4 February 2023  |   शनिबार, माघ २१, २०७९

संकल्पका साथ मैदानमा प्रशान्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २७, २०७९  

नेपालगन्ज ।

उनको सपना थियो सरकारी जागिर खाने र सिडिओ वा प्रहरी अफिसर बन्ने ।

बुवा सरकारी जागिरे भएकाले पनि उनको बाल्यकालीन रुची जागिरप्रति ढल्किएको थियो । सरकारी जागिरे बन्ने बाटोबाट राजनीतिको गल्ली हुँदै राजमार्गमा प्रवेश गरेका प्रशान्त विष्ट अहिले नेपालगन्ज उपमहानगरपालिकाको मेयरको दौडमा छन् ।

कुनैबेला अञ्जानमै राजनीतिमा तानिएका उनी अहिले राजनीतिबाटै समाज परिवर्तन सम्भव छ भन्ने निष्कर्षमा पुगेका छन् । भन्छन्, ‘अब मेरो जीवनको लक्ष्य भनेकै राजनीतिलाई सेवाको माध्यम बनाएर जनताका लागि काम गर्नु हो ।

पैसा र पावर त मैले अरु क्षेत्रमा लागेरै कमाउन सक्थेँ । मेरा साथीहरु धेरै पहिले नै ठूल्ठूलो पदमा पुगिसकेका छन् ।’ बुवा सरकारी जागिरे हुनुको लाभ प्रशान्तको लालनपालन र शिक्षादीक्षामा पनि प¥यो ।

उनले राम्रो शिक्षा लिने अवसर पाए । २०३५ सालमा जन्मिएका विष्टले जय बागेश्वरीबाट कक्षा पाँचसम्म अध्ययन गरे । त्यसपछि महेन्द्र माविमा अध्ययन गरेर २०५१ सालमा एसएलसी दिएका प्रशान्तले सेकेण्ड डिभिजनमा उत्तीर्ण गरे ।

प्रशान्तको राजनीतिमा प्रवेश उनको परिवारले नचाहँदा नचाहँदै भएको हो । हुन त उनको परिवार राजनीतिबाट पूरै अछुतो पनि थिएन । स्वर्गीय सुशील कोइरालाका ठूल्दाई प्रमोद कोइराला र विष्टका हजुरबुवाबीच मितको नाता थियो । कोइराला नेपालगन्ज रहँदा विष्टको घरमा आउने जाने गरिरहन्थे । तर सक्रिय राजनीति पनि उनको परिवारबाट कसैले गरिरहेको थिएन ।

महेन्द्र माविमा हुँदा नै उनी नेविसंघको विद्यालय इकाई सचिव बनाइएका थिए । तर, त्यसप्रति उनको त्यति चासो थिएन । २०५४ मा महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा उनले प्रवीणता प्रमाणपत्र तह पास गरे ।

२०५५ मा उनले व्यवस्थापन संकायमै ब्याचलर अध्ययन सुरु गरे । त्यतिबेला क्याम्पसमा विद्यार्थी युनियनमा सहसचिवको चुनाव लडे र सफल भएनन् । ‘रहरमा चुनाव लडेको, अनुभव र अन्तिम समयमा मात्रै उम्मेदवारी दिएको । त्यसपछि जीवनको पहिलो चुनाव हारियो,’ विष्टले भने ।

चुनाव हारे पनि उनमा राजनीतिको नशा झन बढ्न थाल्यो । त्यसपछि बुवाले प्रशान्तलाई भने, ‘पढाइभन्दा बढी राजनीतिमा ध्यान दिन्छस् । चुनाव पनि हार्छस् । अब काठामाडौं जा ।’ त्यसपछि विष्ट पुगे काठमाडौंको शंकरदेव क्याम्पसमा ।

ब्याचर दोस्रोे वर्ष उनले शंकरदेव क्याम्पसमा अध्ययन गरे । शंकरदेव क्याम्पसमा पुगेपछि किशोरसिंह राठौरले त्यहाँको युनियनको चुनावमा पनि सदस्य लड्न भने । राजनीति छुट्ला भन्ने आशामा काठमाडौं गएको छोरो फेरि राजनीतिमा लाग्न थालेको थाहा पाएपछि बुवाले उनलाई नेपालगन्ज नै बोलाए र पुनः ब्याचलर तेस्रो वर्षबाट महेन्द्रमै सुरु गराए ।

