स्थानीय निर्वाचन: बाँकेमा २९ दलले चुनाव चिन्ह पाउने



जिल्लामा चुनाव चिन्ह पाउने राष्ट्रिय मान्यताप्राप्त दलबाहेकका दलमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि पछिल्लो समय स्थापित मौलिक जरोकिलो पार्टी पनि रहेका छन् ।  यसैगरि राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पनि बाँकेबाट चुनाव चिन्ह पाउँदै छन् ।

नेपालगन्ज ।

आसन्न स्थानीय निर्वाचन २०७९ मा बाँके जिल्लाबाट निर्वाचनका लागि २९ राजनीतिक दलले चुनाव चिन्ह पाउने भएका छन् ।

राष्ट्रिय दलको मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीबाहेक अन्य २३ दलले पनि बाँकेमा चुनावमा सहभागी हुन चुनाव चिन्ह पाउने भएका छन् ।

ती २३ वटा दलले जिल्लामा पार्टी सक्रिय रहेको भन्दै चुनाव चिन्हको माग गरेका जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।

जिल्लामा चुनाव चिन्ह पाउने राष्ट्रिय मान्यताप्राप्त दलबाहेकका दलमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि पछिल्लो समय स्थापित मौलिक जरोकिलो पार्टी पनि रहेका छन् । यसैगरि राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पनि बाँकेबाट चुनाव चिन्ह पाउँदै छन् ।

यस्तै राष्ट्रिय जनमोर्चा, नेकपा (माक्सवादी–लेलिनवादी), सामाजिक एकता पार्टी, जनजागण पार्टी नेपाल, राष्ट्रिय सद्भावना पार्टी, नेपाल परिवार दल, उन्नत लोकतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी पुष्पलाल, नेपाल मजदुर किसान पार्टीले बाँकेबाट चुनाव चिन्ह पाउने भएका छन् ।

चुनाव चिन्ह पाउने अन्य दलमा नेपाली कांग्रेस वीपी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), विवेकशील साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय जनता पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपाल, नेष्नलिष्ट पिपल्स पार्टी, नेपाल संघीय समाजवादी पार्टी र जनता प्रगतिशील पार्टी पनि बाँकेबाट चुनाव चिन्ह लिँदै छन् ।

स्थानीय तह निर्वाचनमा २६ वटा राजनीतिक दलहरुले बाँकेबाट चुनाव चिन्ह लिएका थिए । गत निर्वाचनमा सहभागी केही दलहरु यसपटक क्रियाशील नरहेको पाइएको छ भने केही दल नयाँ थपिएका हुन् । जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, विवेकशील साझा पार्टीलगायतका पार्टी पहिलोपल्ट बाँकेबाट चुनावमा सहभागी हुँदैछन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १६ गते बुधबार