29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

जोखिममा राप्ती नदी आसपासका गाउँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८  

कोहलपुर ।

लगातारको वर्षाका कारण राप्ती नदी तटीयका क्षेत्रका विभिन्न गाउँहरु जोखिममा परेका छन् । नदीमा पानीको बहाव बढेपछि बाँकेमा नदी तटीय क्षेत्रका विभिन्न बस्तीहरु जोखिममा पर्ने गर्दछन् । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले लगातारको वर्षाका कारण नदी तटीय क्षेत्रमा जोखिम बढेको जानकारी दिए ।

‘नदीको माथिल्लो क्षेत्रमा भारी वर्षा भइरहेको छ’ उनले भने, ‘राप्ती नदीमा जतीबेला पनि पानीको बहाव बढेर जोखिम हुनसक्छ ।’ बुधवार विहान बाढी मापन केन्द्र कुशुमका अनुसार राप्ती नदीको बहावले जलसतह सतर्कताको विन्दु पाँच मिटर पार गरेको थियो । बिहीवार भने पानीको बहावले सतर्कताको विन्दु पार नगरेको मापन केन्द्रले जनाएको छ । बाँकेको राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका तीन दर्जन बस्ती उच्च जोखिममा पर्ने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत ज्ञवालीले बताए ।

‘राप्ती नदी पूर्व पर्ने मटेहिया, जमुनाह, भगवानपुर, सोनवर्षा, गंगापुरलगायतका दुई सय ६० घरका १ हजार ५ सय भन्दा बढी बासिन्दा उच्च जोखिममा परेका हुन्’ उनले भने, ‘त्यसैगरी लालपुर, धामपुर, रामपुर, गौरीगाउँ, महु, ललै, पटरिया, रिहारडाँडा, चिलहरिया, सुनपसरी, विनौनाजस्ता नदीपूर्वका गाउँहरु समेत नदीको बहाव बढ्दा जोखिममा देखिन्छन् ।’ मौसम विभागले राप्ती नदी लगायतका नदीमा जतीबेला पनि सतर्कताको विन्दु पार हुनसक्ने भएकाले सचेत रहन आग्रह गरिसकेको छ ।

अझै पनी वर्षा जारी भएकाले नदीमा जलसतह बढ्दा जोखिम कायमै रहेको बताइएको छ । ‘केही दिनदेखि वर्षा भइरहेको हुँदा राप्ती नदीमा पानीको सतह बढिरहेको देखिन्छ’ सूचना अधिकारी ज्ञवालीले भने, ‘बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र खटिनका लागि तयारी अवस्थामा रहन खबर गरिसकेको अवस्था छ ।’ दाङ, रोल्पा, प्युठानमा लगातार पानी पर्दा राप्ती नदीमा सतह बढ्ने गर्दछ । राप्तीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि डुबानको खतरा मानिन्छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिए ।

राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिब चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह पाँच मिटर पुग्नेबित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्नेबित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा डुबानमा पर्दै आएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लगातारको वर्षाले जोखिम बढेकाले सोही अनुसार तयारी थालिएको जानकारी दिए । ‘डुवान र कटानको जोखिममा बाँकेका विभिन्न गाउँहरु रहेका छन्’ उनले भने, ‘हामीले सोही अनुसार स्थानीय तहसँग समन्वय गरेर तयारी गरेका छौं ।’ बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । त्यसैगरी, मनसुनबाट करिब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।
सुरक्षाकर्मी अलर्ट
जिल्लामा डुवान र कटान भइहालेमा उद्दारको लागि तीनै निकायका सुरक्षाकर्मीलाई तयारी हालतमा राखिएको छ । उद्दारका लागि आवश्यक पर्ने सामाग्रीहरुसहित सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तालिम प्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएको हो । प्रहरी र सशस्त्र प्रहरीले मातहतका डुवान र कटान हुनसक्ने क्षेत्रमा रहेका युनिटबाट तत्काल टोली परिचालन हुनेगरी जनशक्ति तयारी हालतका राखेका
छन् । आवश्यक परेको खण्डमा पछि उद्दारको लागि जिल्लाबाट समेत आवश्यक सामाग्रीसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना
बनाइएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८     8:44:38 AM  |