कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका, ६ फत्तेपुरमा रहेको अस्थायी प्रहरी पोष्टको लागि भवन निर्माण भएको छ । भवनको सोमवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लाहुराम थारु र बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले उद्घाटन गरेका थिए । नवनिर्मित भवनको उद्घाटन पश्चात सोमवार नै प्रहरीलाई भवन हस्तान्तरण गरिएको वडा नम्बर ६ का अध्यक्ष जनक बहादुर थारुले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिकाको ८ लाख र वडा नम्बर ६ को ८ लाख रुपैयाँ गरी १६ लाख तथा बाँकी जनश्रमदान गरी कुन २७ लाख रुपैयाँमा प्रहरीका लागि नयाँ भवन निर्माण भएको हो । २०७० सालमा स्थापना भएको अस्थायी प्रहरी पोष्ट खल्ला टपरीस्थित नदी किनारमा रहेको सामुदायिक भवनमा बस्दै आएको थियो । भवन निर्माणको काम सम्पन्न भएपछि बर्षौदेखी कच्ची भवनमा बस्दै आएका प्रहरीलाई राहत मिलेको छ ।
‘शान्ति सुरक्षाका लागि खटिने प्रहरी नै भवन नहुँदा अभाव झेल्नुपरेको थियो’ भवन उद्घाटन समारोहमा बोल्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले भने, ‘गाउँपालिकाले प्रहरीका लागि भवन बनाएर शान्ति सुरक्षालाई थप मजबुत बनाएको छ ।’ यसले प्रहरीको मनोबल बढेको बताउँदै उनले प्रहरीलाई शान्ति सुरक्षाका लागि खटिनका लागि सहज भएको बताएका थिए ।
सोही कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले अब प्रहरीलाई खुल्ला आकाशमा बस्नुपर्ने बाध्यता हटेको भन्दै यसले समाजमा अमन चयन र शान्ती सुरक्षामा थप बल पुगेको बताए । ‘भवन निर्माणको काम सम्पन्न भएसँगै प्रहरीलाई शान्ति, सुरक्षा प्रदान गर्न थप सहज हुनेछ’ उनले भने । प्रहरी भवन निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगीहरुलाई खादासहित सम्मान समेत गरिएको वडाध्यक्ष थारुले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्