वीरेन्द्रनगर ।
लेकबेंसी नगरपालिका–१० का चूडामणि ढकालको फार्ममा ५० वटा भैंसी छन् । तीमध्ये २७ वटा भैंसी दुहुना छन् । निषेधाज्ञा हुनुअघि वीरेन्द्रनगरका विभिन्न डेरीमा दैनिक ३ सय लिटर दूध बिक्री गर्ने उनले अहिले मुस्किलले एक सय लिटर मात्रै दूध बेचिरहेका छन् ।
कोरोना महामारीपछि सुर्खेतमा निषेधाज्ञाका कारण बजार क्षेत्रमा बसोबास गर्नेहरू गाउँ फर्किंदा र होटल तथा रेस्टुरेन्ट बन्द हुँदा दूध बिक्री गर्न समस्या भएको हो । ढकालले कोरोनाका कारण उपभोक्ताहरू पनि दूध

किन्न डराएको बताए ।
‘पसलमा जान नै मान्छेहरू डराउँछन्,’ उनले भने, ‘हामीले धेरै लैजान खो
जे पनि दूध बिक्री नहुने भनेर डेरीबाटै थोरै ल्याउन भन्छन् ।’ उनले निषेधाज्ञाका कारण भैंसीका लागि दाना पनि नपाइने गरेको गुनासो गरे ।
वीरेन्द्रनगर–५ का डेरी सञ्चालक कृष्ण चालिसेले निषेधाज्ञामा दूध बिक्री गर्न पहिलेभन्दा समस्या भएको बताए । ‘अहिले सबै होटलहरू पनि बन्द छन्,’ उनले भने, ‘कोरोनाको डरले बजारबाट मान्छेहरू गाउँ गए, यहाँ भएकैले पनि भाइरसको डरले दूध नकिन्ने अवस्था आएको छ ।’ दूध बिक्री नभएपछि आफूहरूले किसानलाई दूध कम ल्याउन भनेको डेरी सञ्चालकहरूको भनाइ छ ।
केही किसानले दूध बिक्री गर्न समस्या भएको बताए पनि वीरेन्द्रनगर–१४ दार्नाकोटका किसान तीर्थ पराजुलीले भने मागअनुसारको दूध पुर्याउन नसकिएको बताएका छन् । खडेरीको समय भएकाले गाई–भैंसीलाई आवश्यक पर्ने पर्याप्त घाँस नहुँदा दूध कम दिने गरेको उनको भनाइ छ ।
‘अहिले निषेधाज्ञाले गर्दा पनि बाहिरबाट पौष्टिक आहारा ल्याउन सकिएको छैन,’ उनले भने, ‘पहिला साढे ३ सय लिटरसम्म दैनिक दूध लैजाने गरेकोमा अहिले डेढ सय लिटर दैनिक दूध डेरीमा लैजान्छु ।’ केही किसानले बिक्री नभएको भने पनि आफूले भने वीरेन्द्रनगरस्थित ७ वटा डेरीमा दूध पुर्याउने गरेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्