7 September 2024  |   शनिबार, भदौ २२, २०८१

बर्दियामा निषेधाज्ञा जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

बर्दिया ।

कोभिड–१९ को संक्रमण जोखिम रोकथामका लागि बर्दियामा समेत पहिलो चरणमा एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार एक सूचना जारी गरेर एक साताको लागि निषेधाज्ञा जारी गरेको हो ।

आज सोमबार राती १२ बजेदेखि १९ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको छ । कोभिड संक्रमण फैलिँदै गएपछि आइतबार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सुरक्षा समिति लगायत सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको थियो ।

निषेधाज्ञाका समयमा अत्यावश्यक सेवा र विकास निर्माणबाहेक सबै बन्द रहने जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी सुनारले वित्तीय सेवाका एटीएमबाहेक सबै सेवा बन्द रहने जानकारी दिए ।

‘सरकारी कार्यालय सबै बन्द हुनेछन्,’ उनले भने, ‘खानेपानी, विद्युत, स्वास्थ्य सेवा, औषधि पसल, दमकल लगायत सुरक्षा निकाय भने खुला रहनेछन् ।’ यस बाहेक खाद्यान्न, तरकारी दैनिक उपभोग्यका सामान स्वास्थ्य मापदण्ड पूरा गरी खरिद बिक्री गर्न पाउनेछन् ।

निषेधाज्ञा १२ गतेदेखि भनिए पनि स्थानीय व्यवसायीले एक दिन समय बढाएर लैजान माग गरेपछि स्थानीय प्रशासन लचिलो हुँदै १३ गते रातीबाट कडाइका साथ आदेशको पालना गराउने प्रजिअ सुनारले जानकारी दिए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधरणमा अपिल गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन नरेश श्रेष्ठले निषेधाज्ञाले जिल्लामा बढ्दै गइरहेको संक्रमण दरको चेनलाई तोड्न केही भएपनि सघाउ पु¥याउँने बताए । ‘हाम्रो सल्लाह सुझावलाई ध्यान राखेर जिल्लामा निषेधाज्ञा जारी गरिएको छ’ उनले भने, ‘संक्रमण दरलाई नियन्त्रण बाहिर जान रोक्नलाई केही सहयोग पु¥याउँछ ।’

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     1:48:09 PM  |