29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

शिक्षण पेसा छोडेर कृषिमा रमाएका क्षितिज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

दाङ ।

नेपालमा रोजगारी पाउन मुस्किल रहेको भन्दै युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ भने स्वदेशमै रहेकामध्ये धेरैले कृषिबाहेक अन्य व्यवसाय गर्ने गरेका छन् । तर केही यस्ता युवा पनि छन् जसले १२ वर्षदेखिको शिक्षण पेसा छोडेर स्वदेशमै बसेर कृषिमा लाखौँ रुपैयाँ लगानी गरेर कृषि पेसामा रमाइरहेका छन् ।

दाङको घोराही उपमहानगरपालिका ९ अस्पाराका ३८ वर्षीय युवा अमर क्षितिज भण्डारी १२ वर्षदेखिको शिक्षण र पत्रकारिता पेसा छोडेर अहिले व्यावसायिक कृषि पेसामा लागेर खेतबारीमै औँला खियाउँदै छन् । कर्मभूमि तरकारी तथा पशुपक्षी कृषि फाम नामक फार्म दर्ता गरेर कृषि पेसा सञ्चालनमा ल्याएका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको कहरका कारण देशमा लकडाउन भएपछि उनले अहिले तरकारी खेती सुरु गरेका छन् र आफू तरकारी खेतीमा लाग्दा र आफूले गरेको खेतीबाट सफलता मिल्दा निकै सन्तुष्ट मिलेको बताउँछन् । १२ कठ्ठा आफ्नै जग्गा र १२ कठ्ठा जग्गा भाडामा लिएर उनले तरकारी खेती गरेका छन् ।

खेती सुरु गरेको झन्डै दुई महिनाको अन्तरालमा अहिले धेरै तरकारी बेच्नका लागि तयार भएका छन । काँक्रो, भिन्डी, बोडी, सिमी, करेला, लौका, फर्सी, भान्टा, मकै लगायतका खेती रहेकोमा अहिले काँक्रो, लौका र करेला बेच्नका लागि तयार छन् । यीमध्ये काँक्रो सात क्विन्टल बिक्रीसमेत भइसकेको छ । उनले सुरुवाती चरणमै राम्रो आम्दानी भएको छ ।

पाँच लाख रुपैयाँको लगानीमा खेती सुरु गरेका भण्डारीले भविष्यमा २५ लाख रुपैयाँसम्म लगानी पुर्‍याउने सोचमा छन् । ‘केही भौतिक संरचना बनाउन बाँकी छ भने केही कृषि औजार खरिद गर्न पनि बाँकी छन ।

तरकारी मात्रै नभएर पशुपालन पनि गर्ने तयारी छ’, किसान भण्डारीले भने । विशेषगरी कृषि पेसा अँगालेका किसानका लागि पालिका सरकारले विशेष प्याकेज ल्याउने र बजारीकरणको नयाँ नीतिका साथ काम गर्नुपर्ने उनको माग छ ।

साथै किसानलाई विभिन्न राहत तथा प्रोत्साहन स्वरूप रकम उपलब्ध गराएमा पनि कृषि पेसालाई निरन्तरता दिन सकिने भण्डारीको अनुरोध छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     12:12:37 PM  |