18 January 2022  |   मङ्लबार, माघ ४, २०७८

राति घर भत्किँदा प्यूठानमा एकै परिवारका तीनजनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ९, २०७८  

दाङ ।

प्यूठानमा घर भत्किँदा च्यापिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा शनिबार राति घर भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय वोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र तीन वर्षीय छोरा शिशिर मल्ल रहेको प्यूठान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

गैरेका अनुसार एउटा कोठा मात्र भत्केको थियो । बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना कतिबेला भयो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले बताएको छ ।

चार छोरीहरु भने अर्को कोठामा रहेकाले सकुसल छन् ।

खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ९, २०७८     3:31:10 PM  |