राप्रपाबाट नेपालगन्जको मेयरमा वैश्य र उपमेयरमा चर्तीमगर उम्मेदवार



नेपालगन्ज ।

नेकपा माओवादीबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी एवम् पार्टीका नेपालगन्ज नगर सहसचिव नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

बिहीबार नेपालगन्जमा एक कार्यक्रमका बीच राप्रपाका महामन्त्री धवलशमशेर राणा, राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटा, केन्द्रीय सदस्य फत्तेसिंह थारु र प्रेमबहादुर भण्डारीले वैश्यलाई राप्रपामा प्रवेश गराएका हुन् ।

वैश्यलाई पार्टी प्रवेश गराउँदै महामन्त्री राणाले वैश्यलाई राप्रपाका तर्फबाट नेपालगन्जको मेयरका रुपमा अघि बढाउने बताए । उनले पार्टीभित्र अरु कोही व्यक्ति मेयरका लागि तयार नभएको पनि स्वीकार्नुपर्ने बताउँदै भने, ‘उहाँलाई धेरै दिनबाट मैले प्रयास गरिरहेको थिएँ कि हाम्रो पार्टीमा आएर सघाउनुहोस् । आज म खुसी पनि छुँ र मेरो चिन्ता अलिकति हल्का भाछ । उहाँको पनि धेरै वर्षदेखिको यो नगर बनाउँछु भन्ने चाहना थियो । हामी खुसी छौं भोलि यो नगर सम्हाल्न सक्ने व्यक्तिको पार्टीमा प्रवेश भयो ।’

राप्रपा प्रवेश कार्यक्रममा बोल्दै वैश्यले मतदातालाई माओवादीले अन्योलमा राखेकोले आफूले पार्टी परित्याग गरेको बताए । उनले भने, ‘आज मतदाताले चाहेर पनि भोट हाल्न नसक्ने । जे आदेश आयो त्यही मान्नुपर्ने भनेर धेरै मान्छे अन्योलमा थिए ।

त्यो अन्योलतालाई चिर्दै राप्रपामा रोजेँ ।’ वैश्य नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेका वैश्य नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् । नेकपा माओवादी केन्द्रबाट मेयरको आकांक्षी रहेका वैश्यले नेपालगन्जमा माओवादीले मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी नपाउने गठबन्धनको निर्णयपछि पार्टी छोड्ने निर्णय गरेका हुन् ।

माओवादीले उम्मेदवारी दिन पाउने अवस्थामा पनि उनले भन्दा अरुले पाउने अवस्था आएपछि उनले केही दिन यता नै पार्टी परित्यागका लागि कसरत सुरु गरेका उनका निकटस्थहरुले बताएका छन् । अब वैश्यले माओवादीबाट थप कार्यकर्तालाई पनि राप्रपा प्रवेश गराउने राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले जानकारी दिएका छन् ।

मेयरमा वैश्य र उपमेयरमा चर्तीमगर

नन्दलाल वैश्यलाई पार्टी प्रवेश गराउने कार्यक्रममा पार्टीका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले मेयरमा वैश्य र उपमेयरमा पुष्प व्यवसायी एवम् राप्रपाकी जिल्ला नेतृ बिन्दु चर्तीमगर उपयुक्त उम्मेदवार भएको बताए ।

उनले उम्मेदवार छनोटको प्रक्रिया बाँकी रहे पनि आफूले वैश्य र चर्तीमगरलाई उपयुक्त उम्मेदवार देखेको बताए । उनले भने, ‘हामीले सत्यलाई स्वीकार्नुपर्छ । अहिलेको अवस्थामा हाम्रो पार्टीबाट मेयरमा नन्दलाल जी उपयुक्त क्यान्डिडेट हो भने उपमेयरको उपयुक्त क्यान्डिडेट भनेको बिन्दु जी हो ।’ उनले त्यो भनिरहँदा सहभागीहरुले ताली बजाएर समर्थन गरे ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार