12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

बाँकेमा कोरोना ग्राफ: समुदाय स्तरमै फैलियो कोरोना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७८  

कोहलपुर ।

बाँकेमा कोरोना संक्रमण पुनःसमुदाय स्तरमै फैलिएको छ । केही समययता दोस्रो चरणको कोरोना संक्रमण दर उच्च भएसँगै संक्रमण समुदाय स्तरमै फैलिएको हो । पछिल्लो २४ घण्टामा शुक्रबार मात्रै २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लाका एक सरकारी, दुई निजी ल्याब र जमुनाहा नाकामा गरिएको ऐन्टिजेन परीक्षणमा ९१ महिला र १०९ पुरुष गरि २ सय जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलो पटक हो । जिल्लामा ठेगाना भएका १ सय ३८ जना र बाँकेमा बसोबास गर्ने तर बाहिरी जिल्ला ठेगाना भएका ६२ जना संक्रमित थपिएका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या ५ हजार १ सय ९४ जना पुगेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

दक्षिणी छिमेकी भारतसँग सीमा जोडिएको बाँकेमा ह्वात्तै कोरोना संक्रमण दर बढेको हो । अहिले भारतमा समेत दोस्रो चरणको कोरोना भाइरस संक्रमण दर उच्च छ । शुक्रबार पछिल्लो २४ घण्टामा भेरीको ल्याबमा परीक्षण गरिएका नमूनामध्ये ६९.४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा ४५ नमूना परीक्षण गरिएकोमा ४५ वटै नमूनामा कोरोना पुष्टि भयो । बाँकेमा अस्पतालहरुमा गम्भीर संक्रमितहरुको चाप बढ्न थालिसकेको छ । भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको अस्पतालका मेसु डा. प्रकाश थापाले बताए ।

‘यहि क्रममा संक्रमण फैलिने हो भने अवस्था भयानक हुनसक्छ । गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित छ ।’ थापाले भने । संक्रमणलाई थप फैलिन नदिन नेपाल सरकारले अनुरोध गरे बमोजिमका सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्न समेत उनले सबैलाई अपिल गरिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेको छ । बाँकेमा कोरोना संक्रमण दर बढ्दै गइरहेको भन्दै बाँकेले प्रहरीले विशेष सुरक्षा अपनाउन आग्रह गरेको हो ।

कार्यालयले कोभिड १९ सम्बन्धि सूचना जारी गर्दै बाहिर आवत जावत वा कार्यस्थलमा कार्यरत रहदाँ वस्तु खरिद् बिक्रि वा सेवा लिदाँ, दिदाँ २ मिटरको दुरी कायम गर्न, समय समयमा साबुन पानी र स्यानीटाइजर प्रयोग गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर नजान र भीडभाड नगर्न आग्रह गरेको छ ।

यस्तै भीडभाड हुने स्थानमा नजान, जानै परे मास्कको अनिवार्य प्रयोग गर्नुका साथै सामाजिक तथा साँस्कृतिक कार्यक्रममा न्युनतम सामाजिक दुरी कायम गर्न भनिएको छ ।

२५ जना भन्दा बढी भेला नहुन पनि अपिल गरिएको हो । राति १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल नगर्न, कोरोना संक्रमित व्यक्तिको नजिक नजान र कसैसँग अंकमाल नगर्न अपिल गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले नियम पालना गर्न सम्पूर्णलाई अनुरोध गरे । नियम पालना नगर्नेलाई कानुन बमोजिम कारबाही गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७८     11:24:32 AM  |