पश्चिमका एक्ला सर्जन डा. निरज भट्टराई



वीरेन्द्र जैसी । नेपालगन्ज ।

मुटुको बाइपास अप्रेसन, मुटुमा जन्मजात भएका समस्या, मुटुको भल्भ फेर्ने, मुटुका प्वाल टाल्ने, फोक्सो र खाद्यनलीमा हुने क्यान्सरको अप्रेसनबाट उपचार, फोक्सोको ईन्डोस्कोपी (ब्रोंकोस्कोपी), छातीसम्बन्धी सबै किसिमका क्यान्सरको पहिचान र उपचार एवम् रक्तनलीको क्यान्सरको अप्रेसनबाट उपचारमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरु नेपालमा एकदमै कम छन् ।

जसलाई कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन भनिन्छ । नेपाल सरकार मातहत त यस विषयमा औँलामा गन्न सकिने मात्रै विशेषज्ञ चिकित्सक छन् । ती पनि काठामाडौं र भैरहवाभन्दा पूर्वको क्षेत्रमा मात्रै कार्यरत छन् । भैरहवाभन्दा पश्चिम क्षेत्रमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत डा. निरज भट्टराई एकमात्र कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन हुन् ।

उनी खजुरास्थित क्यान्सर अस्पतालमा आएपछि अस्पतालमा मुटु, फोक्सो र रक्तनलीको अप्रेसन सेवा सुरु भएको हो । खजुरा अस्पतालमा वैशाख महिनाबाट काम सुरु गरेका डा. भट्टराईले करिब ५० वटा साना ठूला अप्रेसन गरिसकेका छन् । उनी आएकै दिन नेपालगन्जका एक प्रहरी अधिकारीका बुवाको खुट्टाको रक्तनली काटिएको अप्रेसन गरेका थिए ।

यसैगरी अस्पतालमा थन्किएर रहेको ब्रोंकोस्कोपी मेसिन उनी आएपछि नै प्रयोगमा आउन थालेको छ । उनको विशेषज्ञता भएका चिकित्सकहरु नभएकोले अन्य अस्पतालहरुले बोलाएको बेला पनि उनले सेवा दिइरहेका छन् । ‘पश्चिम नेपालमा एक त त्यसै पनि स्वास्थ्य सेवाको पर्याप्तता छैन । त्यसैमाथि विशेषज्ञ सेवा त झनै कम छ । म यस क्षेत्रमा आउँदाजाँदा मैले यहाँको समस्या महसुस गर्न पाएको थिएँ । त्यस कारण मैले सेवाका लागि यस क्षेत्रलाई रोजेको हुँ,’ डा. भट्टराईले भने ।

उनी खजुरा आउनुभन्दा अघि मुटु, फोक्सो र रक्तनलीको समस्या लिएर आएका बिरामीहरु जाँच गर्नकै लागि पनि भारत, भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता थियो । तर उनी आइसकेपछि उनीहरुले सहजरुपमा सेवा पाएका छन् । थाहा नभएर काठमाडौं पुगेका बिरामीहरुलाई पनि त्यहाँ रहेका चिकित्सकहरुले डा. भट्टराईकहाँ नै पठाइदिने गरेका छन् ।

यसैगरी दूरबिनबाट फोक्सोको अप्रेसन गर्ने विधिबाट पनि उनले अप्रेसन गरेका छन् । खाद्यनलीमा समस्या भएका बिरामीहरुले पनि अब उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता हटेको छ । दुर्घटनाबाट छातिमा कुनै समस्या आएमा त्यसको पनि उपचारको सुविधा पनि अब खजुरामै उपलब्ध छ । यसैगरी स्तन क्यान्सरको अप्रेसन पनि उनले नै गरिरहेका छन् ।

डायलासिस गर्ने बिरामीहरुको लागि रगतको नली जोड्न (ए–भि फिस्टुला)का लागि पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अस्पतालहरुले बिरामीहरुलाई काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । अहिले डा. भट्टराईले नै उक्त सेवा दिइरहेका छन् । खुट्टाको नसामा रगत जमेका बिरामीको अप्रेसन ६ घण्टाभित्र गर्नुपर्ने हुन्छ । हामी कुराकानीका लागि अस्पताल पुग्दा डा. भट्टराई अछामकी एक ९० वर्षीया महिलाको खुट्टाको नशामा रगत जमेको अप्रेसन गरेर बाहिरीरहेका थिए ।

उक्त अप्रेसन समस्या देखिएको ६ घण्टाभित्र गर्नुपर्ने ती ज्येष्ठ नागरिक १४ दिनपछि डा. भट्टराईको सम्पर्कमा पुगेकी थिइन् । ‘एकदमै धेरै द्विविधाकाबीच मैले उहाँको अप्रेसन गर्ने निर्णय गरँे । उहाँ धेरै पीडामा हुनुहुन्थ्यो । धेरै जोखिम लिएर गरिएको अप्रेसन जेहोस् सफल भएको छ,’ उनले भने ।

