४२ जनाले गरे रक्तदान



कोहलपुर ।

बाँकेको कोहलपुर, १४ हवल्दारपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाज सेवा संस्था नेपालको आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

‘रक्तदान, जिवनदान’ भन्ने मूल नाराको साथ नयाँ वर्ष २०७८ सालको अवसरमा रक्तदानको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रमको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

उनले बेला–बेलामा अस्पतालहरुमा रगतको अभाव हुने भएकोले रक्तदान कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए । ‘कुनै बिरामीहरुले रगत नपाएर भौतारिनुपर्ने समस्याबाट हटाउने अभियानमा लाग्न अनुरोध छ’ उनले भने, ‘कोहलपुर र नेपालगञ्ज पश्चिम क्षेत्रका सम्पूर्ण बिरामीहरु आउने भएकोले रगतको अभाव हुन्छ ।’

समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापाले गर्भवती महिला तथा अन्य आपत्तकालिन अवस्थामा आएका बिरामीहरुलाई केही भएपनि सहज होस् भनेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा ३२ जना पुरुष र ९ जना महिला गरी ४२ जनाले रक्तदान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखालाई प्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत ३१ गते मंगलबार