बाँके एमालेले टुंग्यायो पाँच पालिकामा उम्मेदवार



कोहलपुर ।

नेकपा एमाले बाँकेले जिल्लाका पाँचवटा स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । स्थानीय तह निर्वाचनका लागि नेपालगन्ज, जानकी, खजुरा, डुडुवा र नरैनापुरमा उम्मेदवार टुंगो लगाएको हो ।

जिल्लाको एकमात्र नेपालगन्ज उपमहानगरको प्रमुखमा पशुपतिदयाल मिश्रलाई मेयरको एकल उम्मेदवारको रुपमा टुंगो लगाइएको नेकपा एमाले बाँकेले जनाएको छ । उनी गत मंसिरमा मेयरको उम्मेदवार बन्ने गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

हरेक निर्वाचनमा दलबदल गरिरहने व्यवसायी मिश्रलाई एमालेले उम्मेदवार बनाएको छ । गत निर्वाचनमा नेपालगन्जमा नेकपा एमाले चौथो भएको थियो । नेपालगन्जको उमप्रमुखमा शान्ति ढकालको नाम सिफारिस भएको नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसी बताए ।

यस्तै खजुरा गाउँपालिकाको अध्यक्षमा सुमन मल्ल लड्ने पक्का भएको छ । हाल उनी खजुरा वडा नम्बर १ का अध्यक्षसमेत हुन् । नेकपा एमालेबाट बाँकेका स्थानीय तहमा जितेका अध्यक्षमध्ये मल्ल कार्यकालभरि चर्चामा रहे ।

उनले आफूले पाउने पारिश्रमिक वडाको विकासमा खर्च गर्दै आएका छन् । खजुराको उपाध्यक्ष टुंगो लाग्न सकेको छैन । यस्तै जानकी गाउँपालिकामा हिमांशु यादवलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ । उनी स्वर्गीय रामनिवास यादवका छोरा हुन् ।

व्यावसायिक पृष्ठभूमिका उनलाई नेकपा एमालेले अध्यक्षको उम्मेदवार बनाएको हो । गत निर्वाचनमा स्वर्गीय यादव नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनको गत भदौ महिनामा उपचारका क्रममा निधन भएको थियो । अहिले भने भूमिसरा धिताल कार्यबाहक अध्यक्ष छिन् । आगामी निर्वाचनको लागि धिताललाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ ।

यस्तै डुडुवा र नरैनापुर गाउँपालिकामा भने एमालले महिलालाई अघि सारेको छ । डुडुवामा गत निर्वाचनमा जसपाबाट निर्वाचन जितेका विजय यादवकी श्रीमती सरोजकुमारी यादव र नरैनापुरमा संविधानसभा सदस्य स्वर्गीय दिनेशचन्द्र यादवकी श्रीमती पदमावती यादव अध्यक्षमा टुंगो लागेका हुन् ।

दुवै पालिकाको उपाध्यक्षमा क्रमशः नरैनापुरमा रामकुमार दीक्षित र डुडुवामा सकिल खाँलाई टुंग्याइएको छ । अब राप्तीसोनारी, कोहलपुर र बैजनाथ गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको उपाध्यक्ष विसीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ५ गते सोमबार