नेपालगञ्ज मेडिकल कलेजले भन्यो, ‘थप बिरामी भर्ना गर्न सक्दैनौं’



कोहलपुर ।

लर्ड बुद्ध एजुकेसन एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जले अक्सिजन अभावका कारण अब थप बिरामी भर्ना गर्न नसक्ने बताएको छ ।

कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल कलेजले १३५ बेड सञ्चालन गरिरहेको र अक्सिजनको चरम अभाव भएको हुँदा अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

यसअघि भारतबाट आउने गरेको अक्सिजन ट्यांक र अक्सिजन सिलिण्डर आउन नसकेको हुँदा थप बिरामीको भर्ना तथा उपचार गर्न असमर्थ रहेको कलेज प्रशासनले जानकारी दिएको हो ।

कोभिडका बिरामी थपिँदै गएपछि वैशाख ३ गतेदेखि आइसियू बेडसहितको ४५ बेड सुरू गरेको र बिरामी थपिने क्रम बढ्दै गएपछि १०० बेड हुँदै बढाएर ३०० बेड सञ्चालन गर्ने निर्णय गरेको भए पनि हालसम्म १३५ बेडमात्रै सञ्चालन गर्न सकिएको निर्देशक कनोडियाले उल्लेख गरेका छन् ।

तर, कनोडियाले भारतबाट अक्सिजन ट्यांक र अक्सिजन सिलिण्डर ल्याउन सरकारले तुरून्त सघाए ३०० बेड सञ्चालन गर्न सकिने तथा थप बिरामी भर्ना गर्न सकिने पनि स्पष्ट पारेका छन् ।

अक्सिजन अभावबारे यसअघि वैशाख १९ र २१ गते समेत स्वास्थ्य तथा जनासंख्या मन्त्रालयमा लिखित रूपमा पत्रचार गरिएको निर्देशक कनोडियाले उल्लेख गरेका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीको चाप नेपालगञ्ज मेडिकल कलेजमा हुने भन्दै उनले ती कोरोना बिरामीको उपचारका लागि हरेक ५ दिनमा एउटा अक्सिजन ट्याङ्क वा दैनिक ८०० अक्सिजन सिलिण्डर आवश्यक पर्ने निर्देशक कनोडियाले उल्लेख गरेका छन् ।

हालसम्म उक्त कलेजमा ३०३ जना कोरोना बिरामी उपचारको लागि भर्ना भएकोमा १२६ उपचार पछि निको भई घर फर्किएको, १३३ जना उपचाररत् रहेको र ४४ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

त्यस्तै हालसम्म उक्त कलेजमा चिकित्सक र स्वास्थ्यकर्मी गरी १४८ संक्रमित भइसकेको कलेजले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २३ गते बिहीबार