बर्दिया ।
बर्दियामा फेरी पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ५५ वर्षीया दल्ली रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।
मंगलबार दिउँसो साढे ३ बजे रावतमाथि बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार मृतक रावतसहित तीन महिला मंगलबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएका थिए ।
त्यस समयमा पाटेबाघले रावतलाई आक्रमण गरेको भन्ने सूचनाको आधारमा नेपाली सेना र ईलाका प्रहरी कार्यालय बगनाहा बर्दियाबाट खटिएको टोलीले शवं फेला पारेको थियो । उनको खोजी गर्ने क्रममा निकुञ्जको बघौरा फाँटमा पौने ५ बजे मृत भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए ।
यसअघि फागुन २६ गते बर्दियाको मधुवन नगरपालिका– ३, स्थित सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको थियो । यस्तै फागुन १७ गते सामुदायिक वनमा भैंसी चराउन गएका बर्दिया राजापुर नगरपालिका– १० का ६५ वर्षिय लालबहादुर थारुलाई बाघले आक्रमण गरि मारेको थियो । पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै दश जनाको ज्यान गइसकेको तथ्यांक रहेको छ । बाघ आक्रमणका घट्ना बढ्दै गएपछि निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गर्दै वनमा गाइभैँसी चराउन तथा घाँस दाउरा लिन नजान पटक–पटक आग्रह गरेपनि स्थानीयले अटेर गरेपछि बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । मृतक रावतको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।