अस्पतालमा छुट्टै प्रहरी दस्ता



कोहलपुर ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपाल प्रहरीको छुट्टै युनिट परिचालन गरिएको छ । २४ घण्टा अस्पतालमा नै रहनेगरि शनिबारदेखि एक जना प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको प्रहरी टोली खटाइएको हो । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि आक्रमणका घटना बढ्न थालेपछि नेपालमा नै पहिलोपटक ठूलो संख्यामा प्रहरीको दस्ता खटाइएको छ ।

खासगरी अस्पतालमा रहेको कोभिड वार्डमा बिरामीका आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पछिल्लो समय आक्रमण गरिरहेका छन् । पहिले भेरी अस्पतालमा प्रहरी हवल्दारको कमाण्डमा ३ जना प्रहरी खटिएका थिए । त्यसपछि बाँके प्रहरीले असईको नेतृत्वमा ७ जना प्रहरी खटाएको थियो । उक्त टोलीले समेत अस्पतालको सुरक्षा गर्न नसकेको भन्दै शनिबार प्रहरी निरीक्षकको कमाण्डमा २५ प्रहरी अस्पतालमा राखिएको हो ।

सोही कुरालाई मध्यनजर गरेर प्रहरी निरीक्षकको कमाण्डमा थप २५ जना प्रहरी अस्पताल परिसरमा नै अस्थायी रुपमा बस्नेगरि खटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानाले जानकारी दिए ।

‘अस्पतालको सुरक्षाका लागि पहिले हवल्दारको कमान्डमा ३ जना प्रहरी खटाइएको थियो, पछि संख्या बढाएर ७ पु¥याइयो तर, पछिल्लो समयमा चिकित्सक लगायत स्वास्थ्यकर्मीमाथि आक्रमण हुने घटना बढ्न थालेपछि संख्या बढाएर २५ बनाएका छौं’ उनले भने, ‘त्यहाँको अवस्था सामान्य नभएसम्मलाई यो टोली त्यही रहिरहन्छ ।’

जिल्ला प्रहरी कार्यालय बाँके दंगा र गणबाट थप प्रहरी मद्दत मागेर अस्पतालमा सुरक्षाको लागि खटाइएको जनाएको छ । ‘केही जनशक्ति गण र दंगाबाट मागेर जिल्लाबाट समेत थपेर टोली पठाइएको हो’ प्रहरी उपरीक्षक रानाले भने, ‘उक्त टोलीले अस्पतालको भौतिक मात्र नभएर स्वास्थ्यकर्मी, बिरामी तथा कुरुवाहरुको समेत सुरक्षा प्रदान गर्नेछ ।’

थप प्रहरीहरु आवश्यक सामग्रीसहित भेरी अस्पतालमा शनिबार पुगिसकेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २५ जना प्रहरीले तल ग्राउण्डदेखि आइसीयू बेडसम्मको सुरक्षा गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले शुक्रबार रातीदेखि नै प्रहरी निरीक्षकको कमाण्डमा भेरी प्रहरी परिचालन गर्न सुरु गरिएको जानकारी दिए । ‘फरक फरक प्रहरी निरीषकले भेरीको सुरक्षाको कमाण्ड गर्नुहुनेछ’ उनले भने, ‘पालो अनुसार फरक फरक प्रहरी निरीक्षक खटाइने गरेको छ ।’

भेरी अस्पतालमा प्रहरी बाहेक २१ जना अस्पताल प्रशासनले खटाएका नीजि सुरक्षा गार्डहरु समेत कार्यरत रहेका छन् । बिहीबार राती उपचारको क्रममा दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्ली रावतको मृत्यु भएपछि उनका आफन्तहरुले चिकित्सक र नर्सहरुलाई आक्रमण गरेका थिए । एमालेका नेता समेत रहेका मृतकका भाई मानबहादुरको नेतृत्वको टोलीले डाक्टर र नर्सहरुलाई लखेटी लखेटी घाँटी थिचेपछि अस्पतालको सुरक्षाप्रति औंला उठाइएको थियो ।

आफन्तको आक्रमणबाट ज्यान जोगाउन डाक्टर नर्सहरुले अस्पतालको एक तलामाथिबाट हाम फालेका थिए । अहिले भेरीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित विरामीहरु उपचारका लागि धेरै आउने गरेका छन् । संक्रमितको उपचारकै क्रममा मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि मृतकका आफन्तहरुले आक्रमण गर्ने गरेका थिए ।

लगातार चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण हुन थालेपछि बाँके प्रहरीले सुरक्षाको लागि भन्दै २५ प्रहरी परिचालन गरेको हो । अहिले वार्डमा भिडभाड हुन नदिनको लागि अस्पताल प्रशासनले विरामीको लागि पास व्यवस्था गरेको छ । अबको नियम अनुसार एकजना विरामीको एकजना कुरुवामात्रै वार्डमा जान पाउँनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १६ गते आइतबार