शिवु खनाल । दाङ ।
लमहीमा बाख्रा पालक कृषकलाई व्यवसायिक बनाउन उन्नतजातका माउबाख्रा वितरण गरिएको छ । बाख्रापालक कृषकको आयआर्जनलाई बढाई जीवनयापनमा सहज बनाउने उद्देश्यले माउबाख्रा वितरण गरिएको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ती मगरले जानकारी दिइन् ।
संस्थाले ५० जना महिला कृषकलाई निःशुल्क रुपमा एक सय वटा माउबाख्रा वितरण गरेको हो । बाख्रा प्रवद्र्धन साझेदारी कार्यक्रम अन्तरगत लमही नगरपालिकाको १२ लाख ९६ हजार ६ सय आर्थिक सहयोगमा एकसय वटा माउबाख्रा खरिद गरि व्यवसायीक रूपमा बाख्रापालन गर्दै आएका वडा नम्बर ७ र ८ का किसानहरुलाई पहिचान गरेर निःशुल्क रूपमा बाख्रा वितरण गरिएको थियो । सहकारीले ५० जना महिला किसानलाई प्रति व्यक्ति दुईवटाका दरले निःशुल्क माउबाख्रा वितरण गरेको अध्यक्ष पुनले बताइन् ।
घाँसका बेर्ना वितरण
पशुपालन गर्ने कृषकलाई घाँसको बेर्ना वितरण गरिएको छ । संस्थाले बाख्रापालन गर्ने किसानलाई निःशुल्क रूपका घाँसको बेर्ना वितरण गरेको हो । लमही नगरपालिकाको ३ लाख ४३ हजार ५ सय रूपैयाँ आर्थिक सहयोगमा सहकारीले बाख्रापालन गर्नेहरुलाई बकैनो, सुपरनेपियर, सिडलेस किम्भु, दालचिनिका लगायतका घाँसका बेर्ना वितरण गरेको थियो । घाँसका बेर्ना लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देबका बेल्वासे, पशुसेवा शाखा प्रमुख शिवराज न्यौपाने लगायतले बितरण गरेका थिए ।
खसीबोका बच्नेलाई अनुदान
सहकारी संस्थाले ६४ जना खसिबोका पालन गरे विक्री गर्ने किसानहरुलाई समेत अनुदान दिएको छ । उनीहरुले २ लाख २५ हजार ५० रुपैयाँ अनुदान पाएका हुन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट उनीहरुले अनुदान पाएका थिए । २०७६ कार्तिक १ गते देखि ०७७ असार ३० गतेसम्म सहकारी संस्थामार्फत ६४ जना कृषकले २ लाख २५ हजार ५० रूपैयाँ अनुदान पाएका संस्थाका व्यवस्थापक हरिनारायण चौधरीले जानकारी दिए । किसानले सहकारीमा विक्रि गरेको खसीबोकाको प्रति किलो २५ का दरले विक्रि गरेको मात्राको आधारमा किसानलाई अनुदान वितरण गरिने गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्