कोहलपुर ः
बाँकेको कोहलपुर नगरपालिका–३ मदनभचोकस्थित शंकर भगवान मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण गरिएको हो । मन्दिर संरक्षण समितिका अध्यक्ष समेत रहेका समाजसेवी द्रोण प्रसाद जैशीको व्यक्तिगत लगानीमा ७५ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।
दुई वर्षअघिदेखि मूर्ति निर्माणको काम शुरु गरिएको थियो । हनुमानको मूर्ति स्व आमा र बुवाको सम्झनामा निर्माण गरेको जानकारी दिए । उक्त मूर्ति निर्माणका लागि कुल ४० लाख रुपैयाँ खर्च भएको छ ।
यो मूर्ति नेपालमा अहिले सम्ममै सबैभन्दा अग्लो मूर्ति हो । यो मूर्ति एसिया कै दोस्रो अग्लो मूर्ति समेत रहेको बताइएको छ ।‘मूर्ति निर्माणका लागि सम्पूर्ण खर्च मैले व्यहोरेको छु’ उनले भने,‘व्यक्तिगत लगानीमा बनाएकोले सम्पूर्ण मैले नै गरे ।’
उनले आमा र बुवाको सम्झनाका साथै यहाँको पर्यटन क्षेत्रमा सघाउ पुग्ने जैशीको विश्वास छ ।उनी भन्छन्, ‘जीवनभर जति सम्पत्ति कमाए पनि कम हुन्छ, आखिर मरेर के नै लैजानु छ र !’
बुधबार एक कार्यक्रमका बीच धार्मिक परम्परा अनुसार मूर्तिकको उद्घाटन गरिएको हो । उक्त मूर्तिको उद्घाटन मन्दिर संरक्षण समितिका अध्यक्ष समेत रहेका द्रोण प्रसाद जैशीले गरेका छन् । उक्त मन्दिर उनकै व्यक्तिगत लगानीमा निर्माण गरिएको हो ।
कुल तीन कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको शंकर भगवान मन्दिर पनि जैशी कै सक्रियतामा सम्पन्न भएको हो । मन्दिरका नाममा रहेको उक्त जग्गा नन्दलाल कौशल र स्व हीरालाल कौशलले निःशुल्क प्रदान गरेका हुन् ।
२०६६ सालमा जागृति आमा समूहमा आबद्ध महिलाले चार लाख ८५ हजार संकलन गरी मन्दिरको निर्माण कार्य शुरु गरेका थिए । २०७० सालपछि जैसीकै सक्रियतामा मन्दिर निर्माणले पूर्णता पाएको शंकर भगवान मन्दिर समितिका सचिव छविलाल आचार्यले बताए ।
उनका अनुसार मन्दिरमा हनुमानको पूर्णकद सहित राम,लक्ष्मण र सिताका साथै अन्य भगवानका मूर्ति समेत निर्माण गरिएका छन् । मन्दिर परिसरमा कोशी मिलका मालिक प्रदिप शाह र उषा शाहको सहयोगमा दूर्गाको मन्दिर निर्माण गरिएको छ ।
यस्तै मूक्ति स–मिलका मालिक नरेन्द्र कर्माचार्यको सहयोगमा राधा कृष्ण, गणेश थापाको लगानीमा लक्ष्मीको मूर्ति, सन्तोष उप्रेतीको सहयोगमा होम कुण्ड निर्माण गरिएको उनले बताए । यसैगरी पर्खाल र पुजारीको भवन कोहलपुर नगरपालिकाको ६ लाख आर्थिक सहयोग र दाताहरुको सहयोगमा र संरक्षण समितिका सदस्य रामगोपाल थारुको सहयोगमा घण्ट झुण्ड्याउने विम निर्माण गरिएको सचिव आचार्यको भनाइ छ ।
उक्त मन्दिरका विभिन्न भगवानका मूर्ति, भवन र पर्खाल लगायतका संरचना निर्माणका लागि कुल ८६ लाख ११ हजार ५ सय ३६ रुपैयाँ खर्च भएको छ ।