महानन्द ढकाल ।
फोहोर व्यवस्थापन हरेक ठुला र मझौला सहरहरूको समस्याको विषय हो । काठमाडौंको फोहोर स्थानीय तहका लागि मात्रै नभएर सरकारको नै टाउको दुखाइ बन्ने गरेको छ ।
फोहोरलाई मोहोर बनाउने नारा अब पुरानो भइसक्यो । हरेक पार्टीले अभैmसम्म यो नारालाई मुख्य नारा बनाउन छोडेका छैनन् । घोषणापत्रमा लेख्न छुटाएका छैनन् । तर जुनसुकै पार्टीले सत्ता सञ्चालन गरेको भए पनि यो नारा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
बालेन्द्र साह पछिल्लो समय चर्चामा छन् । लोकप्रिय मतका साथ महानगरको मेयरमा विजय भएकोले पनि उनी चर्चामा छन् । उनको चुनावी प्रतिबद्धतापत्रमा समेत फोहोरलाई मोहोर बनाउने नारा परेको छ । महानगरको मेयर भएसँगै साहले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाउन थालेका छन् ।
उनको फोहोर व्यवस्थापनसम्बन्धी समाचारलाई मिडियाहरूले महŒवकासाथ प्रचारप्रसार गरिदिएका छन् । महानगरले डम्पिङसाइडका रुपमा प्रयोग गर्दै आएको सिस्डोल तथा बञ्चरे डाँडाका स्थानीयवासी महानगरबाट सन्तुष्ट देखिँदैनन् । यी स्थानका नागरिकहरूले दर्जनौं मागहरू राखेर बालेन्द्र साहलाई असिनपसिन बनाइदिएका छन् ।
उनीहरूका गुनासा तथा मागहरू सुन्दा अनुचित पनि लाग्दैन । कुनै ठाउँमा गरेको फोहोरबाट कुनै ठाउँका जनताहरू पीडित हुनु न्याय संगत पनि त होइन । दुर्गन्ध रोक्ने केमिकल प्रयोग गर्र्नु पर्ने, डम्पिङसाइडसम्मको बाटो पिच बनाउनु पर्ने, सिस्डोल तथा बञ्चरे डाँडाको आसपासमा अस्पताल निर्माण गर्नु पर्ने, प्रभावित क्षेत्रका जनतालाई रोजगारीमा अवसर दिनु पर्ने जस्ता मागहरू पीडित क्षेत्रका जनताहरूले राखेका छन् ।
माग पूरा नगरे फोहोर फाल्न नदिने घोषणाले बालेन्द्र साहको छटपटी बढेको छ । हुन पनि काठमाडौंको फोहोर व्यवस्थापन बालेन्द्रको सफलता र असफलतासँग जोडिएकोले पनि बालेन्द्रमा छट्पटी बढ्नु स्वभाविक नै हो । यो छट्पटीलाई मत्थर पार्न उनले सिस्डोल र बञ्चरे डाँडाका जनताहरूसँग आपूm विगतका जनप्रतिनिधि जस्तो नभएको भन्ने विश्वास दिलाउन कोसिस गर्दै पटकपटक ‘म स्वतन्त्र व्यक्ति हुँ, काम गर्न दिनूहोस्’ भनेर अनुरोध गर्नु परेको छ ।
हेरौं बालेन्द्र साहले काठमाडौंको फोहोरलाई कसरी व्यवस्थापन गर्छन् ? फोहोर व्यवस्थापन काठमाडौं महानगरपालिकाको मात्रै चुनौती होइन । उपमहानगरपालिका र नगरपालिकाहरू सबैमा यो चुनौतीकै रुपमा रहेको देखिन्छ । काठमाडौं देशको राजधानी भएकोले फोहोर व्यवस्थापनले केही बढी चर्चा पाउनु स्वभाविकै हो ।
तर पनि हरेक पालिकामा फोहोर व्यवस्थापन जनप्रतिनिधिहरूको टाउको दुखाइ भएको प्रष्ट देख्न सकिन्छ । लुकाउनु पर्ने फोहोर बाटोमा फाल्ने संस्कृति नहट्दासम्म र फोहोर व्यवस्थापनका लागि उचित स्थानको खोजी गरेर दीर्घकालीन समाधानका उपायहरू पत्ता नलगाउँदासम्म यो समस्या घट्नेभन्दा थपिँदै जाने देखिन्छ । जसले जनप्रतिनिधिहरूको टाउको कुटुकुट खाइरहने छ ।
काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या जटिल देखिए जस्तै भोलिका दिनमा अन्य सहरहरूमा पनि फोहोर व्यवस्थापनको समस्या देखिने सम्भावना धेरै छ । आज जसरी काठमाडौंको फोहोर फाल्ने डम्पिङसाइड सिस्डोल तथा बञ्चरे डाँडा वरिपरिका जनताहरूले विभिन्न माग तेर्साएर फोहोर फाल्न दिएका छैनन् ।
त्यसैगरी अन्य सहरहरूमा पनि यस्तै माग तेर्साइ फोहोर फाल्न नदिएर काठमाडौंको जस्तै रोग देशव्यापी पैmलिन सक्ने लक्षण देखिन थालेको छ । विभिन्न मागहरू तेर्साएर फोहोर व्यवस्थापन गर्न अवरोध गर्ने संस्कृति सरुवा रोग रातारात पैmलिने भएकोले हरेक सहरले सुरुमै फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधानका उपायहरू खोज्नु बुद्धिमता देखिन्छ ।
यतिबेला अधिकांश पालिकामा नयाँ जनप्रतिनिधिहरूको इन्ट्री भएको छ । सपथ खाए सँगैै नयाँ जोस जाँगरका साथ पहिलो प्राथमिकतामा सहरको सरसफाइ र सुन्दरतालाई महŒव दिएर भटाभट निर्णयहरू भएका छन् । यो खुसीको कुरा हो । जनप्रतिनिधिहरूनै झाडु र बेल्चा समातेर फिल्डमा उत्रिएका समचारहरू पत्रपत्रिकामा पढ्न पाइएको छ । टेलिभिजनमा हेर्न पाइएको छ ।
यो झन खुसीको कुरा हो । फेसबुकका वालहरू जनप्रतिनिधिहरूले बोकेका झाडु र बेल्चाहरूले रंगिएका देखिन्छन् भने टिकटक, युट्युबहरूमा जनप्रतिनिधिहरू काममा जुटेको भिडियो हेर्न पाइएको छ । यसरी यत्रतत्र जनप्रतिनिधि भेटिनु सकारात्मक पक्ष हो तर सबैको एउटै प्रश्न छ, ‘यो नाटक हो कि साँच्चै हो ? एकपटकलाई हो कि सधंैलाई हो ? पाँच वर्षसम्म यस्तै जोस जाँगर देख्न पाइन्छ कि पाइँदैन ?’ कसैकसैले त ‘नयाँ जोगी धेरै खरानी घस्छ’ भनेर व्यंग्यसमेत गरेको भेटिन्छ ।
प्रश्न गर्नु स्वभाविक पनि हो । जनप्रतिनिधिहरू फिल्डमा उत्रने प्रचलन पहिला पनि थियो । निर्णयहरू पहिला पनि हुने गरेका थिए । सुरुसुरुमा सबै जनप्रतिनिधिहरूको जोस र जाँगर प्रशंसा गर्न लायकको नै हुने गथ्र्यो । पछिपछि त्यो जोस जाँगर कता हराउँथ्यो कता ? देखाउनकै लागि झाडु लिएका र बेल्चा बोकेका रहेछन् भन्ने प्रमाणित भएर छोड्थ्यो । अब पनि त्यस्तै नहोला भनेर जनताले कसरी पत्याउने ?
हिजोका भन्दा आजका फरक छन् कसरी मान्ने ? समाज सुध्रियो, संस्कार फेरियो भन्ने आधार केही छ ? उत्तर न त गणितको हिसाब जस्तो छ । न त ठिक बेठिक भर्ने प्रश्नहरूको उत्तर जस्तो नै । मेरो विषयवस्तु कोहलपुर र कोहलपुरको फोहोर व्यवस्थापन हो । मैले कोहलपुरकै कुरा गर्दै छुँ । यहाँको फोहोर व्यवस्थापन र मानवीय चरित्रका कुरा उठाउँदै छुँ । यहाँका नगर प्रमुख र उपप्रमुखलगायतका जनप्रतिनिधिहरूले पनि त्यही गरे । जुन अन्यत्रकाले गरेका थिए । जसरी विगतका प्रतिनिधिहरुले गरेका थिए ।
नगरप्रमुख र उपप्रमुखको हातमा झाडु र बेल्चा देखेपछि मिडियाहरूले समाचार नबनाउने कुरै भएन । झाडु र बेल्चा बोकेर सडकमा उत्रिएका फोटाहरू जताततै छ्यापछ्याप्ती देखिए । नगर प्रमुख र उपप्रमुखको सक्रियताले केही दिनदेखि उठ्न नसकेको बजारको फोहोर उठ्यो । राम्रै भयो । तर प्रश्नहरू उब्जिए । नगर प्रमुख र उपप्रमुख झाडु र बेल्चा लिएर सडकमा कति दिन आउन सक्छन् ?
