16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

उच्च जोखिममा नदी आसपासका बस्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३, २०७८  

कोहलपुर ।

लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती उच्च जोखिममा परेका छन् । लगातारको वर्षाले मंगलवारदेखि तराईका जिल्लामा डुबान सुरु भएको छ भने बाढी र पहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङमा राप्ती नदीमा पानीको सतह बढेपछि टापुमा फसेकाहरुको उद्दार गर्दै सुरक्षाकर्मी ।

प्रहरीका अनुसार वर्षाले गुल्मीको कालीगण्डकी नदी, बढीघाट खोला, रुपन्देहीको तिनाउ नदीमा जलसतह बढेकाले आसपासका बस्ती उच्च जोखिममा छन् । राप्ती नदीमा पानीको सतह बढेपछि बाँके र दाङका दर्जनौँ बस्ती जोखिममा परेको प्रहरीले जनाएको । तीन दिनदेखिको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि बाँकेका दर्जनौँ गाउँ डुबानको उच्च जोखिममा छन् ।

राप्ती नदीको बाढी मापन केन्द्र कुशुमका अनुसार बुधवार विहान नदीको बहावले जलसतह सतर्कताको विन्दु पाँच मिटर पार गरेको थियो । दिउँसोबाट क्रमश सतह घट्दै गएपनि वर्षा अझै केहीदिन हुने भएकाले नदीमा जलसतह बढ्दै जाँदा बाढी गाउँ पस्न सक्ने जोखिम बढेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले बताए । ‘वर्षा भइरहेको हुँदा राप्ती नदीमा पानीको सतह बढिरहेको छ’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र खटिनका लागि तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ ।’

दाङ, रोल्पा, प्युठानमा लगातार पानी पर्दा राप्ती नदीमा सतह बढ्ने गर्दछ । राप्तीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि डुबानको खतरा मानिन्छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिब चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह पाँच मिटर पुग्नेबित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ ।

नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्नेबित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा डुबानमा पर्दै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए । बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी, मनसुनबाट करिब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ । यस्तै बुधवार विहान बुटवलमा तिनाउ नदीले खतराको तह छुन लागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो । नगरप्रमुख शिवराज सुवेदीले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गरे । उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागि खटाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

गुल्मीको बढीगाड नदीमा बाढी आउने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको राससले आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ । वर्षासँगै मंगलवारदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्ग बुधवार दिउँसोदेखि आंशिक रुपमा खुलेको थियो । रुपन्देहीको देवदह–बुटवल सडक खण्डअन्तर्गत चरंगेनजिकै डाइभर्सन गरेको सडक भासिएपछि बुटवल–नारायणगढ सडक बन्द भएको सडक खुलेको प्रहरीले जनाएको छ । यस्तै, अविरल वर्षासँगै खसेको पहिरोका कारण पाल्पा–बुटवल सडकखण्ड पनि अवरुद्ध छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुलनजिकै झन्डै ५० मिटर सडक बगाएको छ । डुम्रेखोलामा पानीको बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी–साधनका चालक र यात्रु भने अलपत्र छन् ।

प्रकाशित मितिः बिहिबार, असार ३, २०७८     8:08:13 AM  |