29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बाघसँग लडेर बाँचे लालबहादुर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

बर्दिया ।

जिल्लामा मधुवनमा पाटेबाघसँग लडेर एक वृद्धले आफ्नो ज्यान जोगाएका छन् । मुधवन नगरपालिका ईन्द्रपुरका ७४ वर्षीय लाल बहादुर थारुले बुधबार दिउँसो पाटेबाघसँग लडेर आफ्नो ज्यान जोगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थारुलाई बुधबार दिउँसो नगरपालिकाको वडा नम्बर १ मा रहेको औराही सामुदायिक बनमा बाख्रा चराउन गएको बेला बाघले आक्रमण गरेको थियो ।

बेलुका ४ः५० बजेको समयमा औराही सामुदायिक वनमा बाख्रा चराइरहेको बेला पाटे बाघले आक्रमण गरेपछि थारुले समेत प्रतिकार गरेका थिए ।

बाघले आक्रमण गरेपछि थारुले आफुसँग रहेको खुर्पाले बाघलाई प्रहार गरेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

‘बाघले आक्रमण गरेपछि थारुले बच्नको लागि खुर्पाले बाघलाई हानेको देखिन्छ’ उनले भने, ‘त्यसपछि बाघ चोटका कारण जंगलतीर गयो ।’ प्रहरी नायब उपरीक्षक शाही अनुसार बाघले थारुको अनुहार चिथोरेको छ भने दाहिने खुट्टाको साप्रामा समेत घाउ भएको छ ।

घाइते थारुको बर्दिया अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     1:14:32 PM  |