26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

पत्रकारिता, पात्र र प्रवृत्ति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १, २०७८  

    अछुत कोपिला
घरको बर्दालीमाथि सधैं रेडियो हुन्थ्यो । बा’लाई रेडियो सुन्ने लतनै थियो । अझ ठूलो आजावले बजाउँदा गाउँभरि सुनिन्थ्यो । गीत बजेको बेला बा’सँगै बसेर म पनि रेडियो सुन्थ्येँ । पछि रेडियोप्रेमी नै भएँ । बाबाजस्तै मलाई पनि रेडियो नसारुपी लत बस्यो । त्यतिबेला लग्थ्यो, ‘रेडियोमा बोल्ने मान्छे कस्तो हुन्छ होला, यति सानो रेडियोमा बोल्ने मान्छे कसरी अटाउँछ होला । आफू पनि त्यस्तै बन्न पाए ।’ मनमा यस्तै तर्कवितर्कका कुरा खेल्थे ।

खुब रहर थियो मलाई, सञ्चारकर्मी बन्न । रेडियोमा बोल्न पाए कस्तो हुन्छ होला, म कहिले बोल्ने हुँला भन्ने सोचाइ निरन्तर बगिरहे । रेडियोमा बज्ने विभिन्न कार्यक्रममा स्रोताको रुपमा सहभागी भएँ । पत्र लेख्थ्ये, रेडियोमा बज्थ्यो । रेडियोमा नामसहितको पत्र वाचन हुँदा चंगासरि मन उढ्थ्यो । गाउँले परिवेशमा हुर्केको म, जब सुनौलो भविष्य निर्माणका लागि भन्दै सदरमुकाममा गए । त्यहाँका रेडियोमा काम गर्ने दाईदिदीहरु भेटिन्थे । साथीहरु रेडियो मै जान्थ्यौँ । त्यहाँ पुग्दा रेडियोमा बोल्ने रहर झनझन बढ्दै जानथाल्यो । एकातिर सुन्दर भविष्य निर्माणका लागि शिक्षा आर्जन गर्नुपर्ने काम, अर्कातिर रेडियोमा बोल्ने हुटहुटी । यसैगरि चलिरहेको थियो, किशोरावस्था ।

 

 

 

 

 

 

 

 

 

कुरा २०७१ सालतिरको हो, जुम्लाको रेडियो नारी आवाजमा मुक्तकसम्बन्धी कार्यक्रम चलाउने भएँ । त्यो अवसर पाउँदा संसारै जितेको अनुभव थियो । त्यहाँबाट सुरु भयो, ‘मुक्तकिला मन,’ जुन मेरो अनौेपचारिक पत्रकारिताको सुरुवात हो । पछि जुम्ला कै अन्य रेडियो हुँदै मुगु र बाँकेमा पत्रकारिता गर्दासम्म आइपुग्दा समयले निकै कोल्टे फेरिसकेको छ । हिजो अन्जान रेडियोप्रेमी हुँदा मैले अनुमान गरेको पत्रकारिता क्षेत्र र अहिले मैले भोगिरहेको पत्रकारिता घाम र जुन जस्तै छन् । यति भन्छु, ‘आमनागरिकले सोंचे जस्तो छैन पत्रकारिता क्षेत्र ।’ अर्कातिर आम बुझाइ छ, ‘केही काम नपाएर पत्रकारितामा लाग्छन् ।’ खासगरि मोफसलको पत्रकारिता क्षेत्रले यस्तो प्रश्नको सामना गर्नु परिरहेको छ ।
पत्रकारिताको सुरुवाती चरणमा जे जस्ता भोगाइ भोगियो । पत्रकारिता त कथित स्वतन्त्र रहेछ भन्ने कुरा मैले जति कस्ले भोगेको होला । पत्रकारिताका नाममा राजनीति गर्ने संगठनको सदस्यता नलिएका कारण घटुवामा पर्नु परेकादेखि जागिरबाट हात धुनुपर्नेसम्मका यर्थातको साँची मै हुँ । चरित्र हत्या गर्ने झुठा आरोपको सिकार पनि नराम्रोसँग भएको छुँ । समाचार कक्षमा हुने विभेद त महिनामहिनामा हुने गरेका छन् । यो मेरो मात्रै होइन स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्ने पत्रकारले भोगिरहेको तितो यर्थात हो जस्तो लाग्छ । कलम एउटा लडाइँ हो कदापि हार मान्नु हुन्न ।

यतिधेरै असहयोग, तिरस्कार, झुठा लान्छना लाग्दा पनि पत्रकारितामा सक्रिय भइरहेका जस्ता धेरै छन् यहाँ । जो आफूले भोगेको कुराका बारेमा लेख्न र बोल्न सकिरहेका छैनन् । किन भने मिडियामा एउटा वर्ग निकै हाबी छ । पत्रकारितालाई कमाइ खाने भाँडोभन्दा पनि व्यावसायिकता बनाएको एक मामुली पत्रकारको लागि पेसागत मर्यादा ठूलो कुरा हुन्छ, दान र दक्षिणाभन्दा, कसैले दिने उपदानभन्दा ।
पछिल्लो समय बाँकेको कोहलपुर क्षेत्रलाई कर्मथलो बनाएर पत्रकारिता गरेको तीन वर्ष पुग्न थाल्यो । पहाडि क्षेत्रमा जन्मे हुर्केको मेरा लागि तराई क्षेत्र विल्कुल नौलो थियो । जन्मथलो मै स्थानीयदेखि राष्ट्रिय मिडियामा काम गरिसकेको मेरा लागि यहाँका समाचारका विषयमा परिचित हुन समय लागेन् । ठाउँ नयाँ, भूगोल नयाँ परिवेश नयाँ केही असहजता पक्कै भयो । यो बीचमा पत्रकारिताको क्रममा यस्ता धेरै कुरा भागेको छुँ । जुन कुराले पत्रकारिताको कुनै पनि मापदण्डले मेल खाँदैन ।

खासमा यहाँ समाचार कक्षभित्र हुने विभेद र निषेध बहुत् डर लाग्दो छ । मैले पत्रकारिता गरिरहेको जिल्लामा पत्रकारिताबाहेक सबै धन्दा गर्ने कथित पत्रकारदेखि पत्रकारितालाई व्यावसायिकता बनाएर काम गरिरहेका सञ्चारकर्मी÷पत्रकारसमेत देखेको छुँ । सबैलाई एउटैरुपमा हेरिनु किमार्थ सही हुँदैन । व्यावसायिक पत्रकारिता गरिरहेकाहरु प्रति मेरो सम्मान छ । एक पत्रकार हुनुको नाताले पत्रकारितामा निष्पक्ष र स्वतन्त्र हुनुपर्ने माध्यम मेरो छ ।

एक मामुली पत्रकारको रुपमा यहाँको पत्रकारिताप्रति धृणा पैदा हुने कारण पत्रकार भनिएकाहरुको राजनीतिक आवद्धता, समाचारमा त्यसको प्रत्यक्ष प्रभाव, पेसाका नाममा हुने अवाञ्छित गतिविधि र पत्रकारिता नै नबुझेर पत्रकारिता गरिरहनु ।

यहाँ त धेरैले पत्रकारिता गरेर मनग्य आम्दानी गर्ने उद्देश्य बोकेर पत्रकारिता गरिरहेका प्रशस्तै छन् । राजनीति पेसा नभएर सेवा भएजस्तै पत्रकारिता पनि एक बौद्धिक कर्म हो । जसलाई पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताबाहेक अरु सबै कुरा थाहा छ । कथित संगठनको सदस्यता भएकै कारण अस्वभाविक पहुँच गम्भीर विषय हो । मलाई यति भन्न रत्तिभर पनि डर छैन, यहाँ पत्रकार, अर्धपत्रकार र अपत्रकार क्रियाशिल छन् । समाजले उनीहरु सबैलाई जबरजस्ती ‘पत्रकार ज्यु’ भनिदिनु परेको छ । उनीहरुसँग क्रियाशिलता व्यवसायिकता र पत्रकारिताको न्युनतम धर्मको कुरा गर्नु भनेको ‘भालूलाई पुराण सुनाउनु जस्तै हो ।’