जनप्रतिनिधिहरू दैनिक सडकमा निस्कन कति सम्भव छ ? यस्तो सरसफाइले के नगर सफा रहला ? नागरिकलाई नीतिमा नबाँधेसम्म निर्देशनले बाँध्न सकिँदैन भन्ने कुरा कहिले बुझ्ने ? उत्तर सजिलो छ तर समस्या जटिल छ ।
नागरिकलाई नीतिमा नबाँधेसम्म नगर प्रमुख र उपप्रमुखको सक्रियता जतिसुकै भए पनि फोहोर जतापायो उतै फाल्ने चलन बढेर जानेछ । नागरिकमा सभ्यता र जिम्मेवारीपना हराउँदै जानेछ ।
गत हप्ता कोहलपुरका नागरिक र मिडियाहरूले एउटा फोटोलाई निकै भाइरल बनाए । फोटोमा ठूलो कुरा नभए पनि सानो कुरा भने थिएन । फोटोले एउटा जमातलाई मज्जाले व्यंग्य गरेको थियो । फोटो कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष कल्पना अधिकारीको थियो । उनले सडकमा फोहोर जम्मा गर्दै थिइन् । साथमा एकजना महिलाले बोरामा फोहोर उठाउँदै गरेको देखिन्थ्यो ।
दुईजना महिलाले फोहोर उठाइरहेको दृश्य पाँचजना व्यापारी जस्ता देखिने लोग्ने मानिसहरूले नजिकैबाट हेरिरहेका थिए । कम्मरमा हात लगाएर । लाग्थ्यो उनीहरू फोहोर संकलन गरेको दृश्य देखेर रमाइलो मानिरहेका थिए ।
अझ भनौं फोहोर व्यवस्थापनको तरिका सिकाउँदै थिए । उनीहरू गाउँबाट आएर हेरिरहेका जस्ता थिएनन् । थिए त त्यही वरिपरिका मानिसहरू । अझ भनौं आफ्नै पसल अगाडि फोहोर फालेर सभ्यताको परिचय दिन खोज्ने सफल व्यपारीहरू ।
यो दृश्यले हाम्रो संस्कार र सभ्यतालाई मज्जाले व्यंग्य गरेको थियो । हामी कतिसम्म असभ्य र परजीवी भएका रहेछौं भनेर भनिरहनु पर्ने देखिँदैन । हामीले घरभित्र लुकाएर राख्नु पर्ने फोहोर बाटोमा फाल्छौं र सरसफाइ गर्ने संघसंस्थाको प्रतीक्षामा बस्छौं ।
संघसंस्थाले उठाउन नपाउँदै पुनः फोहोर थुपारी दिन्छौं । एकदुई दिन फोहोर उठ्न सकेन भने स्थानीय जनप्रतिनिधिहरूलाई सक्दो सराप गर्छौं । संघसंस्थाको सक्रियता माथि औँला उठाउँछौं । चुनावमा पुनः मत नदिने धम्की दिन्छौं । हामीलाई हाम्रो मात्रै मतलब छ । हाम्रो घर सफा भए पुग्यो । हाम्रो पसल व्यवस्थित देखिए पुग्यो । हामी घरभित्रको फोहोर बाटोमा फाल्छौं । पसलको फोहोर बाटोमा फाल्छौं ।
पसलभित्र धुप बालेर ग्राहकको प्रतीक्षा गर्छौं । दिनभर व्यस्त हुन पाइयोस् भन्ने कामना गर्छौं । ग्राहक भित्रिने बाटो के कति दुर्गन्ध छ वास्ता गर्दैनौं । पसलमा ग्राहक छिरेन भने भाग्यलाई दोष दिन्छौं । फोहोरलाई दिँदैनौं । हो यस्तैयस्तै नियतिबाट हाम्रो बजार विकसित भएको छ । यस्तै यस्तै संस्कार र संस्कृति बोकेर हामी सफल व्यापारीको परिचय दिइरहेका छौं । यो कुरा विगतले मात्रै होइन वर्तमानले पनि देखाइरहेको छ ।
कोहलपुर बजार फोहोर हुँदै छ । यो कुरा नगर प्रमुख र उपप्रमुखलाई मात्रै थाहा छैन हरेक जनप्रतिनिधि र कोहलपुरे सर्वसाधारणहरूलाई राम्रोसँग थाहा छ । चपरगौढीको त झन कुरा नगरे पनि भयो । मनमौजी तरिकाले बाटैसम्म आएका टायरहरूले चपरगौढी बजारमा हिँड्ने यात्रुहरूलाई निकै कठिन बनाएको छ । बाटोसम्म पोखिएको डिजल र मोबिलको गन्धले सभ्यतालाई गिज्जाइरहेको छ ।
चपरगौढीको फोहोर व्यवस्थापन गर्न पहिला ग्यारेज व्यवस्थापनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा सायद नगर प्रमुखलाई सिकाइरहनु नपर्ला । अव्यवस्थित फोहोर मैलाले चपरगौढीलाई मात्रै होइन कोहलपुर नगरलाई नै बदनाम बनाइरहेको छ । चपरगौढी सफा नहुँदासम्म कोहलपुर सफा भएको मानिँदैन किनकि कोहलपुरको मुख्य प्रवेशद्वार नै चपरगौढी हो । कोहलपुर छिर्ने बित्तिकै चपरगौढी देख्नेले कोहलपुरलाई गर्ने मूल्यांकन कस्तो होला ? सायद भनिराख्नु नपर्ला । मदनचोक, कौशिलानगर तथा हवल्दारपुर पनि कोहलपुरका प्रवेशद्वार हुन् ।
यी बजारहरूको अवस्थाले पनि कोहलपुरलाई प्रभाव पार्छ नै । त्यसैले पनि कोहलपुरको सरसफाइ र सुन्दरतामा ध्यान दिन चारैवटा प्रवेश क्षेत्रहरूको सुन्दरतामा ध्यान जानु जरुरी छ । विकसित हुँदै गरेका यी बजारहरूको फोहोर व्यवस्थापनमा बेलैमा ध्यान नदिने हो भने अहिले चपरगौढी बजारको जुन अवस्था छ ठिक त्यस्तै यी बजारहरूको पनि नहोला भन्न सकिन्न ।
त्यसपछि कोहलपुर झन कति कूरुप बन्ला मेयरसाप अनुमान त गर्नु भएको छ नि ? त्यसैले पनि सम्बन्धित निकायले बेलैमा विचार पुराउनु बुद्धिमानी देखिन्छ । कडा नीति बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ ।
फोहोरको विषयमा कोहलपुर पटकपटक विवादित बन्दै आएको छ । चुनावताका कोहलपुरका केही युवाहरूले केही दिनदेखि उठ्न नसकेको फोहोरलाई नगरपालिकाको मूल गेटमा थुपारेर सांकेतिक विरोध गरेका थिए । सहरको फोहोरले सभ्यतालाई गिज्याउने भएकोले युवाले राम्रै गरे भन्ने लागेको पनि थियो । आफ्नै गाडी प्रयोग गरेर छिरलिएको फोहोरलाई गन्तव्यसम्म पुराएर समाजसेवीको उदाहरणसमेत दिन खोजेका थिए । बहादुरी देखाएका थिए । केही समय समाज सेवामा संलग्न युवाहरूले राम्रै प्रशंसा बटुले तर त्यो कार्य केवल चुनावलाई प्रभावित पार्न गरिएको प्रपोगाण्डा मात्रै रहेछ भन्ने प्रमाणित हुन थालेको छ ।
स्थानीय जनप्रतिनिधिहरू कमजोर छन् भनेर प्रमाणित गर्ने उद्देश्यबाट प्रेरित भएर गरिएको रहेछ भन्ने आशंका उब्जिएको छ । यदि साँच्चिकै यी युवाहरू फोहोरको विषयमा चिन्तित भएको भए, गम्भीरतापूर्वक उभिएको भए पछिल्लो समय उनीहरूले जनचेतना जगाउने कार्यलाई अभियानका रुपमा लैजान सक्नु पथ्र्याे तर यसो गरेनन् । खहरे आए जस्तै ह्वात्तहुत्तै आए, ह्वात्तहुत्तै गए ।