डा. भट्टराईले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरिसकेपश्चात बंगलादेशको बंगबन्धु शेष मुजिब मेडिकल युनिभर्सिटीबाट मुटु, फोक्सो र रक्तनलीको क्यान्सरमा विशेषज्ञता हासिल गरेका छन् । य

सका साथै काठमाडौंको टिचिङ हस्पिटलमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रा. डा. भगवान कोइराला र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठसँग करिब दुई वर्ष काम गरेको अनुभव पनि संगालेका छन् ।

यति मात्रै होइन फोक्सो, खाद्यनली र छातिको सबै किसिमका क्यान्सरका विषयमा उनले भरतपुर अस्पतालमा एक वर्षको विशेष तालिम पनि लिइसकेका छन् । यसैगरी उनले जनस्वास्थ्यमा पनि मास्टर्स गरेका छन् ।

काठामाडौंको होलिल्याण्ड माविबाट २०५९–६० बाट एसएलसी उत्तीर्ण गरेका डा. भट्टराईले २०६८–६९ मा एमबिबिएस उत्तीर्ण गरेका थिए । उनी २०१४ मा मुटुको शल्यक्रियामा विशेषज्ञता हासिल गर्न बंगलादेश गए । २०१९ मार्च ७ मा उनले कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जनका रुपमा विशेषज्ञताका साथै जनस्वास्वास्थ्यमा मास्टर्स हासिल गरेर फर्किए ।

त्यसपछि उनले नेपाल आएर टिचिङ हस्पिटलमा प्रा.डा. भगवान कोइरालाको मातहतमा रहेर अनुभव हासिल गर्ने अवसर पाए । दुई वर्ष त्यहाँ काम गरेपछि वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरले फोक्सो र खाद्यनलीको क्यान्सरको तालिमका लागि आवेदन माग्यो ।

त्यसमा छनोट भएर उनले प्रा.डा. विनयकुमार ठाकुरसँग फोक्सो, खाद्यनली र छातिको क्यान्सरको बारेमा तालिम लिने अवसर पनि पाए । त्यहाँ काम गर्दागर्दै सरकारले आह्वान गरेको विषयगत विशेषज्ञको विज्ञापनमा एकजनाको कोटामा उनले नाम निकाल्न सफल भए ।
त्यसपछि क्यान्सरका बिरामीलाई उपचारमा सेवा दिन भन्दै खजुरा क्यान्सर अस्पतालमा खटाइएका छन् ।

उनी क्यान्सर अस्पतालको सेवा समयपछि नेपालगन्जस्थित विदूषी मेडिकल हलमा पनि सेवा दिने गरेका छन् भने अन्य अस्पतालहरुले बोलाएको बखत सेवा दिन पुग्ने गरेका छन् । नेपालगन्ज पश्चिम नेपालको गेटवे भएकोले खजुरास्थित अस्पतालबाट यस क्षेत्रको ठूलो जनसंख्याले सेवा पाउनसक्ने र त्यसको लागि आवश्यक पूर्वाधारहरु निर्माणमा सरकारको लगानी बढ्नुपर्ने डा. भट्टराईको भनाइ छ ।

डा. भट्टराईको परिचय चिकित्सा क्षेत्रमा मात्रै नभइ साहित्यमा उत्तिकै बलियो छ । उनी एक प्रसिद्ध कवि पनि हुन् । नेपाल सरकारका पूर्व स्वास्थ्य, गृह तथा भूमि सुधारलगायतका मन्त्रालयमा सचिव रहेका उनका पिता विजयराज भट्टराई पनि कवि हुन् । बुवासँग मिलेर २०६७ सालमा गीतीएल्बम निकालेका उनका ‘मेरो भन्नु केही छैन’ र ‘तलास’ गजल संग्रह एवम् ‘धुवाँको धागो’ चर्चित कविता संग्रह प्रकाशित छन् । यसका साथै उनी क्रिकेट खेलाडी पनि हुन् ।

एमबिबिएस उत्तीर्ण गरेपछि उनले काठमाडौंमा क्रिकेट खेलमा समय दिएका थिए । काठमाडौं खेल मण्डलबाट जिल्लास्तरीय छनोट खेल्न उनी क्याप्टेन रहेको टिममा अहिलेका चर्चित क्रिकेटर सोमपाल कामीलगायत युवा क्रिकेटरहरु पनि थिए । यसैगरी पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल उनका समवयी खेलाडीहरु हुन् ।

अहिले चिकित्सा सेवा र साहित्यलाई सँगै अघि बढाइरहेका यी एक युवा विशेषज्ञ चिकित्सक पश्चिम नेपालको स्वास्थ्य सेवामा आफ्नो कार्यकाल र योगदान सम्झिन योग्य बनाउने लक्ष्यमा छन् । उनको विशेषज्ञताबाट लाभान्वित हुनुपर्ने पश्चिम नेपालका अधिकांश बिरामीहरुसम्म जानकारी पुग्न नसकेकोले सबैसम्म पु¥याउनु पनि आवश्यक रहेको छ ।

अहिले पनि कतिपय बिरामीहरु काठमाडौं पुगेर पुनः त्यहाँका चिकित्सकहरुले उनीकहाँ नै फर्कारहेको अवस्था रहेको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २ गते बिहीबार