जमुनाहदेखि कोहलपुरसम्मका सडक अतिक्रमण हटाउने सर्वपक्षीय सहमति



सडक नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो र कोहलपुरको बजार क्षेत्रको आठ सय मिटरमा सडकको मध्यबिन्दुदेखि २१ मिटर दायाँबायाँभित्र बनेका संरचना र बाँकी क्षेत्रमा मध्यबिन्दुदेखि २५ मिटरभित्र बनेका संरचना हटाइने छ ।

नेपालगन्ज ।

नेपालगन्जको जमुनाहदेखि कोहलपुरसम्म सुर्खेत रोड (रन्त राजमार्ग) को सडक क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगबार भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । छलफलमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाका प्रतिनिधहरु सहभागी थिए । यसका साथै जिल्लाका सरोकारवाला संघसंस्था र निकायका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रममा एमाले बाँकेका अध्यक्ष एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, कांग्रेस नेतृ एवम् नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, नेकपा माओवादी केन्द्र बाँके इन्चार्ज एवम् प्रदेशसभा सदस्य आइपी खरेल, कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत, जानकी गाउँपालिका उपाध्यक्ष एवम् कार्यबाहक अध्यक्ष भूमिसरा धिताललगायतका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र सडक डिभिजन नेपालगन्जका प्रमुख होमबहादुर एसी सहभागी थिए । सहभागीहरुले सडक क्षेत्रको अतिक्रमण नियमानुसार हटाउनु आवश्यक रहेकोमा एकमत जनाएका थिए ।

No description available.No description available.

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले दिनप्रतिदिन सडक क्षेत्र अतिक्रमण हुन थालेको र यो समस्या अहिले नै समाधान गरिएन भने भविष्यमा सडक क्षेत्रमा हुने अतिक्रणलाई रोक्न नसकिने बताएका थिए ।

तीव्ररुपमा सहरीकरण भइरहेको नेपालगन्ज सडक क्षेत्रमा हुने अतिक्रण रोकिएन भने भविष्यमा नेपालगन्जवासीको लागि घातक हुने बताउँदै प्रजिअ खत्रीले अतिक्रमण हटाउने विषयमा सर्वपक्षीय सहमति माग गरेपछि कसैले पनि विमत्ति जनाएनन् । त्यसपछि कार्यक्रममा सहभागी सबैको नियमानुसार सडक अतिक्रमण हटाउनेमा एकमत भएपछि सोहीअनुसार लिखित निर्णय गरिएको छ ।

अब उक्त निर्णयअनुसार सडक क्षेत्रका संरचना हटाउन सडक डिभिजन र प्रशासनले काम थाल्ने डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले जानकारी दिए । उनका अनुसार अब अतिक्रण नहटाएकाहरुका संरचना प्रशासनले बल प्रयोग भएर पनि हटाउने एसीले बताएका छन् । ‘हामीले पटकपटक अल्टिमेटम दिएकै हौँ । तर हटाइएन ।

अब हामीले नियमानुसार हटाउँछौँ । केही दिनमै अतिक्रमण हटाउन सुरु गरिन्छ,’ एसीले भने । हाललाई सडक नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो र कोहलपुरको बजार क्षेत्रको आठ सय मिटरमा सडकको मध्यबिन्दुदेखि २१ मिटर दायाँबायाँभित्र बनेका संरचना र बाँकी क्षेत्रमा मध्यबिन्दुदेखि २५ मिटरभित्र बनेका संरचना हटाइने एसीले बताएका छन् ।

सुर्खेत रोडलाई ६ लेनको बनाउने भनिए पनि विस्तार गर्ने क्रममा संरचना भत्काउन स्थानीय तयार नभएको र तत्कालीन विवाद साम्य पार्न जमुनाहादेखि कोहलपुरसम्म २२ किलोमिटर सडकको ६ मिलोमिटरबाहेक अरु चार लेन मात्रै निर्माण गरिएको थियो । सुर्खेत रोड क्षेत्रमा सर्वसाधारण, व्यापारीदेखि सरकारी कार्यालयका आठ सय ६ वटा संरचना बनेका तथ्यांक डिभिजनले संकलन गरेको छ ।

सरकारी निकायले नै सडक क्षेत्रमा संरचना निर्माण गरेका छन् । सार्वजनिक सडक ऐन २०३१ ले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँबायाँ मुख्य सडक र त्यसको दुवैतर्फ ६–६ मिटर क्षेत्रभित्रमा कुनै पनि संरचना निर्माण गर्न नदिने गरी निषेध गर्ने एवम् त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ ।

तर दिनप्रतिदिन बढिरहेको सडक अतिक्रण हटाउन लामो समयदेखि प्रयास गरिए पनि सफल हुन सकेको छैन । हाकाहाकी सडक क्षेत्रमै संरचनाहरु निर्माण भएका छन् । अब भने अतिक्रण हट्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताएका छन् । त्यसको प्रक्रिया केही दिनमै सुरु हुने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ९ गते बुधबार