18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मुख्यमन्त्री राउत जसपा प्रदेश २ संसदीय दलको नेता चयन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा प्रदेश २ ले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मधेस भवनमा बसेको सांसदहरूको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेका हो । बहुमतको आधारमा राउतलाई नै दलको नेता चयन गरिएको एक सांसदले बताए ।

आजै प्रदेशसभा सचिवालयमा संसदीय दलको नेता चयन गरेको जानकारी गराउने पनि बताइएको छ । स्रोतका अनुसार दलका उपनेता र प्रमुख सचेतकमा सहमति जुट्न सकेका छैन । सहमति जुटाउन छलफल जारी राखिएको छ ।

दलको नेता चयन भएको विषयमा पूर्वराजपाका अधिकांस सांसद अनभिज्ञ छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहलगायतका पूर्व राजपाबाट उपेन्द्र यादव पक्षमा आएका सांसदहरूलाई मात्र बैठकमा बोलाएको थियो ।

तत्कालीन राजपाका २५ र समाजवादी पार्टीका ३० सांसद प्रदेशसभामा छन् । संसदीय दलका नेता राउतलाई चयन गर्नमा तत्कालीन राजपाका ६ साँसद उपस्थित रहेको दावी गरिएको छ ।

तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपा गठन भएको लामो समयसम्म आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन हुन सकेको थिएन । संसदीय दलको विधान नै नभएकाले ढिलो भएको र आजको बैठकमा नयाँ विधान पारित गरेसँगै दलको नेता चयन गरिएको बताइएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     4:37:36 PM  |