यसरी नेपालगन्ज अनौपचारिक क्षेत्रमा रोजगारको ठूलो गन्तव्य हो । यहाँका अधिकांश मजदुरहरु सरकारको आधिकारिक रेकर्डमा छैनन् । यसले कतिपय अवस्थामा उनीहरु ठगीमा पर्ने र त्यसविरुद्ध कानुनी उपचारमा जान पनि नसक्ने अवस्था रहेको छ । यद्धपि नेपालगन्जले धेरै ठूलो रोजागारीका अवसरहरु लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई दिइरहेको छ । यसका साथै नेपालगन्जका अधिकांश सानादेखि मझौला र ठूला उद्योगहरुमा भारतीय मजदुरहरु पनि कार्यरत छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
कैलाली घर भएका जितबहादुर चौधरी नेपालगन्जमा आफ्ना केही साथीहरुसहित बसिरहेका छन् । केही कोठाहरु भाडामा लिएर बसिरहेका उनीहरु निर्माण मजदुर हुन् । उनीहरु प्रायः दैनिक ज्यालादारीमा काम गर्छन् । कहिलेकाहिँ राम्रो ठेकेदार फेला परेमा ६ महिनादेखि १ वर्षसम्म नयाँ कामको खोजी गर्नु पर्दैन ।
ठेकेदारले जिम्मा लिएका निर्माणका काममा उनी र उनका सथीहरु रोजगारी पाउँछन् । आवश्यक परेको बेला माग्नेबाहेक ६ महिनामा एकमुष्ट ज्याला बुझ्न र घर जान्छन् । ‘कहिले ६, ७ महिनासम्म पनि घर जान पाइँदैन,’ जितबहादुरले भने, ‘धेरै काम भएका ठेकेदारले काम दिएपछि एक ठाउँको काम सकिनेबित्तिकै अर्काे ठाउँमा सुरु भइहाल्छ । अति आवश्यक कामबाहेक दसैंतिहारको बेला मात्रै घर जान्छौँ ।’
…
नेपालगन्जको रामलिला मैदानमा एकाबिहानै मानिसहरुको भिडभाड सुरु हुन्छ । यस्तै भिडभाड कोरोना अघिसम्म त्रिभुवन चोकमा हुन्थ्यो । बिहानै साइकलहरुको ताँतीसहित महिला पुरुषहरु सडक किनारमा बसेर पर्खाइमा हुन्छन् काम दिने मान्छेको । अर्थात्, उक्त भिड श्रमिकहरुको हुन्छ । श्रमिकहरुलाई खोज्न भौतारिहनु पर्दैन ।
सिधै रामलिला मैदानमा गयो भने तपाईंको घरको सफाइदेखि घर बनाउनेसम्मका कामदारहरु यहाँ पाउन सकिन्छ । श्रमिकहरुलाई पनि काम खोज्दै जताततै भौतारिइरहनुपर्ने अवस्था हुँदैन । यो नेपालगन्जको एक पुरानो श्रम शैली हो । यसरी बिहानै नेपालगन्जमा लाग्ने यस मेलालाई श्रमबजारका नामले चिन्ने गरिन्छ । यस मेलामा भेटिने मानिसहरुलाई सोध्यो भने थाहा हुन्छ ।
यहाँ नेपालगन्जभन्दा नेपालगन्ज बाहिरका श्रमिकहरु बढी छन् । बाँकेका नेपालगन्ज बाहिरका क्षेत्रदेखि बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, कैलालीसम्मका मानिसहरु कामको खोजीमा नेपालगन्ज पुग्छन् । युवायुवतीदेखि महिला, पुरुष र ज्येष्ठ नागरिकहरुसम्म कामको खोजीमा श्रमबजारमा पर्खिरहेका भेटिन्छन् ।