जसरी चुनाव हल्ला गर्दै आउँछ र सुनसान भएर जान्छ । हुन त हराउने र जिताउने उद्देश्यमा केन्द्रित प्रपोगाण्डा मात्रै थियो भने लामो समयसम्म टिक्ने कुरा पनि त भएन । पालिका चुनावमा सबै पार्टीले आआफ्नो प्रतिबद्धतापत्रमा फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने कुरा लेखेका छन् र पहिलापहिला पनि लेख्ने गरेका थिए । जनप्रतिनिधिहरूले प्रतिबद्धताहरू के कति पूरा गरे वा गरेनन् मूल्यांकन गर्ने प्रशस्त ठाउँहरू छन् ।
अबका जनप्रतिनिधिहरूले के कति पूरा गर्छन् हेर्न बाँकी नै छ । भनिन्छ ‘दिनको संकेत बिहानले गर्छ’ भने झै वर्तमानका जनप्रतिनिधिहरूको एकदुईवटा निर्णयहरू र काम गर्ने शैली हेरेर पनि उनीहरूको क्षमता अड्कल गर्न सकिन्छ । उनीहरूको प्रतिबद्धताप्रतिको इमान्दारीताको मूल्यांकन गर्न सकिन्छ । आशा गरौं यसपटकका जनप्रतिनिधिहरूले जे गर्छन् राम्रो भनेर गर्नेछन् । हाम्रो भनेर गर्नेछन् । पार्टीका प्रतिनिधि नभएर जनताका प्रतिनिधि भएर गर्नेछन् ।
हामी फोहोरका कुरा गर्दै छौं । फोहोर एकठाउँमा मात्रै जम्मा हुने कुरा होइन । हरेक वडामा केही न केही फोहोर हुने गर्छ । आफ्नो वडाको फोहोर व्यवस्थापन गर्नको लागि सम्बन्धित वडाले नै सम्भावित ठाउँ पत्ता लगाएर फोहोर बिसर्जन गर्न पहल गर्नु पर्दछ । नगरभरिको फोहोर फाल्ने डम्पिङसाइड एक ठाउँमा मात्रै बनाउने प्रयास गरियो भने त्यसले समस्या निम्त्याउन सक्छ ।
फोहोरको दीर्घकालीन समाधानको लागि अहिले प्रयोगमा आएका डम्पिङसाइडहरूको विकल्प खोजेर आपतकालीन वा अल्पकालीन डम्पिङसाइड बनाउनेतिर ध्यान केन्द्रित गर्नु जरुरी देखिन्छ । तर हामीकहाँ आगो लागिसकेपछि कुवा खन्ने संस्कार छ । आर्थिक वर्षको अन्त्य अन्त्यतिर योजना बनाएर वजेट सिध्याउने संस्कृति छ । आशा गरौं यो परम्पराको अन्त्य गर्न वर्तमानका जनप्रतिनिधिहरू सफल हुनेछन् । किनभने नगर प्रमुख र उपप्रमुख युवा छन् । जनताले पत्याएका बौद्धिक छन् ।
मलाई एउटा कुराले निकै पिरोलिरहन्छ । कोहलपुरको ढल डुडुवा खोलामा मिसाउने योजनाकार कुन हैसियतको योजनाकार हुन् ? कुन विश्व विद्यालयको डिग्री हो उसको ? यो विषयमा पटकपटक लेख लेखेर, रेडियोमा बोलेर वा सार्वजनिक सभा समारोहहरूमा मन्तव्य दिएर कोहलपुरको ढल डुडुवा खोलामा मिसाइएको कुराप्रति आवाज उठाउँदै आइयो । आपत्ति जनाउँदै आइयो । तर यो आपत्तिको सुनुवाइ भएको छैन । आपत्ति अहिले पनि जारी छ । ढल लगेर डुडुवा खोलामा मिसाउनु हिजो पनि गलत थियो ।
