नेपालगञ्ज ।
लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र बागमती प्रदेशको लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी सुरुआत गरेका छन । मंगलबार नेपालगञ्ज रंगशालामा भएको खेलमा धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको थियो । खेलमा धम्बोझीको लागि पुर्ण बहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए ।
खेलमा पुर्ण म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम नेपाल ओलम्पिक कमिटि सदस्य दिर्घ बहादुर केसी (कुमार)ले ५ हजारसहित सम्मान गरेका थिए ।
यसैगरी अर्को खेलमा धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ । एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए ।
अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए । यसैगरी धादिङको तर्फबाट अन्य गोल शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए । लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अमिरलाई जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरेका थिए । यसैगरी प्रतियोगिता अन्तर्गत आज बुधबार एउटा मात्र खेल हुनेछ ।
जसमा १ नम्बर प्रदेशको सैनिक फुटबल क्लब झापा र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच हुनेछ । नेपालगञ्जमा सोमबारदेखी सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशबाट लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ । यस क्षेत्र संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।