एक तथ्यांकअनुसार नेपालगन्जमा ४८ प्रतिशत व्यवसाय अनौपचारिक रहेको छ । यसरी श्रम बजारमा काम खोज्नेहरु पनि सबै अनौपचारिक क्षेत्रमा काम पाउँछन् । इट्टा उद्योगलगायतका केही उद्योगमा सिजनल कामदारहरु पनि नेपालगन्जमा आउँछन् । तीमध्ये धेरैजसो भारतीय हुने गरेका छन् । उनीहरुको न कुनै सम्झौता हुन्छ न कुनै सरकारी कार्यालयले उनीहरुको रेकर्ड राखेको छ ।
मात्र मौखिक सहमतिको भरमा उनीहरु काम गरिदिन्छन् र काम सकिएपछि ज्याला बुझेर बासस्थान फर्किछन् । उनीहरु सबैले दैनिक काम भने पाउँदैनन् । कतिपय दिन काम नपाइएर निराश हुँदै फर्किन बाध्य पनि हुन्छन् । कोरोना महामारीका बेला र त्यसपछि अहिलेसम्म पनि काम नपाउने समस्या पहिलेभन्दा बढी रहेको उनीहरु बताउँछन् ।
रोल्पाकी सुनमाया घर्तीमगरले करिब सात वर्ष भइसक्यो नेपालगन्जमा आएर यसरी काम खोज्न थालेको । उनी घरेलु कामदेखि निर्माणका काममा मजदुरका रुपमा काम गर्दै आएकी छन् । यसरी उनको जीवनस्तरमा आमूल परिवर्तन नै त आएको छैन । तर एकल महिला उनले एक छोरालाई सँगै राखेर पढाइरहेकी छन् । उनकै गाउँका केही साथीहरु पनि यसैगरी नेपालगन्जमा जीवन धानिरहेका छन् ।
….
दाङकी कविता पुन र निरु चौधरी नेपालगन्जको त्रिभुवन चोकस्थित एक सुन पसलमा काम गर्छन् । बिहान करिब ८ बजे पुगेर पसल खोल्ने, सरसफाइ गर्ने र दिउँसो ग्राहकहरुलाई सेवामा सघाउने उनीहरुको काम हो ।
कक्षा १२ सम्म अध्ययन सकेर उनीहरुले एक साथीमार्फत नेपालगन्जमा काम पाइने पक्का भएपछि यहाँ आएका हुन् । एउटै कोठामा सँगै बस्ने उनीहरु बिहान सँगै काममा निस्कन्छन् र साँझ अँध्यारो भइसकेपछि सँगै फर्किन्छन् । दुवैजनाले एक छाक खानासहित करिब १५ हजार तलब पाइरहेका छन् ।
…
यसरी नेपालगन्ज अनौपचारिक क्षेत्रमा रोजगारको ठूलो गन्तव्य हो । यहाँका अधिकांश मजदुरहरु सरकारको आधिकारिक रेकर्डमा छैनन् । यसले कतिपय अवस्थामा उनीहरु ठगीमा पर्ने र त्यसविरुद्ध कानुनी उपचारमा जान पनि नसक्ने अवस्था रहेको छ । यद्धपि नेपालगन्जले धेरै ठूलो रोजागारीका अवसरहरु लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई दिइरहेको छ । यसका साथै नेपालगन्जका अधिकांश सानादेखि मझौला र ठूला उद्योगहरुमा भारतीय मजदुरहरु पनि कार्यरत छन् ।
ती उद्योगहरुमा करिब ७० प्रतिशत भारतीय मजदुर रहेको अनुमान गरिन्छ । यसको यकिन तथ्यांक सरकारसँग छैन । श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख रुद्रनारायण शाहले कार्यालयको कार्यक्षेत्र बाँके, बर्दिया, दाङ र पूर्वी रुकमका एक सय ६१ उद्योगमा करिब तीन हजार आठ सय ८६ जना श्रमिकहरु कार्यरत रहेको रेकर्ड कार्यालयमा रहेको जानकारी दिए । तीमध्ये कति भारतीय हुन् भन्ने यकिन नभएको उनको भनाइ छ । उद्योगहरुले सबै कामदारलाई नेपाली नै भनेर अनुगमनका क्रममा भन्ने गरेको उनले बताए ।
