18 January 2022  |   मङ्लबार, माघ ४, २०७८

देशभर थपिए १५२ संक्रमित, बाँकेमा बिहीबार चार संक्रमित थपिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा बिहीबार थप १५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पीसीआर विधिबाट ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको हो ।

संक्रमितमध्ये २ लाख ७२ हजार ८५१ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी गरेको तथ्यांकमा उल्लेख रहेको छट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको थियो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

बाँकेमा चार थपिए

बाँके जिल्लामा मात्रै पछिल्लो २४ घण्टामा बिहीबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा जिल्लाका थप चार जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार भेरीको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ४, बर्दियाका २ र दाङका १ जना गरी कुल ७ जनामा संक्रमण पुष्टि भएको थियो । ६० जनाको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । बुधबार मात्र बाँकेमा १३ जना नयाँ संक्रमित थपिएका थिए ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या ४ हजार ७ सय ४९ जना पुगेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । तीमध्ये ४ हजार ६ सय ५१ जना बढी संक्रमित कोरोना जितेर घर फर्किसकेका छन् । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार अहिलेसम्म संक्रमणबाट जिल्लामा ५६ जनाको मृत्यु भएको छ ।

तीमध्ये २१ जना महिला र ३५ जना पुरुषहरु रहेका छन् । मध्यम र गम्भीर खालका संक्रमितहरुको भेरी अस्पतालको कोभिड वार्ड उपचार भइरहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँके जनाएको छ । सामान्य संक्रमितहरु भने होम आइसोलेसनमा नै रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७     11:06:39 AM  |