सात वर्षपछि नेतृत्वमा युनियन



कोहलपुर ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्षमा दामोदर भण्डारी विजयी भएका छन् । महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा भण्डारी नेतृत्वको लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारको संयुक्त प्यानल विजयी भएको हो । शुक्रबार बिहान सम्पन्न मतगणनाअनुसार बाँके शाखाको अध्यक्षमा भण्डारी १ सय ५७ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्धन्द्धी डक्टप्रसाद धितालले १ सय ३९ मत प्राप्त गरेको निर्वाचन समितिका अधिकृत केशव कोइरालाले जानकारी दिए । शाखाको सचिव र दलित सदस्य बाहेक अन्य सबै पदहरुमा भण्डारी नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन् । खुल्ला उपाध्यक्षमा संगीन शर्मा १ सय ६६ मत ल्याउँदै विजयी भए ।

उनका निकटम प्रतिद्धन्द्धी सकिल अहमद कादरीले १ सय १८ मत ल्याएका थिए । महिला उपाध्यक्षमा रेजिना मल्ललाई १० मतले पछि पार्दै करुणा शाह विजयी भइन् । शाहले १ सय ४९ र मल्लले १ सय ३९ मत ल्याएका थिए ।

सचिवमा भने साझा प्यानलका उम्मेदवार कमल डाँगी १ सय ५१ ल्याउँदै विजयी भए । उनले आफ्ना निकटम प्रतिद्धन्द्धी आकाश देवकोटालाई १६ मतले पराजित गरेका थिए । यस्तै लोकतान्त्रिक प्यानलबाट खुल्ला सह–सचिवमा १ सय ७१ मत ल्याउँदै कृष्ण बहादुर ओली विजयी भएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । उनले आफ्ना निकटम प्रतिद्धन्द्धी महमुद आलम खानलाई ६३ मतान्तरले पराजित गरेका थिए ।

समावेशी सह–सचिवमा भगतराम थारुलाई ५३ मतले हराउँदै हेमन्त चौधरी विजयी भए । चौधरीले १ सय ६८ मत ल्याउँदा थारुले १ सय १५ मत ल्याए । निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा १ सय ७४ मत ल्याउँदै विनोद पौडेल विजयी भएका थिए । उनले निकटम प्रतिद्धन्द्धी देवेन्द्रराज पौडेललाई ५८ मतले पराजित गरे ।

यस्तै कार्यसमिति सदस्यहरुमा लोकतान्त्रिक प्यानलका भिष्म प्रसाद लोध (१७२), सावित्री गिरी (१७१), मोहम्मद जावेद हलवाई (१६४), दिनेश ठाकुर (१५०), डिल्ली शाही (१४९), सुनील रेग्मी (१६५), जाबेद अहमद शाह (१३८), खगेन्द्र प्रसाद आचार्य (१३६), शौरभ गिरी (१३४), निर्मल आचार्य (१३८), राधेश्याम चौधरी (१३७) र शंकर लामिछाने (१३३) विजयी भएका छन् ।

दलित महिला सदस्यमा साझा प्यानलबाट उम्मेदवार रहेकी पबित्रा परियार लोकतान्त्रिक प्यानलका काली बहादुर परियारलाई १० मतले पराजित गर्दै विजयी भइन् । पवित्राले १ सय ४२ र कालिबहादुरले १ सय ३२ मत ल्याएका थिए ।

नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त गठबन्धनको लोकतान्त्रिक व्यवसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानल र प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट चुनावी मैदानमा उत्रिएको थियो ।

अध्यक्षमा विजयी भएका भण्डारी नेपाल प्रेस युनियनका रहेका छन् । युनियन पत्रकार महासंघ बाँके शाखाको नेतृत्वमा ७ वर्षपछि पुगेको
हो । यसअघि महासंघको नेतृत्व लगातार दुई कार्यकाल प्रेस चौतारीले गरेको थियो ।

निर्वाचन समितिका अधिकृत कोइरालाले महासंघ केन्द्रको नेतृत्व र प्रदेशको नेतृत्वका लागि भएको मतदानमा बाँकेबाट अत्याधिक मत लोकतान्त्रिक प्यानलले पाएको जानकारी दिए । बुधबार सम्पन्न भएको निर्वाचनमा ३ सय २३ मतदाता मध्ये २ सय ९६ मत खसेको थियो ।

प्रकाशित मिति : २०७७ चैत २८ गते शनिबार