कोहलपुरलाई मुख्य कर्मथलो बनाएर पत्रकारिता गरिरहँदा स्वभाविकरुपमा कोहलपुर नगरपालिकाका राम्रा, नराम्रा कामहरुसँग जोडिनु अस्वाभाविक होइन । स्वायत्त सरकारका रुपमा स्थानीय सरकार स्थापनाको चार वर्ष बितिसकेको छ । स्थानीय सरकारले बर्सेनि सञ्चार क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रम र बजेटसमेत विनियोजन गर्ने गर्दछन् । कोहलपुरको हकमा यस्तो शीर्षकमा दलीय आबद्धता प्रमुख रहँदै आएको कुरा लुकेको छैन । अझ मिडिया हाउसका मालिकहरुको प्रभूत्व कायम छ । यहाँ पनि अन्यायमा परेका भनेको श्रमजीवी नै हुन् । तर श्रमजीवी र क्रियाशील पत्रकारबीच एकमत हुन नसक्नु अर्को विकृति हो ।

यहाँ एउटा प्रसंग जोड्न मन लाग्यो

गत असार ७ गते कोहलपुर नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो । नगरपालिकाले यसपटक स्वास्थ्य, पूर्वाधार, कृषि र शिक्षालाई प्राथमिकतामा राखेको छ । आमनागरिकको रुपमा नीति तथा कार्यक्रम महŒवाकांक्षी पनि छ । तर पेसागतरुपमा नीति तथा कार्यक्रमको सञ्चार शीर्षकमा ल्याएका कार्यक्रमबाट म खुसी भएको थिए ।

नीति तथा कार्यक्रमको ९ नम्बरमा समेटिएको सूचना तथा सञ्चार नीतिमा कोहलपुर नगरपालिकाद्वारा बुलेटिनसमेत प्रकाशन गरिने उल्लेख गरिएको छ । जनतासँग जनप्रतिनिधि कार्यक्रम र बुलेटिन प्रकाशन गर्ने बुँदा नीतिको ३ नम्बरमा समावेश भएको हो । यस्तै नीति तथा कार्यक्रमले कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई समेत समेट्ने प्रयास गरेको छ । नीतिमा भनिएको छ, ‘विकासका लागि सञ्चार मूल नारा हुनेछ । यही कुरालाई आत्मसाथ गर्दै नगर क्षेत्रमा रहेका गृहको विकास र प्रर्वद्धन गरिनेछ ।’

सूचना प्रवाह र सञ्चार माध्यमसँग सन्तुलित सम्बन्ध राख्न नसकेको आरोप खेपिरहेको नगरपालिकाले पहिलोपटक समावेशी विज्ञापन प्रणाली लागु गरिने जनाएको छ । यस्तै सञ्चारकर्मीहरुको क्षमता विकासका लागि तालिम गोष्ठी, लेखनवृत्ति तथा अध्ययन छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गरिएको हो । उक्त नीति तथा कार्यक्रममा नगरस्तरीय सञ्चार ग्रामको पूर्वाधार निर्माणमा सहयोग गरिने, वार्षिकरुपमा उत्कृष्ट स्थानीय सञ्चारकर्मीलाई पुरस्कृत गरिने र पत्रकारहरुको सुरक्षाका लागि दुर्घटना बीमा र पेशागत दक्षता अभिवृद्धिका लागि विकास पत्रकारिता लेखनवृत्तिलगायतका अवसरहरु प्रदान गरिने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउँदै आएका छन् ।

