सम्पादकीय : दिवा खाजा प्रभावकारी होस्



नेपाल सरकारले देश भरी नै दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । नेपालका विभिन्न जिल्लाहरुमा चालु आर्थिक वर्षबाट सञ्चालन भएको दिवा खाजा कार्यक्रम निकै प्रभावकारी देखिएको छ । जस्तै, तनहुँ, पर्वत, धादिङ, तह्रथुम लगायत अन्य जिल्लाहरुमा समेत निकै प्रभावकारी भएको छ । बाँके जिल्लाका आठै स्थानीय तहमा समेत यो कार्यक्रम लागु हुनेछ । यहाँका दुई पालिकाले शुरु गरिसकेका छन् । दुई पालिका यसको तयारीमा जुटेका छन् भने अन्य चार पालिकाले भने तत्काल शुरु गरेका छैनन् ।

सबै पालिकामा १६ करोड ४४ लाख ६५ हजार रुपैयाँ रकम छुट्याएको छ । अहिले सम्म बाँकेका खजुरा र राप्तीसोनारी गाउँपालिकाले दिवा खाजा सञ्चालन गरिसकेका छन् । दुवै पालिकाले छोटो समयमा सकारात्मक प्रभाव देखाएको जनाएका छन् । कोहलपुर नगरपालिका र जानकी गाउँपालिका यसको तीव्र तयारीमा छन् । नेपालगञ्ज उप–महानगरपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर र डुडुवा गाउँपालिकामा भने अझै कुनै प्रक्रिया अगाडि बढाएको छैन । सो कार्यक्रम प्रति विद्यार्थी १५ रुपैयाँका दरले १ सय ८० दिनसम्म चल्नेछ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकले नेपाल सरकारले आएको बजेट सहि सदुपयोग गरी प्रभावकारी रुपमा कार्यक्रमको कार्यन्वयन गरिनुपर्दछ । मंसिरबाट खजुरा गाउँपालिकामा दिवा खाजा निकै प्रभावकारी भएको छ ।

दिवा खाजा कार्यक्रम शुरु भएदेखि बालबालिकाहरु ९५ प्रतिशत उपस्थित हुने गरेका छन् । पहिले त्यहाँ ६५ प्रतिशत बालबालिकाहरु विद्यालयमा आउने गरेका थिए । पहिले बालबालिकाहरुको नाम रजिष्ट्ररमा मात्र सिमित भएको पाइन्छ तर अहिले बालबालिका कक्षाकोठामा नै उपस्थिति रहेका छन् । कतिपय स्थानीय तहले भने तथ्यांक संकलन गरिरहेका छन् । दिवा खाजा सञ्चालन नभएका पालिकाहरुमा कार्यक्रम सुरु गरी प्रभावकारी बनाउनुहोस् ।यो कार्यक्रमको उद्देश्य नै विद्यालयमा विद्यार्थीहरुको उपस्थिति बढाउने कार्यक्रम लागु भएको प्रभावकारी हुनुपर्छ । होइन भने राज्यको करोडौँको लगानी खेर जान्छ । त्यसैले विद्यालयमा यो कार्यक्रमलाई फलदायी बनाउनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १९ गते बुधबार