२०५९ सालमा भने अनेरास्ववियू र नेविसंघको गठबन्धन गरेर चुनाव लडेपछि उनी युनियनको उपसभापति निर्वाचित भए । त्यसपछि विष्टको राजनीतिक यात्रामा असफलता कहिल्यै हात लागेन । २०६१ सालमा उनी पुनः स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजय हासिल गरे । २०६३ सालदेखि लगातार चार वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाए ।

२०६८ सालमा उनी नेपाली कांग्रेसको नेपालगन्ज नगर सभापति पदमा निर्वाचित भए । त्यसपछि २०७३ सालमा उपमहानगरपालिका भएपश्चात् सर्वसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिए । कांग्रेसको १४औँ महाधिवेशनबाट पुनः २०७८ सालमा पुनः उनी नेपालगन्ज नगर सभापतिका निर्वाचित भई नेतृत्व कौशल देखाइरहेका छन् ।

२०३५ सालमा नेपालगन्जमा जन्मिएका विष्ट युवा उमेरमै कांग्रेसजस्तो अनेकौं काबिल व्यक्तिहरु भएको पार्टीबाट नेपालगन्जजस्तो राजनीतिक महŒवको सहरको मेयरका उम्मेदवार बन्न सफल भए । यो रातारात नभएको उनको भनाइ छ । प्रशान्त आफूले मेयरका लागि करिब एक दशकअघिदेखि तयारी गरेको बताउँछन् । ‘त्यसका लागि मैले पार्टीभित्र पनि रणनीतिकरुपमा काम गरेँ । अध्ययन गरेँ । यति मात्रै होइन जनतासँगको सम्बन्धलाई पनि विस्तार गरेँ,’ विष्टले भने । विष्टले पार्टीको संरचना बुझेर आफूले मेयरको लागि अवसर पाउन सजिलो हुने पद नगर सभापति रोजेको बताउँछन् ।

‘नगर सभापति पद भनेको नगरको मेयरको पदको लागि प्रमुख दाबेदार हुन्थ्यो । त्यतिबेला अब देश संघीयतामा जान्छ भन्ने लगभग थाहा भइसकेको थियो । त्यसपछि मैले त्यही पदमा दाबी गरेँ,’ विष्टले भने, ‘पहिलो कार्यकाल सकिएपछि अरु माथिको पदमा गए पनि हुन्थ्यो । तर मलाई थाहा थियो नगर सभापति भनेको मेयरको पनि दाबेदार हो ।

त्यस कारण त्यसैमा दोहोरिन चाहेँ ।’ यस्तै जनस्तरमा सम्बन्ध विस्तारका लागि उनले यसबीचमा थुप्रै सामाजिक कामहरुमा सक्रियता देखाए । नेपालगन्जको धार्मिक सदभाव कायम गर्ने काममा भूमिका निभाए । कोरोना महामारीमा उपचार व्यवस्थापनमा सघाउनेदेखि भेरी अस्पतालमा सञ्चालित २० रुपैयाँमा खाना खुवाउने कामको लागि पनि विष्टको भूमिका महŒवपूर्ण रह्यो ।

अर्काेतर्फ प्रशान्तले मेयरका लागि आवश्यक अध्ययन गरेको बताउँछन् । ‘मैले विदेशका धेरै सहरहरुको विकासका मोडेल अध्ययन गरेँ । विज्ञहरुलाई भेटेर धेरै कुरा सिकेँ । म आफैँ व्यवस्थापनको विद्यार्थी भएकोले त्यसले पनि धेरै कुरामा मलाई मेयरका रुपमा सहयोग गर्छ भन्ने लाग्छ,’ उनले भने ।

प्रशान्तलाई राजनीतिको असली चस्का त्यतिबेला लाग्यो जब देशमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लागू गरे । एकातिर देशमा माओवादी युद्धले आक्रान्त थियो । अर्कोतिर राजाले शासन हातमा लिएपछि उनलाई जनताको सबै अधिकारहरु खोसिएको अनुभूति भयो ।