आज पनि गलत छ । भोलिका लागि पनि गलत नै हुनेछ । मेयरसाप, डुडुवा खोलाको सुन्दरताका बारेमा केही सोच्नु भएको छ ? कोहलपुरको फोहोर डुडुवा खोलामा मिसाउनु फोहोर मैला व्यवस्थापनसम्बन्धी समस्यालाई झन जटिलता तर्फ लैजानु हो भन्ने मेरो निष्कर्ष छ । मलाई लाग्छ यही निष्कर्षमा अहिलेका जनप्रतिनिधिहरू पनि पुग्ने छन् ।
‘युवा पिढी नेतृत्वमा आए विवेक पूर्ण निर्णय गर्न सक्छन्’ भन्ने भनाइ धेरैको थियो र छ पनि । कोहलपुर नगरपालिकाले युवा नेतृत्व पाएको छ । अब सबैको मनमा उस्तैखालको खुलदुली र छट्पटी छ युवा नेतृत्वबाट कस्ताखालका योजनाहरू आउलान् ? डुडुवा खोलाको भविष्य सुरक्षित गर्न कस्तो योजना बन्ला ? कोहलपुरको सभ्यता र बन्दा बीचको सम्बन्धलाई जनप्रतिनिधिहरूले कसरी हेर्दै छन् ? बजारको ढल सिधै खोलामा मिसाउन लगाउने नेतृत्व तथा योजनाकारप्रति खेद प्रकट गर्नु पर्ने दिन हराउला कि रहिरहला ? मनमा अनेक प्रश्नहरू छन् ।
मलाई लाग्छ डुडुवा खोला कोहलपुरको भविष्य हो । कोहलपुरे सभ्यताको जरो हो । सायद मेयरसापलाई पनि यस्तै लाग्छ होला । त्यसैले पनि आशा गरौं यो पाँच वर्षमा डुडुवाको मुहार फेरिने छ । डुडुवा खोलाको विकास परियोजनालाई गुरु योजना बन्ने छ । नदीको दुवैतिर हरित पेटीका बनाएर मसुरी खेतदेखि रोहिणि खोलाको दोभानसम्म बोटिङ गर्ने स्थान बन्ने छन् । डुडुवाले कोहलपुरको पर्यटनमा फड्को मार्ने कुरा मेयरसापले राम्रोसँग अनुमान गरेको हुनुपर्छ । हुन पनि यो विषय कोहलपुरको हकमा निकै महŒवपूर्ण विषय हो ।
तर महँगो र असम्भव हुँदै होइन । किनभने नेतृत्वमा इच्छाशक्ति छ । त्यति मात्रै होइन स्थानीय सरकार र संघको सरकार एउटै पार्टीको छ । त्यसैले पनि स्थानीय नेतृत्वलाई सहज छ । झन महŒवपूर्ण मन्त्रालय समालेका युवा तथा खेलकुदमन्त्री यसै क्षेत्रका जनप्रतिनिधि भएकोले पनि सामान्य पहलमा यो काम सजिलै गर्न सकिने देखिन्छ ।
मन्त्रीज्यूको चुनावी घोषणापत्रमा डुडुवा खोलालाई व्यवस्थित बनाउने कुरा उल्लेख भएको थियो । यो खोलाको बारेमा के कति काम गर्नु भयो र के कति गर्न बाँकी छ यो सूचनाबाट भने म अनविज्ञ नै छुँ । तर डुडुवा खोला हेर्दा लाग्छ विगतका जनप्रतिनिधिहरूले यो विषयलाई गम्भीरतापूर्वक लिन सकेनन् । डुडुवा नदीको महŒव बुझेनन् । फोहोर फाल्ने डम्पिङसाइडका रुपमा मात्रै लिए । जसले गर्दा डुडुवा खोलाले दुर्दशा बोकेर बसेको छ । मेयरसाप, हजुरको कार्यकालमा डुडुवाको मुहार फेरिन्छ नि ?
