बाँके ।
बाँके नरैनापुर गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकामा आयोजित गाउँसभाले बजेट तथा कार्यकम सर्वसम्मत रुपमा पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँसभामा शुक्रबार आगामी आर्थिक वर्षको लागि ५१ करोड १० लाखको बजेट प्रस्तुत गरेका थिए ।
बजेट तथा नीति कार्यक्रमलाई गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिका निमित्त प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । ‘गाउँसभामा प्रस्तुत भएको नीति तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ’ उनले भने, ‘योसँगै गाउँसभा सकिएको छ ।’
गाउँपालिका अध्यक्ष शाहका अनुसार शिक्षा क्षेत्रमा मात्रै एक तिहाई बजेट विनियोजन गरिएको छ । ‘कुल बजेटको ३३ प्रतिशत रकम शिक्षा क्षेत्रको विकासको लागि विनियोजन गरेका छौं’ उनले भने, ‘सबै मिलेर नरैनापुरको विकासमा अब फेरी जुट्नुपर्छ ।’
गाउँसभामा वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाह, वडा नम्बर ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य लगायतका वडाध्यक्षहरुले बजेट राम्रो रहेको भन्दै समर्थन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्