कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएनन्



दैलेख – दैलेखकाे आठबीस नगरपालिका ४ खाेटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएका छैनन् । दाङको लमहीदेखि जुम्ला जाँदै गरेको टिपर मङ्गलवार राति कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए ।

सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर खोटेसल्ला डाँडाबाट कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक पुष्प कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार राकम प्रहरी कार्यालयमा गरिएको इन्ट्रीमा चालक ललितपुर जिल्लाका रामशरण सुनार भन्ने खुले पनि सहचालकको नाम पत्ता लागेको छैन ।

 

मङ्गलवार राति साढे आठ बजे इन्ट्री गरी एक किलोमीटर अगाडि पुगेर गाडी बिग्रेपछि सामान्य मर्मत गरी गन्तव्यतिर जाँदै गर्दा दुर्घटना भएको प्रहरी नायब निरीक्षक कठायतले बताउनुभयो ।

राकम बजार भन्दा दुई किलोमीटर खोटेसल्ला डाँडाबाट सोझै कर्णाली नदीमा गाडी खसेको देखेका भेलतडीका बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

हिजो साँझदेखि अहिलेसम्म निरन्तर झरी परेको र दुई दिनदेखि कर्णाली नदीमा बाढी आएका कारण पनि खोजी कार्य प्रभावित भएको आठबीस नगरपालिका ४ का वडाध्यक्ष रणबहादुर माझीले बताउनुभयो ।

‘राति नै नाउ लिएर गयौँ, पानी धमिलो भएकाले पत्ता लाउनै सकिएन । बिहान पानी घटेपछि नदीमा भेलतडी नजिकै टिपरको अघिल्तिरको एउटा टायर मात्र देखिएको छ’, वडाध्यक्ष माझीले बताउनुभयाे । ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २२ गते बुधबार