सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको काँक्रेबिहार मन्दिर परम्परागत शैलीमा पुर्ननिर्माण गरिएको छ । जिल्लाकै प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको काँक्रेबिहारलाई पुरानै शैली र संरचनामा निर्माण गरिएको हो । उक्त मन्दिर शिखर शैलीको रहेको छ । शिखर शैली नेपालको पुरानो शैलीका रुपमा रहेको छ । जुन मल्लकालीन शासनमा प्रचलित थियो । भुइचालोले भत्काएको करिब २ वर्षपछि पुरातत्व विभागले ठेक्का मार्फत पुरानै संरचनामा निर्माण गरेको छ ।
मन्दिर विक्रम सम्बत् १८९० सालको भुइँचालोले भत्काएको थियो । त्यतिबेलादेखि नै सरोकारवालाहरुको उदासिनताका कारण नयाँ संरचना बन्न सकेको थिए । २१.५ मिटर उचाइको मन्दिर ठड्याइएको हो । कर्णाली प्रदेशकै महत्वपूर्ण सांस्कृतिक सम्पदाका रुपमा रहेको मन्दिर १८८ वर्षपछि ठडिएको हो । काँक्रेबिहार महायानी बौद्ध धर्म मान्ने सिंजा साम्राज्यका राजा अशोक मल्लले विक्रम संवत् १३२५ मा बनाएका थिए । सिंजामा विक्रम सम्वत् १३१२ देखि १३३५ सम्म उनको शासन चलेको थियो ।
१८८ वर्षपछि पुरानै संरचनामा निर्माण भएको काँक्रेबिहार मन्दिरले थप पर्यटकको ध्यान खिच्न सक्ने वडा अध्यक्ष मानन्धरको विश्वास छ । पहिले भग्नावशेष अवस्थामा रहेको काँक्रेबिहार मन्दिरबारे किम्बदन्ती सुनेकै आधारमा मानिसहरू घुम्न जाने गरेका थिए।
अब भने जंगलको बीचमा रहेको मन्दिरको माथिल्लो केही भाग वरिपरिबाट पनि देख्न सकिने भएकाले थप पर्यटकको ध्यान खिचेको उनले बताए । पुनर्निर्माण गरिएको मन्दिरमा गजुर राखिएको छ । यो मन्दिर पुर्ननिर्माण सुरू भएको भने १७ वर्ष अघिदेखि हो ।
२०६१ सालदेखि पुनर्निर्माण थालिएकोमा कामले पूर्णता नपाएपछि २०७२ देखि फेरि पुनर्निर्माणको काम सुरू गरिएको थियो । पछि २०७२ सालदेखि ८ करोड १८ लाख रुपैयाँमा ठेक्का लिएर काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्सनले मन्दिर पुनर्निर्माणको काम सुरू गरेको वडा अध्यक्ष मानन्धरले बताए । २०७२ देखि २०७७ असारसम्म पुनर्निर्माणका लागि पटक÷पटक म्याद थप गरिएको थियो । २०७५ सम्म निर्माण गरिसक्नुपर्ने भए पनि केही ढिलाइ भएको मानन्धरले बताए । अब काँक्रेबिहारबाट राजश्व संकलन गर्ने प्रयोजनका लागि छुट्टै परिषद बनाएर जिम्मा दिने तयारी गरिएको वडा अध्यक्ष मानन्धरको भनाइ छ ।
काँक्रेबिहारको टिकट काउन्टरमा काम गर्ने विष्णुबहादुर कार्कीका अनुसार शुक्रबार र शनिबार घुम्न आउने पर्यटकको संख्या एक हजारभन्दा माथि हुन्छ । अन्य दिनहरूमा भने डेढ सयदेखि माथि टिकट बिक्री हुने गरेको उनले बताए । काँक्रेबिहारको जंगल वरिपरि पनि पर्खाल बनिरहेको छ।
प्रतिक्रिया दिनुहोस्