नीति तथा कार्र्यक्रममा नै नगरपालिकाले गर्ने मूल्यांकन तथा अनुगमनलगायतका गतिविधिहरुमा पत्रकार महासंघको संस्थागताका लागि आवश्यक नीतिगत व्यवस्था गरिने पनि उल्लेख गरिएको छ । त्यहाँ उल्लेख छ, यसले कोहलपुर नगरपालिकाले आगामी दिनमा नगरपालिकालाई सञ्चारमैत्री बनाउँदै आफूले गरेका कामको प्रचारप्रसार तथा जवाफदेही बन्न खोजेको देखिन्छ । नीति तथा कार्यक्रममाथि टेकेर सो शीर्षकमा बजेट निनियोजन गरिएको होला ।

यसपटक नगरसभामा नगरपालिकाले पाँचजना पत्रकारलाई सम्मान ग¥यो । प्रतिपत्रकार ५२ हजारका दरले ल्यापटपसमेत प्रदान गरिएको छ । एक स्थानीय सरकारले पत्रकारलाई सम्मान गर्नु स्वागतयोग्य कुरा हो । एक श्रमजीवी पत्रकार हुनुका नाताले मलाई खुसी लागेको छ । कम्तिमा कोहलपुर नगरपालिकाले श्रमजीवी पत्रकारलाई सम्मान त दियो ।

स्थानीय सरकारबाट पत्रकारहरुलाई प्रोत्साहन हुन नसकेको अवस्थामा कोहलपुरबाट यसको सुरुवात भएको यसलाई सकारात्मकरुपमा लिनैपर्छ । तर कोहलपुर नगरपालिकाले पत्रकारहरुलाई सम्मान गर्दा कुन धरातल, विधि, विधान र कार्यविधि तथा मापदण्डको आधारमा सम्मान गरेको हो, अहिलेको यक्ष प्रश्न यही हो । यस विषयमा स्वयम् कोहलपुरमा क्रियाशील पत्रकारहरुले समेत असन्तुष्टि देखिएको छ । उनीहरुले कोहलपुरले सम्मानलाई सम्मान गरेको प्रति नगरपालिकाको उच्च प्रशंसा गरेका छन् । उनीहरुको प्रश्न छ, ‘अहिले पत्रकारलाई सम्मान गर्ने उपयुक्त समय होइन ।’

एकातिर असार मसान्तको समय । अर्कातिर आर्थिक वर्षको अन्त्यतिर सबैलाई चित्त बुझाउन बजेटको खोलो बग्ने समय । यसमा यहाँका क्रियाशील भनिएका पत्रकारसमेत अछुतो रहन सकेनन् । पत्रकार महासंघ बाँके शाखाका पूर्व उपाध्यक्षसमेत रहेका प्रदीप वाग्लेले तीन बुँदामा कोहलपुर नगरपालिकालाई सुझाव दिएका थिए । जसबाट आगामी दिनमा कोहलपुर नगरपालिकाले पाठ सिक्न सक्छ ।
१) पुरस्कार र सम्मानका असली हकदार तिनै पात्रहरु थिए भने पनि स्थानीय सरकारको तर्फबाट सम्मान गर्दा, पुरस्कार तथा सम्मान समिति, विधि र मापदण्पड तय गरेको भए हुने थियो ।

उनले नगरपालिकालाई व्यंग्य पनि गरेका छन्,
२) सम्मान कसैले खोस्न र रोक्न आउनेवाला थिएन । त्यसो भएको हँुदा सार्वजनिक कार्यक्रम गरेर कोहलपुर क्षेत्रका सम्मानित नहुने अन्य सञ्चारकर्मीलाई कार्यक्रममा निम्तो दिएको भए राम्रो हुने थियो । मैले पनि बारम्बार उठाइरहेको विषय यही हो, की कोहलपुर नगरपालिकामा हरेक कार्यक्रममा पत्रकारलाई जानकारी हुनुप¥यो । स्थानीय सरकारले गरेका राम्रा कामका बारेमा लेख्न मलाई प्रेस चौतारी, प्रेस संगठन र प्रेस युनियन हुनुपर्छ जस्तो लाग्दैन । पत्रकारको नाम मै समाचार लेख्ने हो । समाचार कक्षमा दलीय आस्था हुनु हुँदैन भन्ने मेरो राय छ ।
३) ३ नम्बर बुँदा उनले सम्मान कार्यक्रमसँगै कोहलपुरमा सञ्चार क्षेत्रको विकास र प्रबद्र्धनका लागि यस आर्थिक वर्षमा कति बजेट खर्च गरियो सार्वजनिक गरिदिएको भए राम्रो हुने थियो भनेका छन् । स्थानीय सरकार यस्ता कुरामा चुक्न हुन्नथ्यो । मेरो चुनौती छ, कोहलपुर नगरपालिकाले खर्च सार्वजनिक गरोस् ।

