नेपालगन्जमा माघ मिलन कार्यक्रम हुँदै



नेपालगन्ज

थारु कल्याणकारिणी सभा नगरसभा नेपालगन्जले माघ मिलन कार्यक्रम आयोजना गर्ने भएको छ । थारु समुदायको महान् पर्व माघको अवसरमा माघ मिलन कार्यक्रम आयोजना गर्न लागिएको नगरसभापति बासमति थारुले बताइन् ।

माघ मिलन कार्यक्रममा माघको शुभकामना अदानप्रदान तथा थारु संस्कृति झल्काउने, भेषभुषासहितको नाचगान गरिने थारुले बताइन् । कार्यक्रममा थारु मौलिक परिकारले अतिथिहरुको स्वागत गरिने पनि उनले बताइन् ।

थारु कल्याणकारिणी सभा नगरसभा नेपालगन्जको मुख्य आयोजना र थारु पत्रकार संघ बाँके, थारु कर्मचारी संघ बाँके, थारु महिलासभा बाँके र थारु महिला विकास केन्द्र बाँकेलगायतको थारु समुदायसँग आबद्ध संघसंस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । माघ महिना नजिकिँदै गर्दा थारु गाउँमा माघको तयारी भइरहेको छ । थारु गाउँमा माघको रमझम बढ्दो छ ।

थारु समुदायको मौलिक पराम्पराको रुपमा रहेको नाचगान खानपान तथा भेषभुषालाई सहर बजारसम्म प्रदर्शन हुनुका साथै पहिचान जोगाउन उक्त कार्यक्रमले टेवा पु¥याउने थारु कल्याणकारिणी सभा बाँकेका सभापति विनोद थारुले बताए । थारु समुदायको सबैभन्दा ठूलो पर्व माघको रौनक बढाउन पनि माघ मिलन कार्यक्रमले सहयोग गर्ने थारुको भनाइ थियो ।

थारु समुदायमा हराउँदै गएको पराम्परागत कलासंस्कृति, भेषभुषाको संरक्षण तथा प्रदर्शनमा सहयोग पुग्ने थारु कर्मचारी संघ बाँकेका अध्याक्ष जितबहादुर थारु बताउँछन् । संस्कार र संस्कृतिको धनी समुदायको रुपमा चिनिने थारु समुदायको आग्रिणी संस्थाको रुपमा रहेको थारु कल्याणकारिणीसभाले प्रत्येक वर्ष माघ मिलन कार्यक्रम गर्दै आएको छ ।

नगरसभापति बासमाति थारुको अध्यक्षता नेपालगन्जमा बसेको बैठकमा जिल्ला सभापति विनोद थारु, थारु कर्मचारी संघ बाँके अध्यक्ष जितबहादुर थारु, थारु महिलासभा बाँके अध्यक्ष ललिता थारु, समाजसेवी राजबहादुर चौधरी, थारु पत्रकार संघ बाँकेका कोषाध्यक्ष जोगेश्वर सिंह थारु, नगर सचिव शम्भु थारु, नगर सदस्यद्धय सिन्धु धर्कात्वा, विष्णु चौधरीलगायतले छलफल गरी माघ मिलन कार्यक्रम आयोजन गर्ने निर्णय गरेका छन् । कार्यक्रम पुसको २८ गते नेपालगन्जमा आयोजन गरिने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २० गते मंगलबार