चुनौतीलाई अवसरमा बदल्नुपर्छ



प्रेमशंकर मर्दनीया थारु । महासचिव, होमस्टे एसोसिएसन नेपाल

सामुदायिक तथा नीजि होमस्टेको अवस्था नेपालमा कस्तो छ ?

नेपालमा कूल होमस्टेको संख्या करिब १३ सय वटा रहेका छन् । देशभरि अहिले सामुदायिक र निजी होमस्टे सञ्चालनमा रहेका छन् । देशका विभिन्न ग्रामीण क्षेत्रहरुमा होमस्टेमार्फत संस्कृति संरक्षण, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्ने काम भइरहेको छ ।

अहिले सञ्चालनमा रहेका २ प्रकारका होमस्टेले आफ्ना नीति, नियम र परिधिमा रहेर काम गरिरहेको अवस्था छ । पाँचजना व्यक्ति तथा व्यवसायी मिलेर सञ्चालन गरेको होमस्टे सामुदायिक होमस्टे हो । यी होमस्टे सम्बन्धित प्रदेश वा स्थानीय तहको नीति, निमयभित्र रहेर गतिविधि सञ्चालन गर्छन् । कुनै व्यक्तिले व्यक्तिगतरुपमा आफ्नो घरमा होमस्टे बनाएर व्यवसाय गरेको छ भने त्यो निजी होमस्टे हो । यसमा चारवटा कोठासम्म प्रयोग गर्न पाइन्छ ।

यसका सञ्चालक होमस्टेकर्मी नै हुन्छन् । यसका अनेक उद्देश्य रहेका छन् । यो एक सेवामुखी व्यवसाय हो । यसले स्थानीयता प्रकट गर्दछ । सम्बन्धित स्थानीय क्षेत्रको विविध पक्षको प्रचारप्रसार गर्ने यसको उद्देश्य रहेको छ । स्थानीयस्तरमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रको प्रचार, संस्कृति, रीती तथा जीवनशैलीबारे जानकारी दिने उद्देश्य हुन्छ ।

गाभरमा हुन गइरहेको तेस्रो राष्ट्रिय होमस्टे सम्मेलनमा के–के विषयमा छलफल हुनेछ ?

यो विविध पक्षमा छलफल, बहस गर्न आयोजना गरिएको सम्मेलन हो । हाम्रो होमस्टे एसोसियसन नेपालको आफ्नै कानुन, विधि र प्रक्रिया तथा मान्यता रहेको छ । यसबाट केही नयाँ नीति तथा नियम पास हुन्छ । यस सम्मेलनले एसोसियसनको नयाँ कमिटी निर्माण गर्नेछ ।

यो समिति ५१ सदस्सीय हुन्छ । यसमा देशभरिका होमस्टेकर्मी समेटिनेछन् । यस्तै होमस्टेकर्मीहरुलाई विभिन्न क्षेत्रमा संरक्षण र उत्पादनसँगै होमस्टेकर्मीहरु बृहत् रुपमा राष्ट्रिय हिसाबले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । हरेक व्यक्तिको रोजगारी सिर्जना गर्नको लागि होमस्टेहरुको वृद्धि विकासका बारेमा गन्थनमन्थन हुनेछ ।

यसैगरि गाभरमा मौलिक भोजन मेलासमेत आयोजना हुँदैछ । यसलाई हामीले खाना महोत्सवसमेत भनेका छौँ । हामीसँग पाइने विभिन्न खाने परिकार र खानाहरु रहेका छन् । यसको प्रवद्र्धन र त्यसको स्वाद चखाएर प्रचारप्रसार गर्ने पनि यसको उद्देश्य रहेको छ । यसको अर्को ध्येय भनेको होमस्टे व्यवसायीहरुको इच्छाशक्तिसमेत प्रदर्शन गर्न खोजिएको हो ।

सम्मेलनपछि होमस्टे एसोसिएसन नयाँ ढंगले कसरी अगाडि बढ्छ ?

यो सम्मेलनपछि देशभरिका थप होमस्टे व्यवसायीहरु एकजुट हुनेछौँ । थप होमस्टेकर्मीहरुलाई आबद्ध गरिनेछ । संगठन विस्तार अभियानका रुपमा देशव्यापी बन्नेछौँ । यो सम्मेलनले एसोसियसनलाई महासंघका रुपमा रुपान्तरण गर्नेछ । महासंघले लिएका नीति तथा नियम निर्माण गरेर अघि कसरी अघि बढ्ने तय हुनेछ । होमस्टेलाई अझ परिस्कृत बनाउन यो सम्मेलनले थप उर्जा दिने कुरामा हामी विश्वस्त छौँ । यसलाई एउटा गतिशिल आन्दोलनको रुपमा अघि बढ्ने योजना रहेको छ ।

अहिले नेपालका होमस्टे सञ्चालकका मुख्य चुनौतीहरु के–के हुन् नी ?

होमस्टे स्थानीयस्तरमा सञ्चालन हुने व्यवसाय हो । यसको स्थापनाको लागि स्थानीय स्रोत साधनको प्रयोग हुने गरेको हुन्छ । त्यहाँको खानपान, रहनसहन, रीतिरिवाज, संस्कार, संस्कृतिको समृष्टिगतरुपमा नै होमस्टे हो । यसमा मलाई लाग्छ यसमा खास्सै ठूला चुनौतीहरु छैन । यसमा मानिसहरुले आफ्नो लगानी, उत्पादन गरेका वस्तुको उपभोग गरी पर्यटकलाई सेवा दिने हो ।

यसमा धेरै ठूलो लगानीसमेत हुँदैन । विकृति तथा विसंगतिका हिसाबले त्यस्ता ठूला चुनौती यसमा हँुदैनन् । मलाई लाग्छ मानिसहरु आफ्नो सजक भएर यो व्यवसाय सञ्चालन गर्छन् । सरकारको तर्फबाट विभिन्न ठाउँमा विभिन्न समयमा सामुदायिक होमस्टेहरुमा अनुगमन हुन सक्छ । यसलाई चुनौतीका रुपमा लिनुभएन । यो संस्कृति संरक्षणको एक पाटो हो ।

सामुदायिक होमस्टेहरुमा सभाहल निर्माण गर्नुपर्ने हुन सक्छ । बरु राज्यका विभिन्न तहहरुले सहयोग गरिरहेका छैनन् । लगानी डुब्छ की भन्ने हुन्छ । नत्र भने ठूला चुनौती रहेका छन् । हामीले होमस्टे बुझाउन अझै बाँकी छ । सम्मेलनमा त्यस्ता कुरासमेत समेट्ने छ ।

नेपालका रहेका होमस्टेहरुमा आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कस्तो छ ?

पहिला एकदम राम्रो थियो । होमस्टेहरुमा विदेशीहरु धेरै आउने गरेका थिए । पछिल्लो दुई वर्ष कोभिड–१९ का कारण सम्पूर्ण क्षेत्र बन्द रहे । यसको असर होमस्टे क्षेत्रमा पनि पुग्यो । यसले पर्यटन व्यवसायमा समेत ठूलो असर गरेको छ ।

अहिले फेरि पर्यटन क्षेत्रले गति लिइरहेको छ । पछिल्लो समय बिस्तारै पर्यटकहरु आउने क्रम बढेको छ । पहिलोभन्दा अहिले संख्यात्मकरुपमा बाह्य पर्यटक आउँदैनन् । अब होमस्टेको मुख्य बजार तथा पर्यटक भनेका आन्तरिक नै हुन् । अन्तरिक पर्यटक व्यापकरुपमा होमस्टेमा आउने गरेका छन् । होमस्टे व्यवसाय गतिशिलताको अवस्थामा पुगिसकेको छ ।

होमस्टे व्यवसाय सञ्चालनको लागि तीन तहका सरकारबाट कत्तिको सहयोग पाउनु भएको छ नी ?

नेपालमा हाल तीन तहका सरकार रहेका छन् । होमस्टे खासगरि स्थानीय सरकारसँग नजिक भए पनि प्रदेश र संघीय सरकारको समेत साथ र सहयोग आवश्यक हुन्छ । १३ सयभन्दा बढी होमस्टेलाई कुनै न कुनै हिसाबमा सरकारको सहयोग आवश्यक हुन्छ ।

राज्यका तहको भूमिका पनि महŒवपूर्ण देख्छुँ, म होमस्टे व्यवसाय विस्तारका लागि । तर होमस्टेप्रतिको बुझाइको कमी भएर हो की के हो राज्यपक्षबाट खास्सै सहयोग पाइएको महसुस गरेको छैन । पर्यटनसँग जोडिएको भएका कारण देशका केही सरकारले भने सहयोग गरिरहेका छन् । आगामी दिनमा होमस्टे र सरकारको सम्बन्ध सुमधुर बनाउनुपर्ने पक्षमा हामी छौँ ।

सोहीअनुसार विभिन्न सरकारसँग समन्वयको प्रयाससमेत भइरहेको छ । हाम्रो व्यवसायसँग नजिक रहेको सरकार भनेको स्थानीय सरकार हो । नागरिकहरुलाई रोजगारी दिने, पर्यटन व्यवसाय अघि बढाउने र त्यहाँका सम्पदाहरुको संरक्षण स्थानीय सरकारको उद्देश्य हो । हाम्रो उद्देश्य र स्थानीय सरकारको उद्देश्य एउटै रहेको छ । त्यसैले होमस्टेसँग सहकार्य गर्नुपर्ने अवस्था छ ।

स्थानीय सरकारले चाह्यो भने छिटोभन्दा छिटो विकास गर्न सक्छ । हामीले होमस्टेबारे बुझाएको ठाउँमा स्थानीय सरकारसँग राम्रो सम्बन्ध र सहकार्य रहेको छ । केही स्थानीय तहसँग भने राम्रो सम्बन्ध हुन सकेको छैन । अहिले हाम्रो उद्देश्य नै पर्यटन प्रवद्र्धन हो । बजारीकरणसमेत हो ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

यो सम्पूर्णका लागि महŒवपूर्ण इभेन्ट हो । मौलिक भोजन मेला हुँदैछ । म सम्पूर्णलाई सहभागिताको लागि आह्वान गर्न चाहन्छुँ । अर्को कुरा, सम्पूर्ण होमस्टे व्यवसायी साथीहरुलाई स्थानीय सरकारको तर्फबाट सहयोग गर्न अनुरोध गर्न चाहन्छुँ ।

हामी होमस्टे महासंघ बनाउँदैछौँ । भोलिका दिनमा यो छाता संगठनको रुपमा विस्तार हुनेछ । देशभरिका होमस्टे अघि बढाउने हाम्रो उद्देश्य रहेको छ । बेरोजगारी न्यूनीकरणमा हाम्रो भूमिका महŒवपूर्ण हुनेछ । सबैलाई होमस्टे अभियानमा जोडिन चाहन्छुँ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १२ गते शनिबार