अर्कातिर कोहलपुर नगरपालिकाले नीति तथा कार्यक्रममा ‘नगरपालिकाले गर्ने मूल्यांकन तथा अनुगमनलगायतका गतिविधिहरुमा पत्रकार महासंघको संस्थागताका लागि आवश्यक नीतिगत व्यवस्था गरिने पनि उल्लेख गरिएको छ ।’

नगरपालिकाले आफैँ व्यवस्था गरेको व्यवस्था लत्यायो । यसमा पनि नगरपालिका चुके कै हो । पाँचजना पत्रकार साथीहरुलाई सम्मान गर्दा पत्रकार महासंघको संस्थागत सहभागिता देखिँदैन । पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगीन शर्मा नगरसभाबाट पत्रकारहरुलाई सम्मान (ल्यापटपसहित) गर्दा पत्रकारहरुको छाता संगठन (नेपाल पत्रकार महासंघ) को संस्थागत उपस्थिति नगरेको बताउँछन् । यसमा नगरपालिकाले ध्यान नदिएकै हो । पुरस्कार पाउनका लागि पत्रकार मित्रहरुले गरेका लविङका बारेमा कुरा नगरौँ होला ।

पुरस्कार माग्ने कुरा होइन नी, पुरस्कार त तपाईंले गरेको कर्मको आधारमा प्रदान गरिने सम्मान हो, हौसला हो । पत्रकारिता माग्ने पेसा होइन । यसलाई त्यसै समाजको ऐना भनिएको होइन । कतै तपाईं पत्रकारिताको नाम अर्कै काम गरिरहनु भएको त छैन । एक पत्रकार जस्तो बौद्धिक वर्गले बुझ्नुपर्छ यस्ता कुरा । अरुले पनि यस्तै गरिरहेका छन्, मैले वा हामीले किन नगर्ने भन्ने कुरा तपाईंलाई व्यक्तिगत लाग्न सक्छ । सोच्नुहोस् तपाईंका कारण सिंगो पत्रकारिता जगतको बदनाम भयो भने त्यसको हिस्सेदार तपाइँ पनि हुनुहुनेछ ।

मेरा प्यारा सहकर्मीहरुलाई मेरो प्रश्न छ, ‘भोलि कुनै दिन तपाईंले कोहलपुर नगरपालिकाको बेथितिका विषयमा नगरपालिकाले नै उपहार दिएको ल्यापटपमा लेख्न तपाईंको कलमले मान्ला ? तपाईंलाई भव्य समारोहका बीच दोसल्लासहित सम्मान गरेका,अविर ग्रहण गराएका र खुसीका साथ सेल्फी खिचेका व्यक्तिका विरुद्धमा तपाईं कसरी समाचार लेख्न सक्नुहोला ? तपाईंलाई आरोप लागिरहने छ मित्र, ‘उहाँको पक्षमा लेख्नुभयो भने चाकडी गरेको बुझ्ने यो समाजले विपक्षमा लेख्न पक्कै पनि तपाईंको मनले मान्दैन ।’ त्यसपछि समाचार मर्नेछ । तपाईं पत्रकार रहनुहुने छैन । अझ दलीय आबद्धताका आधारमा वितरण गरिनु लाजको मर्नु भएन र ?

 

प्रकाशित मितिः बिहिबार, पुस १, २०७८     6:44:23 PM  |