18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

साउन १ देखि ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।

उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१/५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति सुरु गरेका थिए । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा सय रुपैयाँ थियो ।

पछिल्ला वर्षहरुमा बृद्धभत्ता चुनावी गोटी बनेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गर्दर्ै आएका थिए ।

२०७४ को आम चुनाव अगाडि वाम गठबन्धनले ५ हजार पुर्‍याउने उल्लेख गरेको थियो भने नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ मा झार्ने प्रस्ताव गरेको थियो । तर उमेर घटाउने निर्णय कार्यान्वयनमा आएन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुका दुई वर्ष बृृद्धभत्ता बढाएन । तर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बृद्धभत्ता बढ्ने घोषणा गरेपछि तत्कालीन अर्थमन्त्री युवराज खचिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा वृद्धभत्ता एक हजार बढाएर ३ हजार पुर्‍याएका थिए । यो वर्षपनि त्यही भएको छ ।

कहिले कहिले बढ्यो भत्ता ?

तत्कालीन अर्थमन्त्री अधिकारीले २०५१/५२ को बजेटमा सुरु गर्दा मासिक बृद्धभत्ता सय रुपैयाँ थियो । २०६० सालमा अधिकारीले वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्‍याए ।

२०६५ सालमा बाबुराम भट्टराईले यस्तो भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याएका थिए । २०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा. रामशरण महतले एक हजार पुर्‍याएका थिए । अर्को वर्ष २०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्‍याए । उक्त रकमलाई २०७६ सालमा डा. युवराज खतिवडाले मासिक तीन हजार पुर्‍याएका थिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     5:56:02 PM  |