15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

मौरीसँगै रमाएकी नन्दकला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ७, २०७७  

अनुपम के. सी .

मलाई माफ गर्नुहोला ।
सरी है ।
यो पटक पनि हजूरलाई मह दिन सकिन ।
अर्को लटमा पक्कै हुने छ, ढुक्क हुनुस् ।
दुःखी छु, है त ।

एक हातले मोबाइलमा कुरा गर्दै । अनी अर्को हातले मौरीको चाका समाउँदै । सायद महको माग पुरा गर्न नसकेको जानकारी गराउँदै छन्, उनी । माघ ३० गतेको चिसो दिन । जाडोले गर्दा सधै उडिरहने चराको समेत पातलो उपस्थिति । न त बाटामा गुड्ने सवारी साधनको सदा झै बढ्दो चाप । आगनमा जम्मा भई रमाएर खेल्ने स साना केटाकेटी पनि जाडो छल्ने निहुमा घरभित्रै लुकेका । यस्तो मौसममा पनि मौरीको स्याहार सुसारमा व्यस्त थिइन्, ४१ वर्षीया नन्दकला सिंजाली ।

होचो कद । साधारण पहिरन । सरल स्वभाव । अनि मिहेनती बानी । कोहलपुरदेखि बर्दिया जिल्लाको बेलुवामा रहेको तोरी बारीमा पुगेर मौरी चराउँछिन् उनी ।आफूसँग रहेका ८० घार मौरीको रेखदेख गर्दा दिन गएको पत्तै हुदैन । अझ मौरीका घार सार्दा, मह निकाल्दा, घार बढाउँदा बढी नै व्यस्त हुनु पर्दछ ।

सानैदेखि काममा रमाउने उनको जन्म सुर्खेत जिल्लाको लेखपर्सामा भएको हो । कक्षा १० मा पढदै गर्दा उनको विवाह इन्डियन आर्मीसँग हुन पुग्यो । विवाहपछि श्रीमानसँगै भारत पुगिन् ।कुनै अभाव नभए पनि त्यहाँको जीवनशैली त्यति मन परेन उनलाई । छोरा जन्मिएपछि उसको पढाइको लागि केही न केही सोँच्नै पर्नेभयो । उसलाई इन्डियामै पढाउने वा नेपालमा । दोश्रो विकल्प छानियो । आर्मीको जागिर, ठाउँ ठाउँम सरुवा भैरहने । फेरी नेपाली भाषा र सँस्कारबाट नि टाढा हुनुपर्ने । त्यसैले २०५७ सालमा कोहलपुरमा आई बसोबास शुरु ग¥यौ । उनले सुनाइन् ।

५ वर्ष अघि ४० हजारको लगानीमा १० घार मौरीबाट शुरु गरेको व्यवसाय अहिले ८० घारमा पुगेको छ । अनि वार्षिक उत्पादन १५ क्विन्टल मह । वर्षमा करीब ७ लाखको मह बिक्री हुन्छ । २ लाख खर्च कटाउँदा पनि ५ लाख त ढुक्कले कमाउन सकिन्छ । उनले प्रफुल्लित मुद्रामा सुनाइन् । बजारको कुनै कमी नभएको र माग अनुसार आफूले उत्पादन गर्न नसकेको कुरा बतााइन् । ‘काठमाण्डौ र बुटवलबाट माग आइरहन्छ तर कोहलपुर र नेपालगञ्जमै मेरो महले पुग्दैन ।’ महको बजारको कुरा गर्दै उनले भनिन् ।

त्यसो त खान र लाउन नपुगेर उनले यो काम रोजेकी होइनन् । श्रीमानको इण्डियन आर्मीमा जागिर छ अहिलेपनि । सन्तानको नाममा भएको एउटा छोरा पनि आई.एस.सी. सकेर आर्मीमा जागिरको तयारीमा छन् । समाजमा महिला पनि आत्मनिर्भर भई बाँच्नु पर्छ भन्ने सोँचले नै उनलाई यहाँसम्म ल्याएको हो । गाउँघरमा महिला अगाडि बढी केही गरेको देख्दा आफूलाई औधी आनन्द आउने र गर्व लाग्ने गरेको सुुनाइन् उनले ।
श्रीमानको राम्रो कमाई हुँदा पनि कति काम गर्न परेको होला । मरेर जाँदा पनि सँगै लैजाने होला जस्तो । एक पटक पाएको जीवन, के दुःख गरिरहनु भन्ने जस्ता कुरा पनि नसुनेकी होइनन् । तर सधै कर्ममा रमाउने बानी परेकी उनलाई यस्ता कुराले कतै छोएनन् । उनलाई थाहा थियो चुरा, टीका र पोतेका लागि पनि आर्थिक अभावका कारण अरुको घरमा झगडा भएको । ‘जब थोरै पैसाको अभावको कारण लोग्ने स्वास्नीबीच झगडा भएको देख्थेँ, मनमा निकै पीडा हुन्थ्यो र केही गर्नु पर्छ भन्ने सोच बलियो भएर आउथ्यो ।’ नन्दकला आफ्नो विगत सुनाउछिन् ।
सिंजालीले पहिले पनि अन्य व्यवसायको शुरुवात भने नगरेकी होइनन् । उनको केही गरौ भन्ने स्वभावका कारण शुरुमा कुखुरा, बाख्रा र बंगुर पाल्ने प्रयास गरिन् । श्रीमान विदेश । छोराको पढाई । एक्लै सबै काम गर्न सजिलो भएन । काम अनुसारको कमाई नहुदा पनि फरक सोँच पलायो । ‘पहिले त कहिले महिना सकिएला र श्रीमानको तलब आउला भनेर दिन गन्दैमा ठिक्क हुन्थ्यो । आज भने कुन महिनाको कति गते हो भन्ने कुराको ख्यालै हुँदैन । मैले गरेको काम रामै्र भएर होला वि.वि.सि.ले समेत मेरो कामको प्रसंशा गर्दै प्रसारण ग¥यो ।’ व्यवसायले जीवनमा ल्याएको परिवर्तन सुनाइन उनले ।
मौरी स्वभावैले प्रकृतिमा रमाउने प्राणी हो । यसमा लाग्ने मानिस पनि प्रकृति प्रेमी हुन्छ भन्ने बुझाई छ उनमा । प्रकृति आफैमा एक सुन्दरता भएकोले यसमा रमाएर काम गर्न सके सुन्दरता खोज्न कहिँ जानु पर्दैन । आजसम्म आफू सुन्दरताको लागि कुनै व्यूटिपार्लर नगएको बताउछिन् उनी । ‘पार्लरमा गई अनुहारमा मह लेप लगाएर आउने सुन्दरता भन्दा घरमै नियमित सेवन गरिने २ चम्चा महले ल्याउने सुन्दरता धेरै गुणा प्राकृतिक र दीगो हुन्छ ।’ नन्दकला मुस्कुराउँदै सुनाउछिन् ।
मनभरी मौरीका घार बढाउने साँेच त छ । एक्लै भएको कारण त्यसो गर्न सकिएको छैन । ३ वर्षपछि हुने श्रीमानको जागीरको अवकाश पछि घार बढाउँदै जाने र सधैभरी मौरी पालक किसान हुने आफ्नो सोँच रहेको उनले बताइन् ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ७, २०७७     8:41:51 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *