नेपालगन्ज ।
नेपालगन्जमा अघोषित विद्युत् कटौतीविरुद्ध प्रदर्शन गरिएको छ । विकासका लागि नागरिक सरोकार समितिको अगुवाइमा शुक्रबार नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको मुलगेटमा धर्नासहित दबाबस्वरुप प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा नेपालगन्जका नागरिक अगुवाहरुले प्राधिकरणप्रति तीव्र आक्रोश पोखेका छन् ।
नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज जस्तो गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको बताउँदै यो क्रम एक हप्तामा नरोकिए जिम्मेवारी छोडेर जान कार्यालय प्रमुखलाई चेतावनी दिए ।
वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलको छेउमै उभिएर उनले भने, ‘कि त विद्युत् सुचाररु गर्नुहोस् होइन भने झोलीगुण्टा बोकेर यहाँबाट जानूहोस् । नभए हामी कडा कदम चाल्न बाध्य हुनेछौं ।’
अधिकारकर्मी साहिल अन्सारीले नेपालगन्जवासीहरुको धैर्यताको बाँध टुट्ट लागेको बताउँदै यथाशीघ्र देखिएका समस्याहरु समाधान गर्न चेतावनी दिए । युवा अगुवा सञ्जय श्रेष्ठले विद्युत् प्राधिकरण अनियमितरुपमा विद्युत् कटौती गर्दा नागरिकका विद्युतीय उपकरणहरु बिग्रने क्रम बढेको बताउँदै त्यसको क्षतिपूर्ति दिन माग गरे । घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले उद्योगीहरुले विद्युत् कटौतीका कारण धेरै समस्याहरु भोग्नु परेको गुनासा पोखिन् ।
सो क्रममा नागरिक समाजका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि, लायन्स तथा लियो क्लबका प्रतिनिधि, गैर सरकारी संस्था महासंघ, होटल व्यवसायी, अधिकारकर्मी, सर्वसाधारणलगायतको ठूलो संख्यामा उपस्थिति थियो ।
प्रदर्शनपछि वितरण केन्द्रका प्रमुख प्याकुरेललाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै प्याकुरेलले केही दिन पहिले विद्युत् आपूर्तिमै समस्या रहेका कारण कटौती भएको बताउँदै अब समस्या समाधान हुने आश्वासन दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्