20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

संसारभर किन बढिरहेको छ ‘बिटिएस’ को लोकप्रियता ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

दक्षिण कोरियाली म्युजिक ब्यान्ड ‘बाङतान सोन्योन्दान (बिटिएस)’ ले संगीत क्षेत्रमा लगालग इतिहास बनाउदै छ। ब्यान्डले विभिन्न समय आयोजित विभिन्न म्युजिक अवार्डहरूबाट सम्मान पाइरहेको छ भने ब्यान्डको चर्चा पनि चुलिँदो छ।

गत आइतबार सम्पन्न बिलबोर्ड म्युजिक अवार्ड-२०२१ मा बिटिएस ब्यान्डलाई तीन विधाका अवार्डबाट सम्मानित गरिएको छ। बिलबोर्ड म्युजिकले बिटिएसलाई ‘टप डुओ/ग्रुप’, ‘टप सङ सेल्स आर्टिस्ट’ र ‘टप सोसल आर्टिस्ट’ अवार्डबाट सम्मानित गरेको हो।

ब्यान्डले ‘टप सङ सेल्स आर्टिस्ट’ अवार्ड पहिलो पटक हात पारेको हो। तर यसले ‘टप डुओ/ग्रुप’ अवार्ड दोस्रो पटक थापेको छ। त्यस्तै ‘टप सोसल आर्टिस्ट’ अवार्ड भने ब्यान्डले पाँचौं पटक पाएको हो।

ब्यान्डले यसअघि म्युजिक भिडिओ ‘डाइनामाइट’ का लागि ‘टप सेलिङ सङ’ अवार्ड पनि पाएको छ। अंग्रेजी शब्दमा रहेको यो गीतको भिडिओ गत अगस्ट २१ मा प्रिमियर गरिएको थियो। डाइनामाइटले सार्वजनिक भएको चौबीस घन्टामै दस करोड एघार लाख बढी भ्युज कमाएको थियो। योसँगै डाइनामाइटले एकै दिनमा सबभन्दा बढी भ्युज कमाउने युट्युब भिडिओ बनेर त्यसबेला रेकर्ड कायम गरेको थियो।

हालै ब्यान्डले नयाँ म्युजिक भिडिओ ‘बटर’ सार्वजनिक गरेको छ। यो भिडिओ सार्वजनिक भएको १३ मिनेटमै एक करोड भ्युज पुर्‍याएको थियो। बटरले चौबीस घन्टामा दस करोड १३ लाख भ्युज पुर्‍याएसँगै बिटिएसले पहिलेको आफ्नै म्युजिक भिडिओ डाइनामाइटको रेकर्ड तोडेको छ।

बटरको भ्युजलाई लिएर प्रख्यात ब्राजिलियन लेखक पाउलो कोएलोले बधाइ दिँदै ट्विट समेत गरेका थिए। ट्विटमा भनेका थिए, ‘बधाइ छ बिटिएस, चौबीस घन्टामा दस करोडभन्दा बढी भ्युज पाएकोमा।’

सोही ट्विटका कारण केही समयमै आफूले थुप्रै फलोअर्स गुमाउन परेको लेखक पाउलोले उल्लेख गर्दै अर्को ट्विट गरेका थिए। जसमा भनेका छन्, ‘बिटिएसलाई बधाइ दिँदै ट्विट गरेको कारण मैले थुप्रै फलोअर्स गुमाउँदै छु। तर कसैको प्रशंसा गर्दा भुक्तान गर्नुपर्ने मूल्य हो यो। यी केटाहरूले निकै कठिनाइ र पूर्वाग्रहहरू पार गरेका छन्। उनीहरूले जितेका छन्।’

पाउलोको ट्विटरमा एक करोड ५४ लाख फलोअर्स छन्।

बिटिएसको आधिकारिक ट्विटरमा तीन करोड ४६ लाख फलोअर्स छन्। यसरी करोडौं फलोअर्स कमाएर लगालग विभिन्न श्रेणीमार्फत आफूलाई चिनाउँदै आएको बिटिएस आखिर को हुन्? कसरी एकाएक चर्चामा आए?

सन् २०१० मा गठित बिटिएसले सन् २०१३ मा आफ्नो पहिलो म्युजिक भिडिओ ‘टु कुल फर स्कुल’ सार्वजनिक गरेसँगै संगीत क्षेत्रमा औपचारिक रूपले प्रवेश गरेको हो। उनीहरू दक्षिण कोरियाको सिओलबाट आफ्नो संगीत यात्रालाई निरन्तरता दिइरहेका छन्।

यो ब्यान्डले प्रायः हिप-हप वा के-पप संगीतलाई केन्द्रमा राख्छ भने गीतमा व्यक्तिगत भाव, मानसिक स्वास्थ, किशोरावस्था र युवाहरूका समस्या, प्रेम, सामाजिक विषय तथा व्यक्तित्ववादलाई जोड दिने गरेको पाइन्छ।

अंग्रेजीमा ‘बुलेट प्रुफ स्काउट ब्वाइ स्काउट्स’ अर्थ दिने बिटिएस ब्यान्डमा सात युवाहरू सदस्य छन्। जिन, सुगा, जङ हो-सक, किम नाम-जुन, जिमिन, किम ते-ह्यङ र जङ्गो। यी सात सदस्य गीतसँगै एकैपटक म्युजिक भिडिओमा देखा पर्छन्। उनीहरूको लुक्स र भिडिओमा प्रस्तुतिका कारण चर्चामा आएका हुन्।

बिटिएसले संसारको विभिन्न ठाउँमा पुगेर आफ्नो प्रस्तुति दिने गरेको छ। ब्यान्डको एल्बम र गीतहरूले युवा पुस्तालाई निकै लोभ्याएको छ। बिटिएसका फ्यानहरू आफूलाई ‘आर्मी’ का रूपमा चिनाउने गर्छन्। बेलाबेला सामाजिक संजालमा ‘ह्यासट्याग आर्मी’ भन्ने ट्रेन्ड नै चलिरहेको हुन्छ।

प्रायः के-पप गीतहरू माया र सम्बन्धबारे हुने गर्छ। तर बिटिएस ब्यान्डले समाजको यस्तो विषयबारे गीत बनाउँछ जुन प्रायः अरू ब्यान्डले रूचाउँदैनन् तर दर्शकहरूलाई भने मन परिरहेको हुन्छ। यो ब्यान्डले बुलिङ, एलिटिजम (कसैलाई होच्याउने व्यवहार) र मानसिक स्वास्थसम्बन्धी गीत बनाउँछ जसले गर्दा पनि यो ब्यान्डको गीत धेरैले मन पराउन थालेको बुझिन्छ।

बिटिएसको गीतहरूको शब्द मात्र होइन, यसको संगीत पनि निकै ‘क्याची’ हुन्छ। बिटिएसको एउटा म्युजिक भिडिओमा गीत, संगीत, र्‍यापदेखि नृत्य प्रस्तुतिसम्म हुन्छ।

ब्यान्डले पहिलो म्युजिक भिडिओपछि ‘वेक अप’, ‘स्कुल लभ अफेयर’, ‘डार्क एन्ड वाइल्ड’, ‘फेस योरसेल्फ’, ‘विङ्ग्स’, ‘लभ योरसेल्फः टियर’, ‘म्याप अफ द सोलः ७’ जस्ता एल्बम सार्वजनिक गरेको छ। त्यस्तै विभिन्न समय ब्यान्डले युट्युबमार्फत थुप्रै सिरिजहरू पनि सार्वजनिक गरेको छ। यसरी ब्यान्डले संसारको विभिन्न देशहरूमा आफूलाई स्थापित गर्न थालेको हो।

नेपालमा पनि बिटिएसको ‘क्रेज’ बढिरहेको छ। बिटिएससँगै यतिबेला के-पप ब्यान्ड ब्ल्याकपिंक, सुपर जुनिअर, सिनीलगायत ब्यान्ड नेपालमा लोकप्रिय बन्दै छन्। नेपालका के-पप फ्यानहरूले फेसबुक र इन्स्टाग्रामहरूमा पेज बनाएर समेत आफ्नो समर्थन गरिरहेका छन्।

गीत-संगीतको क्षेत्रमा मात्र होइन, नेपालमा कोरियन खाना र पहिरन पनि फस्टाउँदै गएको छ। कोरियन रेस्टुरेन्टका साथै थुप्रै युवा पुस्ताहरू कोरियन फेसनलाई पछ्याइरहेका छन्।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     1:22:00 PM  |