कोहलपुर ।
कोहलपुरस्थित बसपार्क क्षेत्रमा रहेको सार्वजनिक शौचालयमा दिसा र पिसाबमा बढाइएको शुल्क घटाइएको छ । बसपार्क सुधार समितिसँग सम्झौता गरेर शौचालय सञ्चालन गरिरहेका सागर बाल्मिकीले एक महिनायता मनोमानीरुपमा शुल्क बढाएका थिए ।
सार्वजनिक शौचालयमा मनोमानीरुपमा शुल्क बढाएको विषयमा मिसन टुडे दैनिकले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशित भएपछि उक्त शौचालयमा बढाइएको रकम घटाइएको छ ।
यसअघि उनले शौचालय प्रयोग गरेवापत पिसाबको प्रतिव्यक्ति १० रुपैयाँ र दिसाको १५ रुपैयाँ लिँदै आएका थिए । उनले शुल्क बढाएको विषयमा बसपार्क सुधार समितिलाई समेत थाहा थिएन ।
तर उक्त शौचालयमा शनिबारदेखि दिसा र पिसाबको शुल्क घटाइएको छ । कोहलपुरका अन्य शौचालयहरुले लिइरहेकै मूल्यमा उक्त शौचालयले शुल्क लिन थालेको छ ।
मिसन टुडे दैनिकसँग कुराकानी गर्दै बाल्मिकीले आफूले एक महिनायता बढाइएको शुल्क घटाइएको बताए । उनका अनुसार शौचालयमा धेरै मान्छे नआउने र सम्झौताअनुसार रकम तिर्न समस्या भएपछि शुल्क बढाइएको थियो ।
उनले शौचालयबाट उठेको रकम मासिक १५ हजार समितिलाई तिर्दै आएका छन् । बाँकी पैसा उनको आम्दानी हो । बसपार्क क्षेत्रमा दुईवटा सार्वजनिक शौचालय सञ्चालनमा छन् । पश्चिमपट्टिको शौचालयले भने मासिक २० हजार रुपैयाँ तिर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्