२०६२–६३ को घोषणा भएपछि नेपालगन्जमा सडकमा आएर राजाको प्रत्यक्ष शासनविरुद्ध उत्रिने हिम्मत भएका मानिसहरुको कमी थियो । त्यसबेला सडकमा देखिने केही अनुहारमध्ये एउटा थियो प्रशान्त विष्टको । २०६२–६३ सालको जनआन्दोलनमा नेविसंघको तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर रहेका थिए ।

उनलाई जनआन्दोलनले राजनीतिमा थप परिपक्व बनाइदियो । ‘मैले अब पूर्ण राजनीति गर्नुपर्छ भनेर निर्णय गरेको यतिबेलै हो । त्यस आन्दोलनले मलाई राम्रैसँग राजनीतिमा स्थापित गरिदियो,’ विष्टले भने ।

सन् २०१४ बाट सुरु भएको नेपालगन्जको मुहार बदल्ने योजनाका रुपमा रहेको एडिबीको एकीकृत सहरी विकास परियोजनामा राजनीतिक समन्वयका लागि नेपाली कांग्रेसबाट विष्ट प्रतिनिधि थिए ।

विष्टले भने, ‘तपाईं एडिबीको परियोजना कार्यान्वयन हुनुभन्दा अघिका कागजपत्रहरु हेर्नुहुन्छ भने त्यहाँ कुनै कागज छैन होला जहाँ मेरो हस्ताक्षर छैन । सबै पेपरवर्क र परियोजनाको खाका कोर्ने काममा मैले रातदिन समय दिएको थिएँ ।’ ल्याडफिलसाइटको जग्गाको खोजी सबैभन्दा चुनौतीको कुरा थियो ।

त्यतिबेलाको नेपालगन्जको कुनै ठाउँमा पनि पर्याप्त जग्गा थिएन । त्यसका लागि ल्याण्डफिल साइट बनेको क्षेत्रलाई नेपालगन्जमा गाभ्ने योजना पनि आफ्नो अगुवाइमा भएको उनी बताउँछन् ।

‘नेपालगन्जका लागि धेरै काम गर्नुछ’

नेपालगन्जको विकासमा अब सिर्जनशील भएर सोच्नुपर्ने बेला आएको प्रशान्तको भनाइ छ । अहिले भएको विकास एडिबीको परियोजनाको उपज भएको बताउँदै उनले अब भौतिक पूर्वाधारमा मात्रै ध्यान केन्द्रित गर्दा सामाजिक विकासको पाटो छुटेको उनको बुझाइ छ । ‘नेपालगन्जको लागि धेरै काम गर्नुछ । त्यही भएर हामीले काम गरेर देखाउने संकल्प गरेका छौँ,’ उनले भने ।

समानुपातिक विकासको मोडेलका रुपमा ‘५ वर्ष ५ संकल्प’ भनेर ‘संकल्पपत्र’ सार्वजनिक गरेको उनी बताउँछन् । उनको १४ शीर्षक र २२२ बुँदे संकल्पपत्रमा पाँच वर्षमा नेपालगन्जलाई सदभावको सहर, हरित नगर, रिङरोडसहितको सडक सञ्जाल र पूर्वाधार, सेवा र सुशासन एवम् सामाजिक न्यायसहितको रुपान्तरणयुक्त नगर बनाउने संकल्प गरिएको छ ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको संकल्पपत्रमा विद्यालयमा आवश्यक न्यूनतम पूर्वाधार, पुस्तकालय, कक्षाकोठा, लैङ्गीकमैत्री र अपाङ्गमैत्री शौचालय निर्माण गरिने, हरेक वडामा एक नमुना प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन गरिने, एक शिक्षक एक ल्यापटप वितरण, बालविकास शिक्षक शिक्षिकाको तलब आधाभूत विद्यालय शिक्षक शिक्षिका समान पु¥याइने, एक माध्यमिक विद्यालयमा एक प्राविधिक विषय, नगर शिक्षक अनुदानलगायका प्रतिबद्धताहरु गरिएको छ ।

स्वास्थ्यतर्फ भेरी अस्पताललाई पाँच सय बेडको बहुविशेषतायुक्त अस्पताल र शिक्षण कलेजको रुपमा विकास गर्न पहल गर्ने, १५ शैड्ढयाको नगर अस्पताल निर्माण गर्ने, सामाजिक सुरक्षा दिनुपर्ने वर्गका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने उनको संकल्प छ । कृषि बीमामा साना किसानलाई ९० प्रतिशत र मझौला एवम् ठूला किसानलाई ७५ प्रतिशत अनुदान दिइने, उन्नत बीउ र नश्लमा ५० प्रतिशत अनुदान र कृषिमा आधारित उद्योग स्थापनालाई प्रोत्साहन गर्ने उल्लेख छ ।

फुटपाथ र ठेलाका लागि निश्चित स्थानको व्यवस्था गर्ने, उद्योगमा निश्चित प्रतिशत स्थानीयलाई रोजगारी दिने व्यवस्था गर्ने र उद्योगहरुलाई कर छुटको व्यवस्था गर्ने, उत्पादनको बजारीकरणमा सघाउने, ऐलानी जग्गामा बसेकाहरुलाई लालपुर्जा वितरण गर्ने, फुस र खरका छाना विस्थापन गर्ने पनि संकल्प गरिएको छ । यसैगरी सांस्कृतिक संग्रहालय, नाचघर निर्माण, सार्वजनिक पोखरीहरुको संरक्षणको प्रतिबद्धता जनाइएको छ ।

खेलकुदमा एक वडा एक खेल मैदान, राष्ट्रियस्तरको खेलकुद प्रशिक्षण केन्द्र स्थापना र अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने उल्लेख छ । यसका साथै पहिलो कार्यकालमा स्थानीय सरकारहरुले गरेका कामहरुलाई नजिकबाट नियालेको पनि विष्टले बताए । स्थानीय सरकारको अधिकारलाई हेर्ने हो भने धेरै राम्रा कामहरु गर्न सक्ने अवसरहरु रहेको विष्टको भनाइ छ । विष्ट यी सबै कामहरु आफूले पाँच वर्षभित्र गरेर देखाउनकै लागि प्रतिबद्धतापत्रलाई संकल्पपत्र भनेको बताउँछन् ।

यी पाँच संकल्पहरु पूरा गर्न आफूसँग स्पष्ट कार्ययोजना रहेको उनी बताउँछन् । नेपालगन्जको युवा पंक्तिलाई विकासमा प्रयोग गर्ने, कार्यसम्पादनलाई पारदर्शी र सुशासनयुक्त बनाउने र माथिल्ला सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने आफ्नो योजना रहेको उनले बताए । ‘हामीले आन्तरिक स्रोतको सुदृढिकरणका लागि पनि संकल्पपत्रमा संकल्प गरेका छौं । यसका साथै माथिल्ला सरकारसँग र दातृ निकायसँग सहकार्य गरेर हामीले हाम्रा संकल्पहरु पूरा गर्नेछौं,’ विष्टले भने ।

अघिल्लो निर्वाचनको परिणाम र अहिलेको गठबन्धनलाई आधार मान्दा विष्ट अरु उम्मेदवारभन्दा सहज अवस्थामा छन् । युवाको प्रतिनिधि भएकोले पनि आफूलाई नगरवासीले आशाका साथ हेरेको उनको बुझाइ छ । विष्ट भन्छन्, ‘मेरो राजनीतिक जीवनको जितको सुरुवात नै गठबन्धनबाट भएको थियो । यसपटक पनि म गठबन्धनबाट साझा उम्मेदवार छुँ । त्यसैमाथि यतिखेर मैले मेयरका लागि गरेको तयारी, नेपालगन्जको विकासमा दिएको योगदान र सबै समुदायसँगको मेरो निकटताका आधार थपिएका छन् । जित सुनिश्चत छ ।’

प्रकाशित मितिः मङ्लबार, बैशाख २७, २०७९     6:41:13 PM  |