एकाबिहानै रुपैडिहा नाकाबाट साइकलमा भित्रने भारतीय मजदुरहरु नेपालगन्जको औद्योगिक क्षेत्रभित्रका उद्योगहरुमा पस्छन् । बाँकी मजदुरहरु सार्वजनिक बसका छतमा साइकल राखेर कोहलपुरसम्मका उद्योगहरुमा काम गर्न पुग्छन् । उद्योगहरुले नेपाली मजदुरहरुलाई भन्दा भारतीय मजदुरहरुलाई बढी प्राथमिकता दिएको भन्दै आलोचना पनि हुँदै आएको छ ।
उनीहरुले कम पारिश्रमिक लिने संगठित भएर सौदाबाजी पनि गर्न नसक्ने भएकोले उद्योगीहरुका रोजाइमा भारतीय मजदुर पर्ने गरेका मजदुर अगुवाहरु बताउँछन् । तर उद्योगीहरुका भने आफ्नै समस्या छन् । नेपालमा विशेष गरी दक्ष प्राविधिक जनशक्तिहरु नभएकोले भारतीय मजदुरहरुलाई राख्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।
दक्ष र अर्धदक्ष प्राविधिक जनशक्तिबाहेकका श्रमिकहरु मात्रै नेपाली छन् । त्यसमा पनि स्थानीयभन्दा बाहिरी जिल्लाका मजदुरहरु बढी रहेका बताइएको छ । अब उद्योगहरुमा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिइनुपर्ने माग लामो समयदेखि उठिरहेको छ ।
जिआइजेडले तयार गरेको एक तथ्यांकअनुसार नेपालगन्जमा सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र थोक तथा खुद्रा व्यापार हो । उक्त तथ्यांकअनुसार थोक तथा खुद्रा व्यापारले नेपालगन्जको रोजगारीको ३० दशमलब ९५ प्रतिशत हिस्सा ओगटेको छ ।
थोक तथा खुद्रा व्यापारपछि उत्पादन क्षेत्रले २४ दशमलब ७९, शिक्षा क्षेत्रले १२ दशमलब ५१ एवम् आवास र खानाले १० दशमलव ९४ प्रतिशत रोजगारीको हिस्सा ओगटेको छ । उक्त तथ्यांकअनुसार नेपालगन्जमा करिब सात हजार एक सय ७६ औपचारिक उद्यम छन् ।
ती उद्यमहरुमा ३० हजार चार सय ७० जनाले रोजगारी पाइरहेका छन् । यहाँ प्रतिउद्यम औसतमा चारजनाभन्दा बढीले रोजगारी पाइरहेका छन् । यसबाहेक ४८ प्रतिशत उद्यम त अनौपचारिक नै छन् । नेपालगन्जमा सबैभन्दा धेरै ५६ दशमलव ९० प्रतिशतअर्थात् चार हजार ८३ थोक तथा खुद्रा व्यापारका उद्यमहरु छन् ।
आवास र खानाका १४ दशमलब ३१ प्रतिशतअर्थात् एक हजार २७, उत्पादनका १२ दशमलब ६१ प्रतिशतअर्थात् नौ सय पाँच उद्यमहरु रहेका छन् । नेपालगन्जमा कम उद्यम संख्या रहेर पनि धेरै रोजगारी दिने क्षेत्र भने शिक्षा रहेको छ ।
यहाँ शिक्षा क्षेत्रको उद्यम संख्यामा योगदान मात्र दुई दशमलब ७९ प्रतिशत रहेको छ भने रोजगारीमा योगदान त्यसको करिब ६ गुणा बढीअर्थात् १२ दशमलब ५१ प्रतिशत रहेको छ ।









प्रतिक्रिया दिनुहोस्