29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

स्वास्थ्यकर्मी हुनुमा हर्ष कि बिस्मात र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

उत्तम देवकोटा :
जब जब देशमा विपद आउने गर्छ । तब सबैको मुखमा झुण्डिरहने शव्द हो ‘स्वास्थ्यकर्मी’ । स्वास्थ्यकर्मी संकटका भरोसा हुन । बिरामीको प्राण हुन । तर संकटमा सबैको मनमा बस्ने स्वास्थ्यकर्मी सहज अवस्थामा निकै अपहेलित देखिन्छन । स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशिल कार्यमा लाग्ने स्वास्थ्यकर्मी आफै असुरक्षित र अपमानित हुनु परेको तथ्य घाम झै छर्लङ्ग छ ।


यो कुनै नयाँ कुरा होइन । स्वास्थ्यकर्मीले अपमान खेप्नु परेको अहिले मात्र पनि होइन् । स्वास्थ्यकर्मी शव्द निकै मिठासपुर्ण छ । हेर्दा जो सुकैले अत्यधिक महत्व दिएको जस्तो, महत्वका साथ हेरेको जस्तो देखिने तर व्यवहारमा स्वास्थ्यकर्मी उत्पिडनमा बस्नु पर्ने अवस्था ज्युँकात्युँ छ ।
नेपालमा विगत देखि नै विभिन्न महामारी फैलिए । महामारीमा स्वास्थ्यकर्मी नै असल सारथी बने । भिरपाखा,कुनाकन्दरा, दुर्गम, सुगम सबै क्षेत्रमा परिचालित भए । एक स्वास्थ्यकर्मीले निभाउनु पर्ने भुमिका दत्तचित्त भएर निर्वाह गरे । अहिले पनि महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथाम,नियन्त्रण र उपचारमा पनि स्वास्थ्यकर्मी अग्रपंतीमा छन ।

यो समस्या सिंगो राज्यले नै सामाना गरिरहनु परिरहेको छ । कोभिड १९ रोकथामका लागि अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मीलाई पटक पटक सरकारले जोखिम भत्ता दिने, उत्साह र उत्पे्ररणा जगाउनको लागि प्रोत्साहनमुलक प्याकेज ल्याउने घोषणा गरिरह्यो । न स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए नत कुनै प्रोत्साहनका काम भए । कोरोनाको दोस्रो लहर नआउँदा सम्म स्वास्थ्यकर्मी अपमानित भएर बसे । न स्वास्थ्यकर्मीको खोजी हुन्थ्यो । नत स्वास्थ्यकर्मीको समस्या संवोधनका लागि सरकार जिम्मेवार नै हुने गरेका थिए ।
हरेक महामारीमा स्वास्थ्यकर्मीको मनोबल बढाउनको लागि निर्णय गर्ने तर कार्यन्वयन नगर्ने परिपार्टीले स्वास्थ्यकमीको मन खिन्न हुने गरेको छ । एक हिसावले स्वास्थ्यकर्मी हुनुमा गर्व लाग्छ ।

तर राज्यको स्वास्थ्य क्षेत्रमा हेर्ने दृष्टिकोण देख्दा असाध्यैँ दया लाग्छ । राज्यले कर्मचारी समायोजन विधेयक ल्याएर समायोजन गर्दा नै स्वास्थ्य सेवालाई उपेक्षित गरियो । प्रशासन सेवाका कर्मचारीहरुलाई एक तह बढुवा दिएर समायोजना गरियो । एउटै मापदण्ड, एउटै प्रर्णाली एउटै कानुनी प्रक्रिया पुरा गरेर एउटै लोकसेवाबाट पास गरेका स्वास्थ्य सेवाका कर्मचारीलाई ललिपप स्वरुप दूई ग्रेड दिएर समायोजन गरियो । सरकारको यस्तो नांगो ताण्डप देख्दा राज्यको मुखमा मात्र स्वास्थ्य सेवा हो जस्तो लाग्छ । व्यवहारमा स्वास्थ्य सेवा पर्दैन । न त व्यवहारमा स्वास्थ्य सेवा पर्छ, नत स्वास्थ्यकर्मी नै ।

े दिनदुखिको अग्रपंतीमा रहेका काम सेवा गर्न पाउँदा स्वास्थ्यकर्मी हुनुको गर्ववोध हुन्छ । जब जनताका असिमित समस्या र निश्चित स्रोतका कारण समाधान गर्न सकिदैन तब स्वास्थ्यकर्मी हुनुको पिडा महसुस हुन्छ । बिरामीलाई दुईचार शब्दले स्वास्थ्य परामर्श दिएर घर पठाउनु पर्ने अवस्था हुदाँ विस्मात हुनेगर्छ ।

भनिन्छ बृक्ष राम्रो भए त फल राम्रो फल्छ । सायद संघीय सरकारको नियत र व्यवहारलाई अभिलेख गरेर होला । स्थानीय सरकारले पनि स्वास्थ्यकर्मीको मुल्य एउटा भ्रमण आदेश संग तुलना गरेको पाइन्छ । यो एक जिम्मेवार स्वास्थ्यकर्मीका लागि स्वीकार्य हुनेछैन । यतिबेला स्वास्थ्यकर्मीलाई भ्रमण आदेश नदिएपनि हुन्छ । तर आत्म सम्मान चाहिन्छ । संकट समाधानका लागि स्वास्थ्यकर्मीको लगाव, मेहनत र परिश्रमको उचित सम्मान हुनुपर्छ ।

अनिमात्र बिरामीले स्वास्थ्यकर्मीबाट सेवा पाएको अनुभुति गर्नेछन । स्वास्थ्यकर्मीले बिरामीको उपचार गरेकोमा सन्तुष्टि प्राप्त गर्नेछन । तसर्थ स्वास्थ्यकर्मीलाई सम्मान रुपमा काम गर्ने अवसर प्रदान गरौँ । कोभिड १९ बाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ । स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गरि कोरोनामुक्त जिल्ला बनाउने कार्यक्रम अग्रसर हुन एक स्वास्थ्यकर्मीको हैसियतले अपिल गर्दछु ।

लेखक  : उत्तम देवकोटा तिला गाउँपालिका, जुम्लाका अहेब हुन ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     5:05:16 PM  |