‘निर्मला र भागरथीका हत्यारालाई छाडिन्न’



शुभाकर विश्वकर्मा, कोहलपुर

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्माले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई नछोड्ने बताएका छन् । निर्मला हत्या होस या भागरथी हत्याकाण्ड जे भएपनि अपराधीहरुलाई पानीमुनी गएपनि नछोडिने उनले बताएका हुन् । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले अपराधी जहाँ लुकेर बसेपनि कुनै पनि हालतमा कानुनी दायरामा ल्याउने बताए । ‘म तपाईहरुको अगाडि भन्न चाहन्छु ।

उनीहरुका हत्यारा विश्वका कुनैपनि ठाउँमा भागेर गएपनि छोडिने छैन । खोजेर,समातेर ल्याएर उनीहरुलाई कानुनी दायरामा ल्याएर राखिनेछ । कारबाही गरेरै छोडिने छ ।’ हत्यारालाई दोषबाट उम्किने छुट नभएको उनको भनाइ थियो । ओलीले अघि भने,‘दुईदिन चार दिन भाग्लान्, एकवर्ष उम्किएलान्, थर्कमानको जिन्दगी बिताएर लुकेपनि सजाय घटनेवाला छैन । त्यो समय कुनै कट्टा हुनेवाला छैन । ती अपराधीहरुलाई हामी पुराका पुरा समय सजाय गराएरै छोड्ने छौ ।’

केही समयपछि निर्मला र भारगथीका हत्यारालाई अदालतको कठघरामा उभ्याएर सजाय दिने प्रतिबद्धता समेत ओलीले व्यक्त गरे । यस्तै उनले दिदी बहिनीहरुलाई लान्छित गर्ने, आरोपित गर्ने अथवा होच्याउने खालका दृष्टिकोण नहुने बताए । हाम्रा आमा दिदीबहिनीहरुलाई बोक्सी भन्ने चलन छ । त्यस्तो भ्रम अब हुन दिनुहुदैन । दहेज जस्ता प्रथाहरु हटाउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीका अनुसार समाजमा केही क्रिमिनल तत्वहरु सरकारलाई बदनाम गराउन लागि परेका छन् ।

ओली भन्छन्,‘अपराधिक तत्वहरु क्रियाशिल भएको देखिन्छ । निर्मला हत्याकाण्ड जस्ता घटनाहरु, अहिले फेरी भारगथी हत्याकाण्ड जस्ता घटनाहरु घटाउने अपराधीहरु सरकारलाई असफल बनाउन लागेका छन् ।’ उक्त अवसरमा ओलीले बैशाखमा चुनाव हुने र त्यसमा सहभागी हुन सम्पूर्ण नागरिकहरुलाई आह्वान समेत गरेका थिए ।

आमसभामा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको बताएका छन् । शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले पार्टीबाट केही स्वार्थी तत्वहरु आन्दोलन छोडेर गएको बताएका थिए । स्थिर सरकार नचाहने र स्वार्थी प्रवृत्तिका मानिसहरुले पार्टी फुटाउने प्रयास गरिरहेको उनको भनाइ थियो । सिंगो नेपाली जनता ओली अध्यक्ष र आफू महासचिव रहेको पार्टीको पक्षमा रहेको भन्दै पार्टीलाई फुट्न नदिइने बताएका थिए । ‘हामीले देशलाई राजनीतिक स्थायित्व दिनुछ ।

अस्थिरता निम्त्याउन खोज्नेहरुलाई पराजित गर्नुपर्नेछ । परिर्वतनकारी एकजुट होऔँ ।’ उनले भने । यसैगरी नेकपा (ओली) समूहका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टीको एक नम्बर अध्यक्ष भएको दाबी गरेका छन्। निर्वाचन आयोगमा अध्यक्ष ओलीको मात्रै हस्ताक्षर चल्ने उनले बताए ।

नेता रायमाझीले भने, ‘हिजोका दिनहरुमा पनि उहाँको मात्रै हस्ताक्षर चल्थ्यो। पुष्पकमल दाहालको हस्ताक्षर चल्दैन्थ्यो। त्यसैले ओली नै पहिलो अध्यक्ष हुनुहुन्छ।’ बुटवलमा ओली पक्षले गरेको सभामा बोल्दै रायमाझीले पूर्वमन्त्री वर्षमान पुन, घनश्याम भुसाल लगायतका पूर्वमन्त्रीलाई सरकार छाँडेर जाँदा घरमा आँगो लगाएर गएको आरोप लगाए। उनले भने, ‘तीन वर्षसम्म मजाले सरकारमा बसेका मन्त्रीहरु घरमा आगो लगाएर गए।’ प्रचण्ड समूहले झुटको खेती गरिरहेको रायमाझीको भनाई थियो ।

प्रकाशित मिति : २०७७ फागुन २ गते आइतबार