12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

अक्सिजन प्लान्ट बनाउँदै कर्णाली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

सुर्खेत ।

कर्णाली प्रदेशले कर्णाली प्रदेशिक अस्पतालमा अक्सिजन प्लान्ट बनाउने भएको छ । अस्पतालका कोरोना फोकल पर्शन डा. केएन पौडेलका अनुसार आगामी हप्तादेखि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण सुरु गरिने भएको हो । कति क्षमताको अक्सिजन प्लान्ट बन्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए ।

अस्पतालमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदा भएका अक्सिजनहरुले नपुग्ने सम्भावना रहेकाले अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको उनले बताए । कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमितलाई लागि २५ वटा आइसियु र ८ वटा भेन्टिलेटर सहितको वार्ड छुट्याईएको छ ।हाल कर्णाली प्रादेशिक अस्पतालमा २० जना कोरोना संक्रमित उपचाररत छन् ।

पौडेलका अनुसार उपचाररत २० जनामध्ये १९ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ भने बाँकी एक जनालाई आइसोलेसनमा राखिएको छ । उनले भने, ‘अस्पतालमा विरामी थप हुँदा अक्सिजनको अभाव हुन्छ भन्ने महसुस गरेर अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो ।’हाल अस्पतालसँग ४० वटा अक्सिजन सिलिन्डर रहेका छन् ।

प्रत्येक विरामीलाई तीनदेखि चार घण्टामा अक्सिजन फेर्नु पर्दा अक्सिजन अपुग हुने डर रहेको उनले बताए । उनले भने, ‘हाललाई थप अक्सिजन ल्याउने निर्णय भएको छ । आगामी हप्ताबाट अक्सिजन प्लान्टको निर्माण पनि सुरु गर्ने तयारी भएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     2:16:03 PM  |