19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

लेनदेनको हिसाब सुनाउँदा सुनाउँदै बुबा बिते, छोरा पनि रहेनन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३१, २०७८  

काठमाडौं । दाङ देउखुरीको गढवा गाउँपालिका–४ पर्सेनीमा कोरोना संक्रमणबाट पीडित एकै परिवारका तीन जनाको एक महिनाको अवधिमा मृत्यु भएको छ । तीनै जनाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका हुन् ।

यही वैशाख ११ गते अब्दुल कलामको कोरोना संक्रमणबाट ज्यान गयो । उनलाई गाउँमै ल्याएर मुस्लिम संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । त्यसको केही दिनपछि नै उनका भाइ मोहम्मद उमरलाई कोरोना संक्रमण पुष्टि भयो । उनको पनि उपचार गर्दागर्दै यही वैशाख २५ गते बेलझुण्डी अस्पतालमा मृत्यु भयो ।

त्यसको तीन दिनपछि मोहम्मदका २६ वर्षीय छोरा अहमद रज्जाकले बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन अभावका कारण ज्यान गुमाए । वैशाख २८ गतेको त्यो रात बेलझुण्डी अस्पतालमा उपचाररत रज्जाकसहित आठ जना बिरामीले अक्सिजन अभावमा ज्यान गुमाएका थिए ।

अहमद रज्जाक बुवा बिरामी हुँदा अस्पतालमा कुरुवा बसेका थिए । त्यही क्रममा उनी गम्भीर बिरामी परेपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् मोहम्मद उमरकै टोलवासी गुलाम मोहम्मद जागा भन्छन्, ‘यो अस्पतालमा म बाँच्दिन भन्ने लागेर होला मोहम्मदले आफ्नो ऋण–सापटीको हिसाबकिताब टिप्दै थिए । छोराले त्यो कुरा देख्यो । दुबै बाबु–छोरा अंगालो हालेर रोए । छोरो होपलेस भइहाल्यो ।’ त्यही बेलादेखि छोरो झन् बिरामी भएको र अस्पतालमै भर्ना गरेर उपचार गर्नु परेको वडाअध्यक्ष गुलाम मोहम्मदको भनाइ छ ।

अब्दुल कलाम, उनका भाइ मोहम्मद उमर र उमरको छोरा अहमद रज्जाकको अन्त्येष्टि गाउँमै मुस्लिम परम्पराअनुसार गरिएको थियो ।

उनीहरु भैंसीको व्यापार गर्दथे । भारतको बलरामपुर क्षेत्रबाट उन्नत जातका भैंसी ल्याएर बेचबिखन गर्ने उनीहरुको पेशा थियो । अहिले एउटै घरका तीन सदस्यको मृत्यु भएपछि परिवार संकटमा छ ।

वडाअध्यक्ष गुलाम मोहम्मद भन्छन्, ‘बाँचेर हेर बाँच्नलाई कति कठिन छ भनेजस्तो भएको छ । दाजु अब्दुल कलामको त केही हदसम्म ठीकै छ । तर उनका भाइ उमरको परिवारको भने बिचल्ली छ । जेठो छोरो गइहाल्यो । माइलो छोरो अपांग छ । कान्छो छोरो सानै छ ।’ २५ लाख रुपैयाँ ऋण छ भनेर परिवारका सदस्यहरुले भन्ने गरेको वडाध्यक्ष गुलाम मोहम्मदको भनाइ छ ।

अस्पतालदेखि अन्त्येष्टिसम्म प्रश्न

कतिपयले कोरोना संक्रमितको मृत्यु संस्कारमा सावधानी नअपनाइँदा परिवारका तीनजना गुमेको दाबी गर्दछन् । एक स्थानीयले भने, ‘वडाध्यक्षकै जोडबलमा आफैं अन्त्येष्टि गरियो । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना पनि नगरिंदा परिवारमा ठूलो क्षति भयो ।’

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रजित थारुले पनि त्यसैप्रति संकेत गरेका छन् । आफ्नो स्कुले साथी र उनका परिवारका सदस्य गुमाएको थाहा पाउँदा दुःख लागेको बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘कोरोना संक्रमितको लास व्यवस्थापनमा लापरवाही नहोस् । हामी सबैले पनि सतर्कता अपनाउनु पर्यो । साथै त्यो टोलको पिसिआर चेक गरी आवश्यक सुविधाको व्यवस्था गरियोस् ।’

तर वडाअध्यक्ष गुलाम मोहम्मद भने शवलाई घरमै ल्याएर अन्त्येष्टिको विधि पूरा गर्नु आफूहरुको बाध्यता रहेको सुनाउँछन् । यो बाध्यताको बीच पनि सावधानीका उपाय अपनाइएको उनको भनाइ छ । ‘मलाई लागेको आरोपबारे जानकार छु । तर आरोप लगाउनेहरुको मुखमा बुझो लगाउन सकिन्न,’ गुलाम मोहम्मदले भने, ‘हाम्रो परम्परामा पूजापाठ लगायतका केही विधि पूरा गर्नैपर्ने बाध्यता छ । तर पनि भौतिक दुरी कायम राख्नेलगायतका काम गरेकै थियौं ।’

मृतक परिवारका छिमेकीसमेत रहेका वडाअध्यक्ष मोहम्मदले परिवारका तीन सदस्यमध्ये रज्जाकको मृत्युमा अस्पताल प्रशासन दोषी रहेको आरोप लगाए । उनले अक्सिजन आफैं जोहो गरेर समयमै पुर्याइदिँदा पनि अस्पतालले समयमै नजोडिदिंदा रज्जाकको ज्यान गएको आरोप लगाए ।

उनको भनाइ छ, ‘रज्जाकलाई कोरोना लागेकै छैन भनेर अस्पतालको व्यवस्थापकले हाम्रा स्थानीय अगुवा र नेताहरुलाई भनेका थिए । पछि फेरि अक्सिजन तुरुन्त दिनुपर्ने भयो भने । यताउता भनसुन गरेर अक्सिजनको व्यवस्था पनि गरियो तर समयमै नजोडिदिंदा ज्यान गयो ।’

हामी निरीह छौं: अस्पताल

यद्यपि बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल व्यवस्थापक द्रोण ओली भने लमहीको आइसोलेसन सेन्टरबाट बेलझुण्डी ल्याउने बेलामै उनको अवस्था गम्भीर रहेको बताउँछन् । ‘उनलाई लमहीबाट ल्याउने बेला नै ठूलो अक्सिजन जोडेर ल्याइएको थियो । अवस्था गम्भीर भएकाले लमहीले नसकेर हामीकहाँ पठाएको थियो । यहाँ जसोतसो गरेर बेड त मिलाइयो तर अक्सिजन अभावमा आठ जना बितेको दिन उनी पनि बिते ।’

उनले भने, ‘पीडित परिवारले हामीलाई दोष लगाउनु स्वाभाविक छ तर हामी निरीह छौं किनभने सरकारले नै हामीलाई अक्सिजन दिंदैन । जम्मा एक सय सिलिडरको कोटा सरकारले तोकिदिएको छ । हिजो नेपालगञ्जबाट जम्मा ७० सिलिण्डर आयो । त्यसले आज १२ बजेसम्म मात्र धान्छ । @Onlinekhbar

प्रकाशित मितिः शुक्रबार, बैशाख ३१, २०७८     10:43:30 AM  |