्ग हो भन्ने कुरामा मेरो गाउँले स्वीकार गर्न अझै केही दशक कुर्नुपर्ने देखिन्छ ।

बब डिलनले भनेका छन्, ‘जो जन्मेपछि व्यस्त छैनन् अक्सर उनीहरु मर्दा व्यस्त हुन्छन् ।’ उनको यो भनाइ मेरै गाउँको निम्ति भनेजस्तो लाग्छ । जीवनलाई कसरी समुन्नत बनाउने सम्बन्धमा मेरो गाउँको खासै त्यस्तो योजना र सोच छैन । उनीहरु आफू पनि समुन्नतिको बाटोमा देखिँदैनन् र अरु कोही देखियो भने पनि उनीहरुलाई मन पर्दैन । गाउँमा कसैले बेमौसमी तरकारी खेती ग¥यो वा अरु कुनै फलफूल खेती ग¥यो भने गाउँलेहरु ‘एक केजी चाहियो, मूल्य कति हो ?’ भनेर कहिल्यै सोध्दैनन् ।

बरु भन्छन्, ‘राम्रो फलेको हरेछ, अलिकति चाख्न पाइन्छ कि ?’ एउटा बाँदरको जीउमा अलिकति घाउ भएमा अरु बाँदरहरुले के भयो भनेर कोट्याउँदा कोट्याउँदै कहिल्यै निको नहुने बनाए झै हाम्रा गाउँले पनि चाख्दाचाख्दै केही गरु भन्ने किसानलाई कहिल्यै नउत्रिने गरी डुबाइदिन्छन् । बरु मान्छे म¥यो वा मृत्युको नजिक पुग्यो भने मानिस त्यसैमा बढी व्यस्त हुन्छन् ।

मानिस कर्म प्रक्रियामा भन्दा पनि क्रिया प्रक्रियामा बढी महŒव दिन्छन् । मलाई त लाग्छ, यदि कतै स्वर्ग छ भने त्यहाँ जानका लागि क्रिया प्रक्रिया गतिलो भएर होइन कि कर्म प्रक्रिया गतिलो हुनु पर्दछ भन्ने लाग्छ । तर मेरो गाउँलाई यस्तो लाग्दैन । मेरोभन्दा ठीक उल्टो लाग्छ । त्यस कारण उनीहरु जन्मेपछि होइन कि अक्सर मर्दा बढी व्यस्त हुने गर्दछन् ।

मेरो गाउँ यस्तो हुनुको प्रमुख कारण भनेको शिक्षा र चेतना नहुनु हो । सरकारले यस कुरालाई प्राथमिकता नदिएर पनि गाउँहरु त्यसो भएका हुन् । यसो हुनुमा पनि राजनीति गर्नेहरुमा चन्द्रशमसेरको सोचले जरा गाड्नु पनि अर्को कारण हो । अर्थात शिक्षा र चेतनालाई प्राथमिकता दिनुको अर्थ आफ्नो खुट्टामा आफैँले बञ्चरो हानेको जस्तो ठान्न सोच ।

एकपटक कर्णालीको एकजना बरिष्ठ पत्रकारले आफ्नो पितालाई स्वास्थ्य चेक एवम् र घुमफिर गराउन संघीय राजधानी लगेछन् । बाबालाई नजिकै पर्खिन लगाएर आफूले बाबाले देख्नेगरी एटिएम मेसिनबाट पैसा झिक्न थालेछन् । पटकपटक २०÷२५ हजारको मुट्ठा तानेको देखेर पिता आगो भएछन् र छोरालाई भनेछन्, ‘तैले दाजुभाइलाई मारेर भित्ताभित्तामा पैसा लुकेर राख्ने ? साला भाइमारा ?’

पितालाई ‘त्यो होइन बाबा’ भनेर कत्ति सम्झाउन खोजे । पिताले उनको कुरा सुन्दै सुनेनन् । सामान्य स्वास्थ्य चेक गराउन गएका पिता अन्ततः त्यही निहुँमा बिरामी भएर सञ्चो नभएरै मर्छन । अशिक्षा र अचेतना एउटा यस्तो विडम्बना हो, जसबाट बाहिर निस्कन मान्छेलाई मनै लाग्दैन बरु मानिस त्यसैको कारणले मर्न तयार हुन्छ । तर त्यहाँबाट बाहिर निस्कने साहस ग¥यो भने फेरि अशिक्षा र अचेतनातिर कहिल्यै फर्किँदैन । मेरो गाउँ अशिक्षा र अचेतनामा नै डुबेको छ जसलाई त्यो संसार भ्यागुतालाई झै सर्वश्व लागिरहेको छ ।

मेरो गाउँको विकासको मोडेल अन्यत्रभन्दा अलि फरक छ । बस्ती बस्तीमा भट्टी पसल खुलेका छन् । बालकदेखि बृद्धसम्म सबैलाई ग्राहक हुने छुट छ । पसल जता र जसरी राखे पनि हुन्छ । औषधि र रक्सीसँगै राखे पनि हुन्छ । स्कुल र रक्सी पसलसँगै थापे पनि हुन्छ । प्रयोग पनि सदावहार छ । पिएर स्कुल गए पनि हुन्छ । पिएरै हस्पिटल गए पनि हुन्छ । पिएरै अफिस गए पनि हुन्छ । अहिलेसम्म कामको समयमा कसैले पियो भनेर कुनै शिक्षक, कुनै चिकित्सक र कुनै कर्मचारीले अयोग्य भएर जागिरबाट हात धुनु परेको छैन ।

बरु सम्बन्ध विस्तारमा यसले ठूलो सहयोग गरेको छ । विकासको नयाँ मोडेलअन्तर्गत शिक्षा र चेतनालाई बन्ध्याकरणको नीति अपनाइएको छ । यो नीतिले नागरिकलाई सही मार्ग छनोटमा उनीहरु स्वयम्लाई द्विविधा सिर्जना गरेको छ ।

अर्को कुरा चेतनाका सम्बाहक गुरुहरुलाई राजनीतिको छाता ओढ्न परोक्ष वा अपरोक्षरुपमा बाध्य बनाइएको छ जसको परिणामस्वरुप उनीहरु आफ्नो तोकिएको जिम्मेवारीभन्दा पनि आफ्नो राजनीतिक सङ्गठनप्रति बढी नतमस्तक हुने वातावरणको सिर्जना गरिएको छ । यस्तै वातावरणबाट विक्षिप्त भए एकजना युवाले एकरात सबैले सुन्नेगरी कराउँदै थिए, ‘जसले गाउँ बनाउन सक्छ, त्यसले देश पनि बनाउन सक्छ ।

जसले गाउँमा बदमासी गर्छ त्यसले देश बनाउने कुरा नगरे हुन्छ, यस्तै यस्तै ।’ मैले ‘यो कराउने मान्छे को हो ?’ भनेर सोध्दा मेरो गाउँले भन्दै थियो, ‘यो गाउँको पागल हो ।’ मलाई पनि पागल नै हो जस्तो लाग्यो । फ्याउरोले शुभअशुभ सबैको जिम्मा लिएको मेरो गाउँमा त्यस्तो मानिस पागल नहोस् पनि कसरी !

  • No tags available
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रबार