बर्दिया ।
बर्दियामा पाटेबाघको आक्रमणबाट फेरी एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वन भित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई पाटेबाघले आक्रमण गर्दा ज्यान गएको हो । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका, ३ कोठियाघाट बजारकी २७ बर्षीय रिना सुनारको ज्यान गएको खाता समन्वय समितिका सचिव हरि गुरुङले जानकारी दिए ।
घाँस काट्न गएकी उनलाई बुधबार दिउँसो करिब १ बजेर ५० मिनेटमा बाघले झम्टेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बर्दियाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शाहीका अनुसार नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा पाटेबाघले महिलालाई आक्रमण गरेको थियो । सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए । बाघले सुनारलाई आक्रमण गरेपछि ज्यान जोगाएर उनीहरुले सशस्त्र प्रहरी बललाई जानकारी गराएका थिए ।
पछि खोज्दै जाँदा उनको शव दशगजामा फेला परेको प्रहरीले जनाएको छ । यसअघि फाल्गुन १७ गते बर्दियाको गेरुवा गाउँपालिकामा पाटेबाघले भैँसी चराउन गएका ६५ वर्षका एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो । योसँगै बर्दियामा यस वर्ष मात्र बाघको आक्रणमा परी ८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो समय बर्दियाका पाटेबाघ आक्रमण घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैँसी चराउन तथा घाँसदाउरा लिन नजान पटक–पटक आग्रह गरिसकेको छ ।
पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जंगल प्रवेश नगर्न र गर्नेपरे पनि एक्लै नजान डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले आग्रह गरे । ‘यहाँका विभिन्न जंगल क्षेत्रमा पाटेबाघ आक्रामक बनिरहेको पाइएको छ’ उनले भने, ‘सकेसम्म केही समय जंगल प्रवेश नगर्दा नै वेश हुन्छ ।’