नेपालगन्ज, लुुम्बिनी प्रदेशस्तरीय फुटबल लिगका लागि बाँकेबाट न्यु डाँफे स्पोर्टस् क्लब छनौट भएको छ । बाँके जिल्ला लिग फुटबलको उपाधि जितेसँगै न्यू डाँफे प्रदेश लिगका लागि छनौट भएको हो । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा न्यु डाँफेलेयुनाइटेड युथ क्लबलाई ३–१ ले पराजित गरेर उपाधी जितेको हो ।

न्यु डाँफेको तर्फबाट विमल बस्नेतले २ गोल र प्रेम सुनारले १ गोल गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका बिमलले खेलको २३औं र ५७औं मिनेटमा गोल गरेका थिए । सुनारले ७१औं मिनेटमा गोल गरे भने युनाइटेडका लागि विभुषण केसीले पहिलो हाफको इन्जुरी समयमा (४१औं मिनेट) गोल गरेका थिए ।
विजेता न्यु डाँफेले प्रदेश लिग खेल्न पाउने अवसरसँगै ३१ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र तथा उप–विजेता युनाइटेडले २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजयी खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका मेयर डा. धवल समशेर राणा, उप–मेयर उमा थापामगर, भैरव प्रसाद गण इमाम नगर ब्यारेक राझाँका गणपति प्रमुख सेनाली जनमत कार्की, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहित शाहलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको जिल्ला लिगमा बाँकेका ११ क्लबले सहभागिता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्