24 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

कुरुप बन्दै लमही बजार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७  

शिवु खनाल।

कानुन विपरीत लमही बजार क्षेत्रको मुख्य चोकस्थित सडकपेटीमा यत्रतत्र छरिएर व्यवसाय गरिएको छ । जसले गर्दा दाङको लमही बजार क्षेत्र कुरुप बन्दै गएको छ । दाङको लमही नगरपालिका बजार क्षेत्रका सडकपेटी अतिक्रम गरी स्थानीयहरूले व्यवसाय संचालन गर्न थालेपछि पैदल यात्रुहरू जोखिममा परेका छन् । लमहीको बसपार्कदेखि बजारको मुख्य चोकदेखि लमही अस्पताल जाने सुनखोली चोकसम्मको सडकपेटी अतिक्रमण गरी व्यवसायी सञ्चालन गर्न थालेपछि दुर्घटनाको जोखिम बढाएको हो ।

बजारका मुख्य चोकमा रहेको सडकपेटीमा पसल सञ्चालन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेर स्थानीयले सडकपेटी अतिक्रम गरेका छन् । पैदल यात्रुको लागि निर्माण गरिएको सकडपेटी अतिक्रम भएपछि पैदल यात्रु भने मुल सडकबाट यात्रा गर्न बाध्य छन् ।

यसरी सडकपेटी अतिक्रम गरी रहदा पनि नगरपालिका, ट्राफिक प्रहरी, सडक कार्यालय जस्ता सम्बन्धित निकायले यस विषयमा कुनै चासो नदेखाएको स्थानीयले गुनासो पोखेका छन् । व्यक्तिगत फाइदाको लागि बजारको स्वरूप बिग्रिने गरी सार्वजनिक सडकपेटी अतिक्रम गर्दा पनि लमही नगरपालिकाले बजार व्यवस्थापनमा कुनै चासो नदेखाएको स्थानीय व्यवसायी युवराज पोख्रेलले बताए ।

उनले भने ,–‘बजार व्यवस्थापनमा स्थानीय सरकार र व्यवासायीहरुको छाता संगठन देउखुरी उद्योग वाणिज्य संघले यस विषयमा कुनै पहल कदमी लिएर छैन ।’ यस्तै लमही बजार क्षेत्रमा उचित रुपमा पार्किङ्को व्यवस्था नहँुदा र नालामाथि सल्याब लगाएर बनाइएको सडकपेटीमा व्यापारीहरूले व्यवसायिक सामग्रीहरू थुप्रिएपछि सडकबाट हिड्नुपर्दा सडकमा हिड्ने साना तथा ठुलो सवारीसाधनको ठक्करले ज्यान जाने डर भएको स्थानीय पवन रिजालले बताए ।

यता लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसी संरचनाको कमी भएकै कारण लमही बजार अलि अस्तव्यस्त भएको स्वीर्काछन् । उनका अनुसार अब नगरपालिकाले नगर प्रहरीको व्यवस्थापनपछि त्यपछि बजार व्यवस्थापन तर्फ अगि बढ्नेछ । यता सडक डिभिजन कार्यालय दाङका सब–ईञ्जिनियर महेश विकले आफूले पटकपटक जानकारी गराउँदा पनि अटेरी गरेको जानकारी दिए । उनले भने– ‘सडकपेटीको दायाँ र बायाँ व्यवसाय गर्न मिल्दैन । नगरपालिकालाई कर तिरेर व्यवसायी सञ्चालन गरिएको छ भन्ने सुन्नमा आएको छ ।’

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७     9:11:04 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *