नेपालगन्ज उपमहानगरपालिकामा एक सय ३७, खजुरा गाउँपालिकामा ७८ जना, कोहलपुर नगरपालिकामा ६८, बैजनाथ गाँउपालिकामा ६२, डुडुवामा ४७, जानकीमा ३३, नरैनापुरमा २८ र राप्तीसोनारीका ४१ जनामा संक्रमण भेटिएको छ ।
बाँकेमा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा क्षयरोगबाट २५ जनाको मृत्यु भइसकेको छ । यो संख्या सरकारी स्वास्थ्य संस्था र सरकारको क्षयरोग निवारण कार्यक्रममा जोडिएका संस्थाहरुबाट औषधिको सेवन गर्दागर्दै मृत्युवरण गरेकाहरुको हो ।
उपचारमा रहेका र औषधि सेवन गरिरहेको भए पनि २५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । गतवर्ष ३७ जनाको क्षयरोगबाट ज्यान गएको थियो । उपचारमा नआएका कतिमा क्षयरोग देखिएको छ ? कतिको मृत्यु भएको छ ? भन्ने एकिन तथ्यांक छैन ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत मानव नेपालीका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा बाँकेमा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा एक सय ३७ जनामा क्षयरोग भेटिएको छ ।
त्यस्तै, खजुरा गाउँपालिकामा ७८ जना, कोहलपुर नगरपालिकामा ६८, बैजनाथ गाँउपालिकामा ६२, डुडुवामा ४७, जानकीमा ३३ र नरैनापुरमा २८ जनामा क्षयरोग भेटिएको छ । राप्तीसोनारीका ४१ जनामा संक्रमण भेटिएको छ । क्षयरोग नियन्त्रणका लागि चाडोभन्दा चाडो पहिचान र उपचार हुनुपर्ने जनस्वास्थ्य अधिकृत नेपालीले बताएका छन् ।
तर, बाँकेमा स्वास्थ्य संस्थाको पहुँच पुगे पनि मानिसहरु सेवा लिन नआइदिने गरेका कारण क्षयरोग नियन्त्रणको अभियानमा चुनौती रहेको उनले बताए ।
अर्काेतिर डट्स विधिको सही पालना नहुँदा पनि बिरामीहरु सञ्चो नहुने गरेको उनको भनाइ छ । बीचमै औषधि छोड्दा वा सही तरिकाले सेवन नगर्दा औषधि प्रतिरोधक क्षयरोगमा परिणत भइरहेको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म बाँकेमा ३५ जनामा औषधि प्रतिरोधक क्षयरोग फेला परेको छ । औषधि प्रतिरोधक क्षयरोग यस्तो अवस्थाको क्षयरोग हो जसमा साविकको औषधिले काम नगरेर कडाखालको औषधि चलाउनुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनले क्षयरोगमुक्त विश्व बनाउने परिकल्पनाअनुसार सन् २०१६ देखि २०३५ सम्ममा द इन्ड टिबी रणनीति सार्वजनिक गरेको छ । यस रणनीतिलाई आत्मसाथ गर्दै राष्ट्रिय क्षयरोग कार्यक्रमले सन् २०५० सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । त्यसका लागि क्षयरोगबाट हुने बिरामी र मृत्युदर घटाउनका लागि नेपाल सरकारले समेत विभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ । तर यो रोगमा चासो नदिँदा, अशिक्षा, लाज, डर, बसाइँसराइलगायतका कारणले नियन्त्रणमा चुनौती देखिएको छ ।
सन् २०१९ को सर्वेक्षणअनुसार नेपालमा वार्षिक ६९ हजारजना क्षयरोगका बिरामी फेला पर्ने गरेका छन् । राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ५ वर्ष यता करिब ३२ हजार क्षयरोग बिरामीको निदान भइ उपचारको दायरामा ल्याउन सकिएको छ । नेपालमा करिब एक लाख १७ हजार क्षयरोगी छन् । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा पाँच हजार आठ सय ५६ जना बिरामी फेला परेका थिए । जसमा बाँकेका आठ सय ३५ बिरामी थिए । क्षयरोगको औषधि देशभरिका स्वास्थ्य संस्थामा निःशुल्क पाइने गरेको छ ।
क्षयरोगको वार्षिक मृत्युदर कोरोनाको भन्दा पनि बढी रहेकोले यसलाई सामान्यरुपमा नलिन स्वास्थ्य कार्यालय बाँकेले सबैमा आग्रह गरेको छ । खोकी लागेमा, खान मन नलाग्ने, तौल घट्दै जाने, सास फेर्न गाह्रो हुने, खकारमा रगत देखिनेलगायतका लक्षण देखिन बित्तिकै स्वास्थ्य संस्थामा उपचारमा जान स्वास्थ्यकर्मीको सल्लाह छ । फोक्सोको क्षयरोग (टिबी) सासमार्फत सर्ने भएकाले सावधानी अपनाउन समेत उनीहरुको आग्रह छ ।
भारतबाट नेपाल फर्किएकाहरुबाट समेत क्षयरोग नेपाल भित्री रहेकाले जमुनाह नाकामा भारतबाट आउनेहरुको स्क्रीनिङ गर्ने गरिएको छ । करिब ९ महिनाको अवधिमा सिमानाकामा चेक जाँच गर्दा आठजनामा क्षयरोग भेटिएको छ ।










प्रतिक्रिया दिनुहोस्