7 September 2024  |   शनिबार, भदौ २२, २०८१

उमिसा बचाउ अभियान, दृष्टिविहीन विद्यार्थीको आर्थिक सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १०, २०७७  

कोहलपुर 

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको त्रिभूवन नमूना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुले एक मुटुरोगी महिलालाई आर्थिक सहयोग गरेका छन्। जाजरकोटकी मुटुरोगी महिला उमिसा गोसाइ पुनको उपचारको लागि दृष्टिविहीन विद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन् । समाज सेवा संस्था नेपालले उनको उपचारमा सहयोगको लागि मुटु रोगबाट पीडित उमिसा बचाउ अभियान नै सञ्चालन गरिरहेको छ ।

अहिले उनको उपचारको लागि कोहलपुरमा सहयोग संकलन समेत भइरहेको छ । सोही क्रममा विद्यालयमा रहेको श्री सिर्जनाशिल अपांगता नमूना बाल क्लबको अगुवाईमा विद्यार्थी र शिक्षकहरुले सहयोग संकलन गरी वितरण गरेका हुन् । त्रिभूवन माविका विद्यार्थी र शिक्षकहरुले कुल ९ हजार १ सय ३६ रुपैयाँ सहयोग जुटाएका थिए । सोमबार एक कार्यक्रमका बीच उक्त रकम विद्यालयकी प्रधानाध्यापक देवका थापाले समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापालाई हस्तान्त्रण गरिन् ।

उक्त अवसरमा बोल्दै थापाले समाजमा रहेको दुःखी पीडितहरुलाई सहयोग गर्नु मानिसको कर्तव्य भएको बताइन् । उनका अनुसार विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले आफ्नो खर्च कटाएर सहयोग गरेका हुन् । उक्त अवसरमा बोल्दै क्लबका अध्यक्ष कृष्ण बहादुर खत्रीले मुटु रोगी महिला र बालिकाको सहयोगको लागि राहत होस भन्ने उद्देश्यले आर्थिक संकलन गरिएको बताए ।उमिसाकी छोरी पनि मुटु रोगी हुन् । उनले फजूल खर्च कटाएर आर्थिक रुपमा विपन्नहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले मुटु रोगका कारण समस्यामा रहेकी उमिसाको घर र जग्गा केहीपनि नभएको बताए । उमिसाको मुटुमा प्वाल छ । उनका अनुसार उमिसाको उपचारको लागि ५ लाख रुपैयाँ लाग्छ । संस्थाले आर्थिक सहयोग अभियानको सुरुवात सिर्जना बाल प्राविबाट सुरु गरेको थियो । त्यहाँका शिक्षक र विद्यार्थीहरुले ३६ सय रुपैयाँ सहयोग गरेका थिए। यस्तै कोहलपुर १४ मा रहेको अर्गानिक होम स्टेले समेत सहयोग गरेको थियो ।

थापाले कोहलपुरका विभिन्न विद्यालय तथा संस्थाहरुमा पनि सहयोग अभियान सञ्चालन गरिने जानकारी दिए । यस्तै उनले अभियानको क्रममा जम्मा भएको रुपैयाँ पत्रकार सम्मलेन गरेर सार्वजनिक गरिने बताए । श्री सिर्जनाशिल अपांगता नमूना बाल क्लबका पूर्व अध्यक्ष आशिष अधिकारीले मुटुरोगी महिलालाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १०, २०७७     10:46:03 AM  |