डुडुवाको वारिपारि बनेको सफा हरित पेटिकामा ‘मर्निङवाक’ गर्न पाइन्छ नि ? हुन त जनप्रतिनिधिले मात्रै गरेर केही हुँदैन । हरेक कुरामा नागरिकहरूको सहयोग र सहकार्य आवश्यक हुन्छ नै । झन फोहोर मैला व्यवस्थापनमा त सबैको साझा अवधाराणा हुनु जरुरी छ ।
मेरो फोहर म आफैँ समाल्छु भन्ने भावना विकसित नहुँदासम्म फोहोर व्यवस्थापन चुनौतीको विषय भइनै रहन्छ । फोहोर व्यवस्थापन गर्नको लागि सम्बन्धित क्षेत्रका जनता सम्मिलित समिति बनाई विकास, अवसर, स्वास्थ्य रक्षा तथा अन्य जनस्वास्थ्यका ‘प्रोटोकल’ सम्बन्धी नीति बनाएर फोहोर व्यवस्थापन कार्यलाई कार्यान्वयनमा ल्याउन सकिन्छ । नागरिकले फोहोर व्यवस्थापनमा स्थानीय तहलाई मनैदेखि सहयोग गर्न सक्नुपर्छ ।
नीति बनाउने नगरपालिकाले हो । नीतिको पालना गर्नु नगरवासीको कर्तव्य हो । आउनुहोस् सुन्दर कोहलपुरका सभ्य नागरिक बन्ने प्रण गरौं । समुन्नत कोहलपुर बनाएर सभ्यताको परिचय दिऊँ । सहरलाई नै हो सभ्यताको प्रतीक मानिने । जहाँ सहर छ त्यहाँ बढी फोहोर जम्मा हुन्छ नै । यो हिसाबले पनि फोहोर सभ्यताको प्रतीक हो । फोहोर उत्पादन हुनुलाई नराम्रो नमानौं । बस्ती बढे फोहोर बढ्छ । फोहोर समस्या होइन । फोहोरलाई मोहोर बनाउने कार्यमा हातेमालो गरौं ।
स्थानीय तहको नीति तथा कार्यक्रम बन्ने तरखरमा छ । स्वास्थ्य तथा शिक्षा प्राथमिकतामा पर्छन् होला नै । मेयरसाप, अब बन्ने नीति तथा कार्यक्रममा फोहोर व्यवस्थानका लागि यतिसम्म काम त गर्न सकिन्छ नि ?
फोहोर व्यवस्थापनका लागि नागरिकहरूलाई नगरपालिकाले निम्न कार्य गर्न उत्प्रेरित गर्न सक्नु पर्दछ ।
१. घरभित्र जम्मा भएको फोहोरलाई गल्ने, जल्ने र नगल्ने गरी वर्गीकरण गर्ने÷गर्न सिकाउने ।
२. गल्ने तथा कुहिनखालको फोहोरलाई करेसा खेती, कौसी खेती तथा छत खेतीका लागि प्रांगारिक मलका रुपमा घरमै खपत गर्ने बानीको विकास गर्ने-गराउने ।
३. नकुहिने वा नजल्ने प्लास्टिक, सिसा तथा अन्य फोहोरलाई एउटा बोरामा राख्ने-राख्न लगाउने ।
४. फोहोरको बोक्ने गाडी नआउँदासम्म घरमा जम्मा भएको उक्त फोहोर घरभित्रै राख्ने-राख्न लगाउने ।
५. गाडी आउँछ र लैजान्छ भनेर घरभित्रको फोहोरलाई बाटोमा फालेर तमासा नदेखाउने-यस्तो गर्नेलाई सचेत बनाउने ।
६. फलाम वा धातुजन्य तथा अन्य बिक्री हुने फोहोरलाई संकलन गरी कवाडीलाई बिक्री गर्ने-गर्न लगाउने ।
७. आआफ्नो घर वरिपरि हरियाली बढाउन तथा जम्मा भएको फोहोरमैला संकलन गर्नका लागि कुनै संघसंस्थाको बाटो नकुर्ने-आफैँ गर्ने बानी बसाल्ने ।
८. अबुझ छर छिमेकीहरूलाई छरछिमेकीहरूबाटै सम्झाउने बुझाउने र चेतनशील बनाउने । टोल सरसफाइ समितिहरू निर्माण गर्ने-गर्न लगाउने ।
९. नियमविपरीत फोहोरमैला गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउन पहल गर्ने-नियमहरू जानकारी गराउने ।
१०. निर्माण सामग्री तथा पसलका सामानहरू यात्रुहरूलाई हिँड्न अप्ठ्यारो हुने गरी पेटीसम्म नराख्ने-राख्न नदिने ।
स्थानीय तहले फोहोर व्यवस्थापनका लागि आफैँले निम्न कार्यहरू गर्न सक्छ
१. दीर्घकालीन फोहोर व्यवस्थापनको नीति बनाउने र कार्यान्वयनमा ल्याउने ।
२. सार्वजनिकस्थलहरूमा डस्टबिनहरूको व्यवस्थापन गरिदिने र डस्टबिनको प्रयोगलाई अभियानका रुपमा लैजाने ।
३. सार्वजनिकस्थलमा फोहोर गर्नेहरूको निगरानी गर्न नगर प्रहरीहरूको व्यवस्था गर्ने । फोहोर गर्नेलाई तुरुन्तै कारबाही गर्ने ।
४. फोहोरलाई समस्याको रुपमा नलिई फोहोरलाई मोहोर बनाउने योजना बनाई निजी क्षेत्रलाई टेन्डरमार्फत फोहोर व्यवस्थापनमा सहभागी बनाउने ।
५. तोकिएको समयभन्दा बढी फुटपाथ तथा डिभाइडरभित्र निर्माण सामग्रीहरू छरपस्ट पार्नेहरूलाई हदैसम्मको कारबाही गर्ने । घर वरिपरि पूmल तथा सुहाउँदा बिरुवाहरू लगाउने व्यवस्था मिलाउने ।
६. फोहोरको प्रकृति हेरी फोहोर उठाउने । फोहोर उठाउने गाडी नआउँदासम्म घरभित्रको फोहोर बाहिर फाल्न नदिने । बाटोमा फोहोर फाल्ने घरधनीलाई एकपटकलाई चेतावनी दिने । पटकपटक यस्तो कार्य दोहो¥याएमा दण्ड जरिवाना गरी नगरबाट पाइने सेवा सुविधाहरू पूर्णरुपमा कटौती गरिदिने ।
७. फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनाई वैकल्पिक डम्पिङसाइडहरूका विकल्पहरू खोज्ने । सहमति र सहकार्यमा जोड दिने ।
८. ढललाई सिधै खोलामा मिसाउने क्रियाकलापलाई तुरुन्त रोक्ने । खोला नालाहरूलाई सभ्यताको प्रतीकका रुपमा विकसित गर्दै लैजाने ।
९. बजारमा छिरलिएका ग्यारेजहरूलाई उचित र व्यवस्थित स्थानमा व्यवस्थापन गर्ने । डुडुवा खोलाको किनारमा छुट्याइएको अटो भिलेज निर्माणको निर्णयलाई बदर गरी नदी तथा बस्तीलाई प्रभाव नपार्ने स्थानमा व्यवस्थापन गर्ने ।
१०. भिडभाड हुने ठाउँहरूमा सफा तथा आधुनिक घुम्ती तथा सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने ।
११. फलफूल तथा तरकारी पसलका ठेलाहरूलाई निश्चित ठाउँमा निश्चित शुल्कमा निश्चित समयसम्म मात्रै राख्न पाउने र उनीहरूबाट सिर्जित फोहोर आफूहरूलाई नै व्यवस्थापन गर्न लगाउने ।
१२ वर्षायाममा फोहोरको कारण सरुवा रोगको बिगबिगी हुन सक्ने भएकोले यस्ता रोगहरूको रोकथाम गर्नको लागि योजना बनाएर तयारी अवस्थामा बस्ने ।
१३. बजारको ढल सुख्खा स्थान तर्फ लैजाने र प्रषोधित गरी उक्त ढललाई तरकारी खेतीमा सिँचाइ गर्ने व्यवस्था मिलाउने ।
१४. गाउँघरलाई पर्यापर्यटनसँग जोड्दै ‘सफा बस्ती तथा टोल’को अवधारणालाई क्रमशः विकसित गर्दै लैजाने ।
१५. जनप्रतिनिधि तथा सरोकारवाला संघसंस्था एवम् उद्योग वाणिज्य जस्ता संघसंस्था सम्मिलित उच्चस्तरीय फोहोर व्यवस्थापन समिति बनाएर दिगो समाधानका लागि उचित नीति बनाई कार्यान्वयनमा ल्याउने ।










प्रतिक्रिया दिनुहोस्