21 June 2021  |   सोमवार, असार ७, २०७८

चेपाङ छात्रावास बनाउँदै नगरपालिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

–नारायण अधिकारी

चितवन, जेठ (रासस) : जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रूपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो ।

नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा नं १० को मझवाङ मावि र वडा नं ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ । नगरपालिकाका इन्जिनीयर राजेश कोइरालाका अनुसार मझवाङ माविमा ५० जनासम्म विद्यार्थी बस्न सक्ने गरी छात्रावास निर्माण थालिएको हो । हरेक तलामा तीनवटा शौचालय र स्नान कक्ष रहने छन् । खाना पकाउने, खाने, अध्ययन गर्ने कोठाहरू समेत छुट्टाछुट्टै हुने उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा एकतले उक्त छात्रावास निर्माण सम्पन्न भएपछि १६ जना विद्यार्थीले आवासीय सुविधा पाउने छन् । तीन तला निर्माण गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । उहाँले भन्नुभयो “तीन तला निर्माण सम्पन्न भएपछि ५० जना विद्यार्थीले सुविधा पाउँछन् ।” पहिलो तलाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । पहिलो तलाका लागि रु.८३ लाख १० हजार ८४१ मा ठेक्का दिइएको हो । असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

त्यस्तै चतुर्मुखी माविमा छात्राहरूका लागि मात्रै छात्रावास बन्दैछ । कोइरालाका अनुसार तीनतले सो भवनको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । भवन सम्पन्न भएपछि १८ जना चेपाङ छात्राले सुविधा पाउनेछन् । सो भवनको हरेक तलामा शौचालय र स्नानकक्ष रहेको छ । रु ४४ लाख २१ हजार ८२० मा भवन ठेक्का दिइएको हो ।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार चतुर्मुखी माविमा यसअघि नै प्रजा छात्रावास रहेको छ । विसं २०५८ मा उक्त छात्रावास बनेको थियो । नयाँ भवन बनेसँगै छात्राहरू त्यसमा बस्नेछन् भने पुरानोमा छात्रहरू बस्नेछन् । पुरानोमा ४० जना अट्ने क्षमता रहेको छ । त्यस भवनको माथि ट्रष्ट लगाएर थप व्यवस्थित गरिंदै छ ।

मजबाङ मावि सिद्धीमा पनि २० जना क्षमताको छात्रावास सञ्चालनमा छ । यहाँ सीमान्तकृत चेपाङ समुदायका बालबालिका बस्ने गर्दछन् । सिद्धीको छात्रावास धेरै पहिलेदेखि सञ्चालनमा छ । सो विद्यालयमा नयाँ भवन बनेसँगै छात्रावास सहज रूपमा सञ्चालन हुनेछ । श्रेष्ठले भन्नुभयो, “चतुर्मुखीको छात्रावासबाट अध्ययन गरेर ४०० भन्दा बढीले प्रवेशिका उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” नगरपालिकामा त्यही अध्ययन गरेका पाँच जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।

नयाँ भवनहरू बनेसँगै थप विद्यार्थीलाई राखेर अध्ययन गराउने उहाँको भनाइ छ । आउँदो दशैंसम्ममा नयाँ भवनहरूमा विद्यार्थी राख्ने योजना नगरपालिकाको छ । यही असारसम्म भवन निर्माण सम्पन्न लक्ष्य लिइएको भए पनि कोभिडका कारण तत्काल विद्यार्थी राख्ने अवस्था छैन । चेपाङ पछाडि परेको समुदाय हो । पहाडी भूभागमा वसोवास गर्ने चेपाङहरूको बाह्रै महिना खाना पुग्ने उब्जनी हुँदैन । कतिपय समयमा गिठाभ्याकुर खाएर जीविकोपार्जन गर्ने गर्दछन् ।
–––
२८– शव व्यवस्थापन तयारी

काभ्रेपलाञ्चोक, २१ जेठ (रासस) ः कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न तयारी थालिएको छ । जिल्लामा मृत्युदर बढेको तथा काठमाडौँको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक शव ब्यवस्थापन गर्न सरोकारवाला निकाय स्थानको व्यवस्थापनमा लागेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जिल्लामा शव ब्यवस्थापन गर्न यसअघि वैकल्पिक तयारीको निर्णयसमेत गरेको छ । “जिल्लामै मृत्युदर बढ्दै गए तथा काठमाडौँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक शब व्यवस्थापनको तयारी अवस्थामा रहन तयारी थालेका हौँ”, केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो ।

पोखरेलका अनुसार जिल्लास्थित अस्पतालमा उपचाररत कोरोनाको बिरामीको मृत्यु भएकाको काभ्रेपलाञ्चोकमै शब व्यवस्थापन गर्नसमेत थप तयारी गरिनेछ । वैकल्पिक तयारीले विभिन्न रिपोर्टमा जनाइएअनुसार ‘तेस्रो भेरियन्ट’को सम्भावना र त्यसको क्षतिमा निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ । सदरमुकाम धुलिखेललगायत आसपासका बनेपा र पनौतीमा हालैमात्र कोरोनाबाट मृत्यु भएकाको केही शव स्थानीय आर्यघाटमै जलाइएको पोखरेलले जानकारी दिनुभयो ।

केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार जेठको पहिलो साता स्थानीय तहबाट पहिचान भई आएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ । “सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएका छन्, शव टाढा लैजान थप जनशक्ति र खर्च लाग्ने भएकाले नजिकको पहिचानमा लागेका छौँ”, पोखरेलले भन्नुभयो ।

कोशीपूर्वस्थित चौंरीदेउराली गाउँपालिकाले गतसाता कोरोनाको दोस्रो लहर शुरु भएयता पहिलोपटक स्थानीय एकको मृत्यु भएपछि स्थानीयस्तरमै शव ब्यवस्थापन गरेको थियो । सदरमुकामभन्दा टाढा रहेका पाँचखाल, मण्डनदेउपुर, चौंरीदेउराली, भुम्लु, खानीखोला र रोशीले मात्रै शव व्यवस्थापन गर्न सकिने स्थान पहिचान गरी पठाएको केन्द्रले जनायो ।

हालसम्म काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न सदरमुकाम धुलिखेलस्थित कालीजङ्ग गणका नेपाली सेनाद्वारा काठमाडौँको पशुपतीस्थित शवदाह गृह लैजाने गरिएको छ ।

यसैबीच, पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोक तथा अन्य जिल्लाको समेत गरी सरदर दैनिक चार नागरिकको मृत्यु हुनेगरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । डेढ सयको हाराहारीमा सङ्क्रमित थपिन थालेका छन् भने उही सङ्ख्यामा सङ्क्रमणमुक्त पनि भइरहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा १५१ मा सङ्क्रमण पुष्टी भएसँगै कोरोना सङ्क्रमणको दोस्रो लहर सुरुभएयता जिल्लामा हाल दुई हजार १८३ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३०३, धुलिखेलमा ३२९, पनौतीमा २२५, पाँचखालमा ३२५, नमोबुद्धमा ८७, मण्डनदेउपुरमा १८० तथा रोशी गाउँपालिकामा १५५, चौंरीदेउरालीमा ४३, तेमालमा १०३, भुम्लु १९९, खानीखोलामा ३८, बेथानचोकमा ११५ र महाभारत गाउँपालिकामा ८१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । कुल सङ्क्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ३० सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
–––

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     4:06:13 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *